Nepal Face
  • बुधबार, १७ भाद्र २०८३
  • जीपी कोइराला श्वासप्रश्वास केन्द्रको खरिदमा कराडौंको सेटिङ, राष्ट्रपतिको आडमा साढे ८ बर्षदेखि काजमा राज गर्दै श्रेष्ठ


    बुधबार, भाद्र १७ २०८३
    180
    Shares
    नेपाल फेस
  • ५ मिनेट पाठ
  • काठमाडौं । पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको स्मृतिमा स्थापना गरिएको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा साँढे ८ बर्षदेखि कार्यकारी निर्देशकको नियुक्ति हुनसकेको छैन ।

    २०७३ साउन १ गतेदेखि तत्कालीन सेतीगंगा सामुदायिक अस्पताललाई हस्तान्तरण गरी सेवा सञ्चालन सुरु गरेको अस्पतालमा साढे ८ बर्षदेखि कार्यकारी निर्देशक नियुुक्ति हुन सकेको छैन ।

    तत्कालीन कार्यकारी निर्देशक डा. मुक्तिनाथ भट्टराईको कार्यकाल २०७५ असारमा सकिएपछि हालसम्म नयाँ कार्यकारी निर्देशक नियुक्त हुनसकेको छैन । २०७५ पछि अस्पतालको नेतृत्वमा निमित्तका रुपमा डा. रामकुमार श्रेष्ठ कार्यरत छन् । उनको ध्यान केन्द्रको भन्दा बढी आफ्नै निजी अस्पताल रत्नहरी अस्पतालमा रहेको आरोप छ ।

    राष्ट्रपति रामचन्द्र पौडेलसँग निकटता देखाएर डा. श्रेष्ठ साढे ८ बर्षदेखि अनियमित काजमा कार्यरत छन् । नियमावली अनुसार कुनै पनि कर्मचारीलाई ३ महिनाभन्दा बढी समय काजमा राख्न पाइँदैन । तर डा. श्रेष्ठ साढे ८ बर्षदेखि काजमा केन्द्रमा केमिकलदेखि उपकरण लगायतका खरिदमा कमिसन खान लिप्त छन् । जुन पार्टीको सरकार आयो, त्यही पार्टीको स्वास्थ्य मन्त्रीको चाकरीमा लिप्त हुने गरेका उनका अनियमितताका बारेमा फेहरिस्त नै सार्वजनिक हुँदा पनि केन्द्रमा टिक्न हरतरहले लागिरहेका छन् ।

    पूर्व स्वास्थ्य मन्त्री प्रदीप पौडेलले नियुक्त गरेका केन्द्रका संचालक समिति सदस्य त्रिलोचन लम्सालले पनि डा. श्रेष्ठलाई साथ र सहयोग गरिरहेका छन् । श्रेष्ठलाई अस्पतालका लागि आवश्यक केमिकलदेखि सर्जिकल र उपकरण खरिदमा भएको अनियमिततामा लम्सालले भरपूर साथ दिएका छन् । लम्सालहरुको विश्वास गर्दा डा. श्रेष्ठ खरिदमा गरेको भ्रष्टाचारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा पर्ने भएका छन् ।

    श्रेष्ठले जीपी कोइराला राष्ट्रिय स्वास प्रश्वास केन्द्रको सम्पूर्ण केमिकल र सर्जिकल खरिदमा प्रतिस्पर्धालाई सीमित गरी निश्चित एक कम्पनीसँग मात्र महंगो दरमा खरिद गरी ५ करोडभन्दा बढी भ्रष्टाचार गरेको उजुरी अख्तियारमा परेको छ ।

    केन्द्रका लागि केमिकल लगायतका सामान खरिद गर्दा सिष्टम लक (अर्थात् निश्चित कम्पनीसँग मात्र मिल्ने स्पेक राख्ने) गरी लागत स्टीमेटभन्दा निकै कममा दिन तयार कम्पनीलाई अथोराइज्ड माग्ने, दुःख दिने र सेटिङ भएको कम्पनीसँग महंगोमा खरिद गर्ने गरिएको छ । १ लाख स्टीमेट भएको सामान कुनै सप्लायर्सले ४० हजारमा दिन तयार भए पनि त्यही गुणस्तरको सामान केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले ९५ हजारमा खरिद गरी चरम भ्रष्टाचार गरेको उजुरी अख्तियारमा परेको छ ।

    डा. श्रेष्ठले केन्द्रमा स्थायी कर्मचारी नभएकाले करारमा राखिएका कर्मचारीलाई जागिर नवीकरण नगर्ने त्रास देखाएर तँ तँ भन्दै हेप्ने गरेका छन् । जसले गर्दा कर्मचारीहरुले केन्द्रमा हुने गरेका अनियमितताका कुरा जागिरको डरले बाहिर ल्याउन नसक्ने बुझाई उनमा भएकाले अस्पतालमा मनपरी गर्दैआएका छन् ।

    कार्यकारी निर्देशक सरकारी अस्पतालमा, मुख्य ध्यान आफ्नै निजी अस्पतालमा

    श्रेष्ठले दमौलीमा रत्नहरी अस्पताल संचालन गरेका छन् । जुन अस्पतालमा जीपी कोइराला राष्ट्रिय स्वास प्रश्वास केन्द्रको स्रोत साधन प्रयोग गर्ने गरेको आरोप छ । जीपी कोइराला राष्ट्रिय स्वास प्रश्वास केन्द्रका लागि आवश्यक केमिकलदेखि उपकरण खरिद गर्ने कम्पनी वा ब्यापारीमार्फत् रत्नहरी अस्पतालमा समेत फाइदा लिने गरेको आरोप डा. श्रेष्ठमाथि लाग्ने गरेको छ । केन्द्रका जनशक्ति पनि आफ्नो अस्पतालमा समेत प्रयोग गरेको आरोप उनीमाथि लाग्दैआएको छ ।

    स्व. कोइरालाको श्वासप्रश्वाससम्बन्धी रोगका कारण निधन भएपछि श्वासप्रश्वास रोगको अत्याधुनिक उपचार सेवा उपलब्ध गराउने उद्देश्यले तनहुँको दुलेगौडामा २०६६ चैत ७ गते सरकारले १०० शैय्याको राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र स्थापना गरेको थियो ।

    २०७० सालको गठन आदेश अनुसार सञ्चालित विकास समितिले २०७३ साउन १ गतेदेखि तत्कालीन सेतीगंगा सामुदायिक अस्पताललाई हस्तान्तरण गरी सेवा सञ्चालन सुरु गरेको थियो । हाल केन्द्रको नाममा करिब ७४० रोपनी जग्गा रहेको छ । त्यो जग्गाको समेत नापजाँच गर्ने र संरक्षण गर्न चासो नदिएकाले अतिक्रमणमा परिसकेको छ । यति ठूलो भौतिक पूर्वाधार र राष्ट्रिय महत्वको संस्था भए पनि नेतृत्व क्षमतासून्य डा. श्रेष्ठका कारण झन् झन् अधोगतितिर गइरहेको छ ।

    स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले केन्द्रको कार्यकारी निर्देशक नियुक्तिमा चासो नदिंदा अस्पतालले जुन सेवा दिनुपर्ने थियो, त्यस अनुसार बिस्तार हुन नसकेको गुनासो छ ।

    अस्पताल श्वासप्रश्वास रोगको राष्ट्रिय विशिष्टीकृत केन्द्रका रूपमा विकास गर्ने उद्देश्य राखिए पनि हालसम्म स्थानीय आवश्यकता अनुसारको सामान्य अस्पतालकै भूमिकामा सीमित देखिएको छ । विशेषज्ञ सेवा, अनुसन्धान, तालिम तथा अत्याधुनिक श्वासप्रश्वास उपचार प्रणाली विस्तार गर्ने लक्ष्य अझै कागजमै सीमित रहेको स्थानीयको गुनासो छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार