Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • कांग्रेस महाधिवेशन: बन्दसत्रअघि केन्द्रीय समिति बैठक बस्दै 


    सोमबार, असोज १९ २०८३
    605
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। आइतबारदेखि काठमाडौँमा सुरु भएको नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत आजबाट बन्दसत्र सुरु हुँदैछ। बन्दसत्र सुरु हुनुअघि सोमबार बिहान १० बजे केन्द्रीय समिति बैठक बस्ने एक नेताले जानकारी दिए।

    उद्घाटन समारोह गरेकै स्थान खुलामञ्चमै बन्दसत्र सञ्चालन गर्ने तयारी कांग्रेसले अघि बढाएको छ। सात हजारभन्दा धेरै प्रतिनिधि सहभागी हुने बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षका प्रतिवेदन पेस हुने कांग्रेसले जनाएको छ।

    सहभागीहरुलाई भूगोलका आधारमा तीन समूह (हिमाल, पहाड र तराई–मधेस) मा विभाजन गरी प्रतिवेदनमाथिको छलफलमा सहभागी गराउने तयारी छ।

    बन्दसत्र सकिएलगत्तै सोमबार साँझदेखि नै नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम सुरु गर्ने तयारी कांग्रेसले अघि बढाएको छ।

    निर्वाचन समितिका संयोजक प्रेम खड्काका अनुसार साँझ ५ बजे मतदाता नामावली प्रकाशन हुने छ। ५ बजेदेखि ६:३० बजेसम्म मतदाता नामावलीउपर दाबीविरोधको समय तोकिएको छ। आइतबार राति ८:३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ।

    असोज २० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयन हुने कांग्रेसले जनाएको छ।

    अपराह्न ४:३० बजे अन्तिम नामावली प्रकाशन, अपराह्न ४:३० देखि साँझ ५:३० बजेसम्म उम्मेदवारी दरखास्तमा दाबीविरोध तथा साँझ ७ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिनेछ।

    असोज २१ गते बिहान ९ बजेसम्म उम्मेदवारको नामावली फिर्ता लिने र बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने समय निर्धारण गरिएको छ। असोज २२ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको कार्यक्रम तोकिएको छ।

    मतदान कार्यक्रम भने राष्ट्रिय सभागृह, खुल्लामञ्च र प्रज्ञा भवनमा गर्ने तयारी छ। मतदानमा विद्युतीय भोटिङ मेसिन प्रयोग नहुने कांग्रेसले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार