Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको क्यान्टिन ठेक्का, खरिद नियमबिपरीत क्राइटेरिया राखी सुनिललाई दिने चलखेल


    बुधबार, असार १० २०८३
    715
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले हाल संचालनमा रहेको क्यान्टिनलाई नै ठेक्का दिनका लागि सूचना प्रकाशित गरेको छ । संघीय सरकारको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय मातहत रहेको उक्त प्रतिष्ठानले हाल क्यान्टिन संचालन गरिरहेको सुनिल क्यान्टिनलाई मिल्नेगरी स्पेसिफिकेसन(मापदण्ड) बनाएर सूचना प्रकाशित गरेको छ ।

    बोलपत्र सूचनामा सो क्यान्टिनका संचालक भारतीय नागरिक बिजय साहसँगको मिलेमतोमा २ सय सैया वा सोभन्दा माथि बेड क्षमताको अस्पतालमा कम्तीमा ३ बर्ष क्यान्टिन संचालनको अनुभव, पछिल्लो ३ बर्षको औषत आर्थिक कारोबार बार्षिक न्यूनतम ३ करोड हुनुपर्ने जस्ता क्राइटेरिया राखिएको छ । जुन क्राइटेरिया बिजय साहको सुनिल क्यान्टिनसँग मात्र मिल्छ ।

    सार्वजनिक खरिद ऐन नियम अनुसार कुनै निश्चित कम्पनीले मात्र भाग लिन पाउनेगरी क्राइटेरिया राखेर बोलपत्र सूचना निकाल्न पाइँदैन । त्यो सोझै भ्रष्टाचार हुन्छ । तर प्रतिष्ठानले भने खरिद ऐन नियमबिपरीत असार ५ गते २१ दिनको समयावधि राखेर सुनिल क्यान्टिनलाई ठेक्का दिनेगरी बोलपत्र आह्वान गरेपछि प्रतिष्ठानकै कर्मचारीहरु आश्चर्यमा परेका छन् ।

    सार्वजनिक खरिद ऐन नियमावलीलाई चुनौती दिनेगरी प्रकाशित उक्त सूचना कार्यान्वयनमा आएमा सुनिल क्यान्टिनबाहेक अरुले भाग लिन पाउने अवस्था छैन । जसले प्रतिस्पर्धालाई सीमित गर्छ । बिरामी वा उनका आफन्तले अस्पतालमा कम दरमा खाजा वा खाना खानबाट बन्चित हुनेछन् । सुनिल क्यान्टिनले जति बढी दररेट राखेर पनि बोलपत्र पेश गर्नसक्छ ।

    आगामी २०८३ असोजमा सुनिल क्यान्टिनको चमेनागृहको म्याद सकिंदैछ । तर ३ महिनाअघि नै सेटिङ गरी सूचना प्रकाशित गरेर हतार हतार सुनिललाई नै ठेक्का दिन खोजिएको छ । प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख प्रा.डा. नरेन्द्रबिक्रम गुरुङ तोकिएलगत्तै हतारहतार प्रतिष्ठानको खरिद शाखाबाट क्यान्टिन संचालनको बोलपत्र सूचना प्रकाशित गरिएको छ । निमित्त कार्यालय प्रमुख तोकिएका गुरुङ र सुनिल क्यान्टिनका संचालकबीच निकट सम्बन्ध रहेकै कारण यस्तो खरिद ऐन नियमबिपरीत योग्यताको क्राइटेरिया राखेको आरोप छ ।

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ पदाधिकारी नियुक्तिको प्रक्रिया अगाडि बढाइरहेकै बेला निमित्त कार्यालय प्रमुख गुरुङले हतार हतार  एक ठेकेदारबाट प्रभावित भएर सूचना प्रकाशित गरिएको आरोप छ । यसलाई स्वास्थ्य मन्त्रालयले समेत नजरअन्दाज गर्न नहुने प्रतिष्ठान स्रोत बताउँछ ।

    सुनिल क्यान्टिन यसअघि पटक-पटक कारबाहीमा परिसकेको छ । खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागको अनुगमनमा वीर अस्पतालमा गुणस्तरहीन खाना खुवाएको भेटिएपछि सुनिल क्यान्टिन कारबाहीमा परेको हो ।

    बाणिज्य बिभागले समेत सुनिल क्यान्टिनलाई कारबाही गरिसकेको छ । हेटौंडा अस्पतालमा समेत सुनिल कारबाहीमा परिसकेको छ । भारतीय नागरिक बिजय साहले नेपाली युवतीसँग बिवाह गरी उनको नाममा सुनिल क्यान्टिन दर्ता गरी सेटिङमा ठेक्का लिएर अस्पतालमा आउने सेवाग्राहीलाई गुणस्तरहीन खाना खुवाउने, ठेक्का लिने बेलामा सस्तो दररेट पेश गरी पछि महंगो लिने गरेको आरोप छ ।

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख प्रा.डा. नरेन्द्रबिक्रम गुरुङले क्यान्टिनको ठेक्कामा खरिद ऐन नियम बिपरीत टेण्डरमा योग्यता मागिएको बिषयमा बुझ्ेर कारबाही गर्ने बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार