Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भूमि प्रशासन पर्सामा वडाध्यक्ष मिश्रकै सेटिङमा करोडौं लाभकर छली, छानबिन रोक्न खत्रीमाथि चर्को दबाब


    बुधबार, असार ३ २०८३
    7K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • बीरगन्ज । वालेन्द्र शाह नेतृत्वको सरकारले जनसम्पर्क हुने कार्यालयमा बिचौलिया नियन्त्रण गर्ने अभियान चलाउँदैआएको छ । तर, भूमि प्रशासन कार्यालय पर्सामा जनप्रतिनिधिले नै निर्वाध बिचौलियाको काम गरिरहेका छन् ।

    विगतमा भूमि प्रशासन कार्यालय पर्सामा तत्कालीन नायब सुब्बा मदन गुप्तासहितका कर्मचारीहरुले जग्गा रजिष्ट्रेसनमा नक्कली विलको प्रयोग गरेर राजस्व छली गर्दै आएको पुष्टि भैसकेको छ । गुप्ता नक्कली बिल प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धानको कारबाहीमा परेर अदालतको आदेशमा भ्रष्टाचार ठहर भई जेल सजाय भोगिरहेका छन् भने केही धरौटीमा तारेखमा बसेका छन् ।

    पर्साका पूर्व मालपोत कार्यालयका प्रमुखदेखि खरिदारसम्म यो प्रकरणमा मुछिएको पाइएको छ । प्रत्येक पाँच बर्षमा यो कार्यालयका कर्मचारीहरु आर्थिक अपराध अर्थात् राजस्व छली, अनियमितताको आरोपमा कारबाहीमा पर्दै आएका छन् । अहिलेसम्म दर्जन बढी कर्मचारीहरु कारबाहीमा परिसकेका छन् ।

    पछिल्लो चरणमा भने यो प्रकरणमा लेखापढी ब्यवसायीहरुको पनि संलग्नता देखिन थालेको छ । विशेषतः पूँजीगत लाभकर छलीमा उनीहरुको संलग्नता पुष्टि भए पनि अहिले यो विषयलाई गुपचुप लुकाउने चलखेल हुन थालेको छ ।

    भूमि प्रशासन कार्यालय पर्साका कार्यालय प्रमुख खेमराज खत्रीले चर्चित लेखापढी सेवा शुभलाभ लेखापढीका संचालक ओमप्रसाद यादवले सेवाग्राहीबाट मोटो रकम असुल गरेर साढे ४ लाख लाभकर भूमि प्रशासनमा नबुझाएर अनियमितता गरेको रहस्य खोलिदिएका छन् । र, ओमप्रसाद यादवले लेखापढी ब्यवसाय गर्न लिएको लिएको भूसेवाको अनुमति पनि खारेज गरेका छन् ।

    यसैगरी भूमि प्रशासन कार्यालय पर्साबाट जिल्ला प्रहरीमा यसबारेमा लिखित उजुरी गरेर लेखापढी ब्यवसायी यादवसहित जग्गाधनी र कार्यालयका केही कर्मचारीविरुद्ध कारबाही गर्नका लागि उजुरीसमेत दिएका छन् । उनीहरु हाल पर्सा जिल्ला अदालतबाट घरौटीमा रिहा भएका छन् । तर यसैमा यो प्रकरण सकिएको छैन ।

    भूमि प्रशासनमा लेखापढी ब्यवसायीबाट लाभकर छलीको घटना उजागर भएपछि लहरो तान्दा पहरो आउने त्रासमा लेखापढी ब्यवसायीहरुले कार्यालय प्रमुख खत्रीलाई थप कारबाही अघि नबढाउनका लागि दबाब दिइरहेका छन् । कार्यालय प्रमुख खत्री दबाबमा परेका छन् । उनी किन दबाबमा परे भन्नेबारे यहाँ चर्चा गरिरहनु नपर्ला ।

    पक्राउ परेका ओमप्रसाद यादव वडाध्यक्ष एवं चर्चित लेखापढी ब्यवसायी शम्भुप्रसाद मिश्रको चेला हुन् । उनैको इशारामा यादवले यसप्रकारको अनियमिततालाई बढावा दिँदै आएका छन् । खासगरी मारवाडी समुदायको काममा उनले अहिलेसम्म करोडौंको लाभकर छली गरिसकेको आरोप छ । लाभकरमा करोडौं गोलमाल गर्दैआएका मिश्रले जिल्ला प्रहरी कार्यालय पर्सामा समाजसेवीको रुपमा बेला बेलामा सहयोग गर्दैआएका छन् ।

    प्रहरीमा समाजसेवीको रुपमा देखापरेका वडाध्यक्ष एवं लेखापढी ब्यवसायी मिश्रले पुरानो मालपोत अहिलेको भूमि प्रशासन कार्यालयमा कार्यालय प्रमुख, कर्मचारीहरुलाई प्रभावमा पारेर जग्गा रजिष्ट्रेसन र लाभकर करोडौं छली गरिसकेका छन् । र, यो विगतदेखिकै लाभकर छलीको लहरो तान्दै जाँदा करोडौं करोड अनियमितता उजागर हुने भएपछि मिश्रकै दबाब र प्रभावमा कार्यालय प्रमुख खत्री थप छानबिन गर्न हच्किएको चर्चा छ ।

    भूमि प्रशासन कार्यालय पर्सा(तत्कालीन मालपोत कार्यालय)मा मदन गुप्ताकै पालादेखि शम्भुप्रसाद मिश्रको बोलवाला चल्दैआएको छ । प्रहरी कार्यालयमा गरेको सहयोगले गर्दा उनको सेटिङमा भएका करोडौं लाभकर छली जस्ता अपराधमा पनि पर्सा प्रहरीले आँखा चिम्लने गरेको आरोप छ । अहिले भूमि प्रशासन कार्यालयका प्रमुख खत्रीले लाभकर छलीको घटनामा लेखापढी ब्यवसायीदेखि कर्मचारीलाई कारबाही गर्न प्रहरीलाई पत्र लेखे पनि मिश्रकै दबाबमा मुद्दा कमजोर बनाएर पेश गरिएपछि सबै धरौटीमा छुटेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार