Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मानवजातिको सुरक्षा नै सरकारको प्राथमिकताः राष्ट्रपति भण्डारी


    शुक्रबार, जेष्ठ २ २०७७
    1.7K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं, २ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई बर्षको अवधिमा वर्तमान सरकारले उल्लेखनीय उपलब्धी हासिल गरेको बताउनुभएको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुतिका क्रममा उहाँले राजनीतिक स्थिरतामा मात्रै सरकारको नीतिगत निरन्तरता र कार्यक्रमिक सुनिश्चितता हुने बताउनुभएको छ । 

     नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले भन्नुभयो– आज विश्व समुदाय साझा र अदृश्य शत्रुसँग जुधिरहेका बेला नेपाल सरकारले यसको रोकथाम र नियन्त्रणमा समयमै प्रभावकारी र समन्वयात्मक पहलकदमी लिएको छ ।

    उहाँले वर्तमान सरकार नेपालको स्वाभिमानको रक्षा, नागरिकको संरक्षण र देशको गौरव बढाउन सम्पूर्ण सामथ्र्यका साथ आफूलाई केन्द्रित गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न कटिबद्ध रहेको पनि बताउनुभयो ।

    राष्ट्रपति भण्डारीले कोरोना भाइरसबाट पार पाउनका लागि विश्व समुदायबीच एकता, आत्मविश्वास र सहकार्य आवश्यक रहेकामा जोड दिनुभयो । समाज फेरि समृद्ध बन्न सक्ने तर गुमेको मानवीय मूल्यको क्षतिपूर्ति हुन नसक्ने भएकाले यतिबेला मानव जातिको सुरक्षा नै सरकारको प्राथमिकता भएको उहाँको भनाइ छ ।

    सरकारले शान्ति सुरक्षा र भ्रष्टाचारको अन्त्यमा विशेष उपलब्धि हासिल गर्दै मध्यम आय भएको मुलुकमा स्तरोन्नति गर्ने यात्रामा सरकार अघि बढिरहेका बेला कोभिड– १९ को महामारीका कारण निर्धारित लक्ष्य र गतिमा धक्का पुगेको राष्ट्रपति भण्डारीले बताइन् ।

    उहाँले भन्नुभयो, ‘सरकारका प्राथमिकता बदलिएका छन् । सरकारको अबका प्राथमिकता स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनः उत्थान हुनेछन् ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार