Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अध्यादेशले जोडेको पार्टीमा नेता ब्यवस्थापनका लागि ११ वटा संरचना प्रस्ताव


    शुक्रबार, जेष्ठ २ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं, २ जेठ । राजपा नेपाल र समाजवादी पार्टी एकिकरण भएर बनेको जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रमा ११ संरचना राख्ने व्यवस्था गरेको छ । शीर्षनेताको व्यवस्थापनका लागि धेरै संरचनाको व्यवस्था गरिएको एक नेताले बताए । 

    शीर्ष नेताहरूले दुवै पार्टीबाट दुई–दुईजनाको प्रतिनिधित्व रहेको चार सदस्यीय विधान तथा मस्यौदा कार्यदल बनाएका थिए । राजेन्द्र श्रेष्ठ, नवराज सुवेदी, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल रहेको त्यही कार्यदलले विधान र घोषणापत्रको पहिलो मस्यौदा बनाएर शीर्षनेतालाई बुझाएको हो ।

    प्रारम्भिक मस्यौदामा केन्द्रमा राष्ट्रिय महाधिवेशन समिति, संघीय परिषद्, केन्द्रीय समिति, केन्द्रीय राजनीतिक समिति, केन्द्रीय कार्यकारणी समिति, केन्द्रीय सल्लाहकार समिति, संघीय संसदीय दल, केन्द्रीय विज्ञ परिषद्, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय अनुशासन आयोग र केन्द्रीय लेखापरीक्षण आयोग रहेने व्यवस्था गरिएको छ । 

    शीर्षनेताहरूको सुझावअनुसार विधान र घोषणापत्रको प्रारम्भिक मस्यौदामा हेरफेर पनि हुनसक्ने कार्यदलमा रहेका नेताहरू बताउँछन् । ‘यो अन्तिम मस्यौदा होइन, हामीले अध्ययन र सुझाबका लागि दुवैतिरका शीर्षनेताहरूलाई दिएका छौँ,’ कार्यदल सदस्य कर्णले नयाँ पत्रिकासँग भने । शीर्षनेताहरूले अध्ययन र पार्टीमा छलफल गरेर सुझाबसहित पुनः समितिलाई दिने उनको भनाइ छ । त्यसपछि मात्रै कार्यदलले अन्तिम रूप दिनेछ । 

    जसपा नेताहरू निर्वाचन आयोगमा दल दर्ताका लागि आवश्यक तयारीमा पनि जुटिरहेका छन् । १० वैशाखमा एकीकरण भएका दुवै दलका नेताहरूले ११ वैशाखमा निर्वाचन आयोगमा लिखित जानकारी गराएका थिए । लकडाउनका कारण आवश्यक कागजात पूरा नहुँदा दल दर्ता भएको छैन । निर्वाचन आयोगको कानुनअनुसार २५ जेठभित्र एकीकृत पार्टी दर्ता गर्ने उनीहरूको तयारी छ । त्यसैका लागि अहिले विधान र घोषणापत्रमा काम भइरहेको नेता कर्णले बताए । 

    एकीकरणपत्रमा हस्ताक्षर गरेका आठ नेताकै निर्देशनमा काम भइरहेको नेता राजेन्द्र श्रेष्ठले बताए । ‘उहाँहरूले विधान र घोषणापत्रबारे कसरी थप निर्देशन दिनुहुन्छ, त्यसमै भर पर्छ,’ उनले भने । 

    एकीकृत दल दर्ताका लागि निर्वाचन आयोगमा नयाँ पार्टीको विधान, घोषणापत्रसहित नयाँ पार्टीको कार्यसमिति र पुरानो पार्टीहरूको केन्द्रीय समितिहरूको निर्णय पेस गर्नुपर्छ । अहिले विधान, घोषणापत्रसहित ५१ सदस्यीय केन्द्रीय कार्यकारणी समिति बनाएर दल दर्ता गर्ने तयारी गरिएको छ । कार्यकारणी समितिमा रहने ५१ सदस्यको नाम टुंगो लगाउन पनि आठै नेता गृहकार्य गरिरहेका छन् । लकडाउनले बैठक बसाल्न अप्ठ्यारो भइरहेको जसपा नेताहरूले बताएका छन् । उनीहरू लकडाउन खुकुलो हुने समयको पर्खाइमा छन् । आजको नयाँपत्रिका दैनिकबाट

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार