काठमाडौं । केन्द्रीय कमिटी बैठकले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समुहसँग स्पष्टीकरण साेधेपछि नेताहरुले छुट्टाछुट्टै स्पष्टीकरण बुझाउने भएका छन् ।
नेपाल समूहका चार नेता स्पष्टीकरणकाे जवाफसँगै ओलीसँग पनि प्रश्न गर्ने तयारीमा रहेका छन् ।
चैत ७ गते बालुवाटारमा बसेकाे केन्द्रीय कमिटी बैठकले नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
त्यसपछि गत आइतबार महासचिव ईश्वर पोखरेलले उनीहरुलाई छुट्टाछुट्टै पत्र लेखेर स्पष्टीकरण माग गरेका थिए । नेपाल समूहका चार जना नेताले पत्रको जवाफ छुट्टाछुट्टै बुझाउने तयारी गरेको एक नेताले बताए । उनका अनुसार, जवाफी बिहीबार नै पठाउने तयारी भएको छ ।
‘अबेरसम्म पत्र पठाउने तयारी छ, अहिले नेताहरु पत्र लेख्दै हुनुहुन्छ’, ती नेताले भने । तर, पत्र तयार नभए भोलिसम्म पठाइने सम्भावना छ ।