Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  •  पर्सा प्रशासनको गम्भीर लापर्बाही, दोहोरो नागरिकताधारीको पक्षमा मिसिल तामेलीमा राख्दै सक्कल नागरिकता फिर्ता


    बुधबार, असार २४ २०८३
    2.2K
    Shares
    नेपाल फेस
  • ९ मिनेट पाठ
  • काठमाडौं । भारतीय नागरिक गणेशप्रसाद साह तेली र उनका तीन छोराहरुले झुटा विवरण देखाएर नेपालको नागरिकता लिएको विषयमा पर्सा जिल्ला प्रशासन कार्यालयबाट २०८० साल बैशाख १२ गते गरिएको निर्णयको सक्कल मिसिल नै मगाउने आदेश भएको छ ।

    सर्वोच्च अदालतमा दोहोरो नागरिकताधारीहरुविरुद्ध डायरी एक्सप्रेस साप्ताहिकको तर्फबाट २०७९ साल असोज ६ गते उत्प्रेषणको रीट परेको थियो । रीट निवेदन परी म्याद तामेल भइसकेपछि पछि जिल्ला प्रशासन कार्यालय पर्साबाट निर्णय गरी २०८० साल वैशाख १२ मिसिल तामेलीमा राखिएको थियो । पटक–पटक समाचार प्रकाशन भएपछि पनि छानबिन नगरी बिभिन्न प्रलोभनमा फसेका पर्सा जिल्ला प्रशासन कार्यालयका तत्कालीन प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले अदालतलाई गुमराहमा राख्ने काम गरेका थिए ।

    कीर्ते गरी दोहोरो नागरिकता लिएको विषयमा तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) रेग्मीले उजुरी परी प्रहरीले पक्राउ गरीसकेपछि पनि तामेलीमा राखेर गैर जिम्मोवारपूर्ण निर्णय गरेका थिए । प्रहरीले अभियुक्तहरुलाई पक्राउ गरी प्रशासनमा पेश गरेको प्रमाण पत्रिकाको कार्यालयमा समेत छ । रेग्मीले पर्सा जिल्लामा सीडीओ भएर २०७९-१०-१६ देखि २०८०-०९-०३ सम्म काम गरेको जिल्ला प्रशासन कार्यालयको रेकर्डमा देखिन्छ । डायरी एक्सप्रेस साप्ताहिकको तर्फबाट उक्त रीट निवेदनमा अधिवक्ता धनञ्जय खनालले बहस गरेका थिए ।

    न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासको उक्त आदेशबाट विवादित निर्णयको मिसिल झिकाउने आदेश भएको हो । मुद्दाको सुरुवातमा नै न्यायाधीश ईश्वर खतिवडाको एकल इजलास २०७९ साल असोज ९ गते गणेश साह तेलीसहित उनका छोराहरु सन्तोषकुमार साह तेली, संजितकुमार साह तेली र राजनकुमार साह तेली, गृहमन्त्रालय, जिल्ला प्रशासन कार्यालय पर्सालाई लिखित जवाफ पेश गर्न आदेश गरेका थिए । यसरी अदालतको आदेश गइसकेपछि हतारमा निर्णय गरी फाइललाई तामेलीमा राखेको देखिन्छ । ‘यसमा गम्भीर कैफियत देखिन्छ’ पर्सामा कार्यक्षेत्र बनाएर काम गरेका एक जना वरिष्ठ अधिवक्ताले बताए ।

    दोहोरो नागरिकताधारीहरु सीडीओका कामधेनु गाई !

    भारतीय नागरिक गणेश साह तेलीका नाममा बिहार राज्यको पूर्वी चम्पारणमा जग्गा जमिनको विवरण, मतदाता परिचयपत्रसहित, त्यहाँको स्थानीय मुखियाले दिएको सिफारिसअनुसार भारतकै नागरिक भएको प्रष्ट देखिन्छ । उनले नेपालमा व्यवसाय गरी नेपाली नागरिकको हैसियतमा करोडौं रुपैयाँको ऋण तत्कालीन नेपाल बंगलादेश बैंक (हालको नबिल बैंक लिमिटेड) बाट लिएका छन् ।

    दोहोरो नागरिकता लिएर नेपालको नागरिकता ऐनको धज्जी उडाएको भन्दै कारबाहीका लागि उजुरी परे पनि पर्सा जिल्ला प्रशासनले अलमलमै बिताएको थियो । दोहोरो नागरिकताधारीहरु गणेशप्रसाद साह तेली, उनका तीन छोराहरु क्रमशः सन्तोषकुमार साह तेली, संजितकुमार साह तेली र राजनकुमार साह तेली गरी चारै जनाको नेपाली नागरिकताको प्रमाणपत्र भारतीय निर्वाचन आयोगको आइडी राखेर उनका सहोदर दाजु ब्यासप्रसाद साहले उजुरी दिएका थिए ।

    उजुरी छानबिनका लागि बयान गर्न उपस्थित नै नभएको भन्दै आएको जिल्ला प्रशासन कार्यालयमा प्रहरीले पक्राउ गरी उपस्थित गराएको तथ्यसमेत खुल्न आएको थियो । जिल्ला प्रशासन कार्यालय पर्सामा यस प्रतिनिधिसँग कुरा गर्दा आफूले प्रक्रियागत रुपमा अघि बढेको बताए पनि उपस्थित व्यक्तिहरु चारै जनालाई कुनै एक जना टेलिभिजनका पत्रकारले जिम्मा लिएर छुटाएको बुझिन आएको थियो ।

    पर्सा जिल्ला प्रशासनमा प्रमुख जिल्ला अधिकारी आशमान तामाङको समयका मात्रै ७८ वटा दोहोरो नागरिकताका फाइल कारबाहीका क्रममा रहेको सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताएका थिए । दोहोरो नागरिकता लिएको विषयमा प्रष्ट रुपमा प्रमाण हुँदाहुँदै पनि नागरिकता खारेजीमा ढिलाइ हुनु प्रशासनको गम्भीरता नभएको प्रष्ट हुन्छ ।

    भारतीय नागरिकले किर्ते कागजात पेश गरी नागरिकता लिएको विषयमा डायरी एक्सप्रेस साप्ताहिकमा समाचार प्रकाशन गरे पश्चात देखिने गरी कुनै ठोस परिणाम नआएपछि पत्रिकाको तर्फबाट गृहमन्त्रालयमासमेत उजुरी गरिएको थियो । तर, ती उजुरीहरुमा नियामक निकाय गम्भीर नै भएन । त्यसपछि मात्रै सर्वोच्च अदालतमा मुद्दा परेको थियो । भारतमा घरजग्गा, मतदाता परिचय पत्र र नेपालको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि समेत उजुरीमा प्रमाणका रुपमा राखिएको छ ।

    जिल्ला प्रशासन कार्यालय पर्सामा दाजु ब्यासप्रसाद साहले २०७९ असार २० गते गरेको उजुरीमा दर्ता नम्बर २१८२ रहेको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालयमा उपस्थित गराइदिन भन्दै जिल्ला प्रशासन कार्यालयको मुद्दा शाखाबाट २०७९ असार २१, असार २९ र साउन १६ गते पत्र गएको देखिन्छ । पर्साको बिर्ता प्रहरीले अभियुक्त चारै जनालाई पक्राउ गरि बुझाएको पत्रबाटै प्रष्ट देखिन्छ । तर, छानबिनका लागि के कति प्रगति भयो ? सरकोकारवालालाई समेत गुमराहमा राखिएको थियो ।

    नेपालमा अपराध गर्ने दोहोरो नागरिकताधारी

    अहिले नेपालमा दोहोरो नागरिकता लिएका भारतीय नागरिकहरुकै कारण अपराध बढिरहेको छ । उनीहरुले नेपालका बैंकहरुबाट धितो मूल्यांकनमा अनावश्यक लालच, प्रलोभन र घुस दिएर अबौं रकम ऋण लिएका छन् । गणेश साह तेलीका परिवारले नेपाल बंगलादेश बैंक (हालको नबिल बैंक) सँग झण्डै ३० करोड ऋण लिएको बताइन्छ । भारतीय नागरिकलाई ऋण दिन मिल्छ भन्ने प्रश्नमा तत्कालीन नेपाल बंगलादेश बैंकका सीईओ ज्ञानेन्द्र ढुंगानाले त्यस विषयमा सीडीओलाई सोध्नु भन्ने रुखो जवाफ दिएका थिए ।

    दोहोरो नागरिकताधारीहरु नेपालमा ब्यवसाय दिवालिया भएको देखाएर विदेशमा भाग्ने गर्दछन् । भारतीय नागरिक अमित अग्रवालले काठमाडौंको दरबारमार्गमा मदिराको थोक ब्यापार गरी झण्डै ६ अर्ब रुपैयाँ बैंक ठगेर भागेपछि भारतबाटै पक्राउ गरी ल्याइएको थियो । भारतीय नागरिक रोहित पालिवाल अग्रवालले बीपी कोइराला क्यान्सर अस्पताल भरतपुरका तत्कालीन कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठलाई अपहरण गरे । उनका जीवनरक्षाका लागि इण्डियाको गोरखपुरमै पुगेर फिरौतिबापतको पाँच किलो सुन बुझाए पछि अपराधिक समूहले मुक्त गरेको थियो ।

    यसरी अपराध बढिरहँदा राज्य भने त्यसमा बेखबर बनिरहेको छ । आलटाल गराउनकै लागि चलखेल दोहोरो नागरिकताधारीहरुलाई कारबाहीको दायरामा ल्याउने कार्यमा ढिलाइले नेपालको प्रशासन कमजोर रहेको पुष्टि गरिरहेकोे छ । भारतीय प्रशासन पनि नेपालकै कर्मचारीतन्त्रजस्तै नेपालबाट पठाएका पत्रहरुको समयमा जवाफ नदिई झुलाएर राख्ने गर्दछ । त्यसकारण दोहोरो नागरिकताधारीहरु उत्साहित हुँदै आएका छन् । अमित अग्रवाल र रोहित पालिवाल अग्रवाल त प्रतिनिधि पात्र मात्रै हुन् ।

    कहाँको नागरिकता लिएका थिए गणेश साह तेलीले ?

    दोहोरो नागरिकताधारी तेलीले साविक मधुवन गाउँ पञ्चायत वडा नम्बर ४ बाट नागरिकता प्रमाणपत्र नम्बर ५८९४१४०७ को नेपालको जन्मसिद्ध नागरिकता लिएका थिए । उनकी श्रीमतीको अहिले पनि भारतीय आइडी छ । त्यसैगरी उनका छोराहरु सन्तोषकुमार साहको उही ठेगानाबाट ५३८२३६ प्रमाणपत्र नम्बरको बंसजको नागरिकता, सन्जित कुमार साहको ३४–०१–६९ ००७२१ को बंसजको नागरिकता र कान्छा छोरा राजनकुमार साह तेलीको १५८४१६२० नम्बरको बंशजको नागरिकता लिएका छन । उनीहरु सबै जनाको नाममा भारतको बिहार राज्यको मोतिहारी जिल्लाको पूर्वी चम्पारण संग्रामपुर पञ्चायत इजरा गाउँ मठिया वडा नम्बर ४ मा जग्गा जमिन छ । साथै भारतीय परिचयपत्र समेत रहेको छ ।

    के भन्छन तत्कालीन सीडीओ हिरालाल रेग्मी ?

    नागरिकता छानबिनका क्रममा अभियुक्तलाई प्रहरीले पक्राउ गरी बुझाउँदा पनि वास्तै नगरेका जिल्ला प्रशासन कार्यालय पर्साका अधिकारीहरुले कीर्ते नागरिकताको विषयमा मुद्दा परिसकेपछि तामेलीमा राखी सक्कल नागरिकता फिर्ता दिए । अभियुक्तहरुले अहिले प्रशासनलाई २२ लाख रुपैयाँ दिएर नागरिकता फिर्ता लिएको भन्ने प्रचार गरिरहेका छन् ।

    यस विषयमा पर्सा जिल्लाका तत्कालीन सीडीओ (हाल कैलाली जिल्लामा कार्यरत) हिरालाल रेग्मीसँग प्रश्न गर्दा हाँस्दै भने–‘त्यस्तो पनि कहाँ हुन्छ’ । तपाईंले मुद्दा परिसकेपछि कारबाही नगरी मिसिल तामेलीमा किन राख्नुभयो भन्ने प्रश्नमा उनले भने–‘मुद्दा परिसकेपछि मिसिल तामेलीमा राखिन्छ । नागरिकता फिर्ता पनि दिइँदैन’ । तर, तपाईले त फिर्ता दिनुभएछ नि भन्ने भन्ने प्रश्नमा उनले भने–‘पुरानो प¥यो थाहा भएन ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार