काठमाडौं, ६ जेठ । विश्वमा आधा करोडको हाराहाारीमा जनसंख्या कोरोना भाइरसबाट संक्रमित भइसकेको छ । तर अहिलेसम्म पनि विश्व स्वास्थ्य संगठनदेखि कुनै देशका वैज्ञानिक र अनुसन्धानकर्ताहरुले कोरोना भाइरस नियन्त्रणका उपाय निकाल्न सकेका छैनन् । पछिल्लो पटक अमेरिकाको एक संस्थाले पुनः कोरोना भाइरसविरुद्धको खोप परीक्षण सफल भएको दाबी गरेको छ ।
अमेरिकाको नेशनल इन्स्टिच्युट अफ हेल्थको साझेदार बायोटेक कम्पनी ‘मोडेर्ना’ ले कोरोना भाइरसविरुद्ध मानिसमा गरिएको पहिलो चरणको खोप परीक्षण सफल भएको वैज्ञानिकहरुले दावी गरेको छ । मोर्डनाले विकास गरेको खोपले अपेक्षाभन्दा राम्रो काम गरेको वैज्ञानिकले दावी गरेका छन् ।
एमआरएनए–१२७३ नामक खोपले शरीरमा असर पनि कम गरेको पाइएको मोडेर्नाले सोमबार साँझ जानकारी गराएको छ । उसका अनुसार खोप लगाइएका मानिसमा कोरोना भाइरससँग लड्ने प्रतिरोधी क्षमता निको भइसकेका बिरामीको बराबर वा त्यसभन्दा ज्यादा पाइएको छ ।
मोडेर्नाका प्रमुख कार्यकारी अधिकृत स्टिफन बैसेलले तत्काल अब योभन्दा उत्तम नतिजाको आशा गर्न नसकिने बताएका छन् । तर यो खोप थप परीक्षणपछि मात्र बजारमा आउनसक्ने कम्पनीका प्रमुख मेडिकल अफिसर डा.ताल ज्याक्सले बताएका छन् ।
आगामी परीक्षण पनि सफल भए सन् २०२१ को जनवरीसम्ममा खोप सर्वसाधारणका लागि उपलब्ध हुने उनले जानकारी दिएका छन् । एजेन्सी