काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले हठात् प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध ठुल्ठूला सडक प्रदर्शन भए । सर्वोच्च अदालतले विघटनको निर्णयलाई असंवैधानिक ठहर गर्दै प्रतिनिधिसभालाई ब्युँताइदियो । संघर्षपूर्ण अवस्थाबाट फर्केको प्रतिनिधिसभा यतिबेला कामविहीन छ । विघटन गर्ने सरकार र पुनःस्थापनाको माग गर्ने प्रतिपक्ष दुवैको उपेक्षामा परेको छ ।
प्रतिनिधिसभा विघटन बदर भएको बुधबार एक महिना पुगेको छ । प्रधानमन्त्री ओली प्रतिनिधिसभाको बैठक कक्षमा प्रवेश गरेकै छैनन् । प्रमुख प्रतिपक्ष कांग्रेस, सत्ता सहयात्री माओवादी केन्द्र, एमालेको असन्तुष्ट पक्ष र जनता समाजवादी पार्टी (जसपा) सत्ताको जोडघटाउ र आन्तरिक किचलोमै अल्मलिएका छन् । गत असारयता जारी आठवटा अध्यादेशमध्ये एउटा (संवैधानिक परिषद्सम्बन्धी) मात्र सरकारले प्रतिनिधिसभामा पेस गरेको छ । यी सबै घटनाक्रमले जनताको प्रतिनिधिमूलक थलो प्रतिनिधिसभा कतिसम्म उपेक्षामा भन्ने झल्काउँछ ।
आपसी खिचातानीका बेला कार्यपालिका र व्यवस्थापिकाबीच समन्वयका लागि सभामुखको भूमिका बढ्ता महत्त्वपूर्ण हुन्छ । सभामुख अग्निप्रसाद सापकोटाले पनि अपेक्षाकृत सक्रियता देखाएका छैनन्, सरकार र दलहरूकै मुख ताकिरहेका छन् । पूर्वसभामुख दमननाथ ढुंगानाले प्रतिनिधिसभा नचाहनेहरूको भूमिका बढेकाले जनताको सर्वोच्च थलोलाई औचित्यहीन बनाउने प्रयास भइरहेको बताए ।
प्रतिनिधिसभा चाहने र नचाहने दुई धार देखिएको उल्लेख गर्दै उनले अप्ठेरो अवस्थामा सभामुख सापकोटाले बैठकबाटै रुलिङ गरेर सरकारले देखाएको व्यवहार सांसदहरूलाई जानकारी गराउनुपर्ने बताए । उनले भने, ‘प्रतिनिधिसभा चाहिन्छ भनेर सडक आन्दोलन गर्ने दलका शीर्ष नेताहरूले पुनःस्थापनाको औचित्य पुष्टि गर्नुपर्छ । यो काम पूर्वप्रधानमन्त्रीहरू माधव नेपाल, झलनाथ खनाल, शेरबहादुर देउवा र बाबुराम भट्टराईको हो ।’
अधिवेशन सुरु भएपछिका ५ वटा बैठकमा शोकप्रस्ताव पारित, आयोगका वार्षिक प्रतिवेदनबाहेक सरकारले महत्त्वपूर्ण विषय प्रस्तुत गरेको छैन । सभामुख सापकोटाले नियमित बैठक सञ्चालन र बिजनेस दिलाउन दलका नेताहरूसँग प्रभावकारी समन्वय नगरेको संसद् सचिवालयका पदाधिकारीको भनाइ छ ।
प्रतिनिधिसभा विघटनको निर्णयपछि कांग्रेस, जसपा र तत्कालीन नेकपाको पुष्पकमल दाहाल–माधवकुमार नेपाल खेमाले सडक आन्दोलनमार्फत देशभर जनप्रदर्शन गरे । जनताको प्रतिनिधिमूलक थलो समाप्त पारेको भन्दै त्यसको रक्षाका लागि आवाज उठाए । सर्वोच्च अदालतले विघटनको निर्णय बदर गरेपछि भने शीर्ष नेताहरूको ध्यान प्रतिनिधिसभामा छैन । उनीहरू अहिलेसम्म संसद् बैठकमा गएर बोलेका छैनन् ।
सत्ता र प्रतिपक्षका दोस्रो र तेस्रो तहका सांसदहरूले मंगलबारको शून्य समयमा बोल्दै सरकारले प्रतिनिधिसभालाई बिजनेस नदिएकामा आलोचना गरेका थिए । उनीहरूले प्रधानमन्त्री ओलीलाई प्रतिनिधिसभा विघटन बदर भएको चित्त नबुझेकाले यो अवस्था आएको धारणा राखेका थिए ।
कांग्रेस सांसद गगनकुमार थापा, एमालेका झपट रावल, गजेन्द्रबहादुर महत, माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सरकारले प्रतिनिधिसभालाई कामविहीन बनाएको टिप्पणी गरेका थिए । ओलीमाथि प्रतिनिधिसभाको हत्याको आरोप लगाउने प्रतिपक्ष र सत्तापक्षकै असन्तुष्ट समूहको शीर्ष नेतृत्व भने अहिले चुपचापजस्तै छ । पूर्वसभामुख ढुंगाना भन्छन्, ‘पुनःस्थापनाको मुद्दामा प्रमुख प्रतिपक्ष नै प्रस्ट छैन ।’ प्रधानमन्त्री ओलीले आफूले प्रतिनिधिसभा विघटन गरेको मुद्दा ठीक भएको प्रमाणित गराउन खोजेको उनले बताए । तर सत्तापक्षका शीर्ष नेताहरूले संसद्को रोस्टममा उभिएर आफूले गरेको निर्णयको बचाउ गरेका छैनन् ।
कार्यपालिका प्रमुख प्रधानमन्त्री र व्यवस्थापिका प्रमुख सभामुखबीच ८ महिनादेखि औपचारिक रूपमा व्यक्तिगत भेटघाट भएको छैन । गत भदौमा जुरे पहिरोको विषयमा छलफल गर्न ओली–सापकोटा भेट भएको थियो । औपचारिक कार्यक्रममा सामूहिक भेटघाट भए पनि उनीहरूबीच बोलचाल हुने गरेको छैन ।
गत २ गते प्रतिनिधिसभाको कार्यव्यवस्था समितिको बैठकमा सत्ता र प्रतिपक्षका सांसदले संसद्लाई बिजनेस दिने विषयमा ओलीसँग भेटेर छलफल गर्न सभामुखलाई सुझाव दिएका थिए । सापकोटाको सचिवालयले ओलीलाई भेट्ने समय मागिरहेको छ । तर भेट भएको छैन । सचिवालयका एक अधिकारीका अनुसार राष्ट्रपति सहभागी कार्यक्रममा हुने अनौपचारिक भेटघाटमा ओली र सापकोटाबीच नमस्ते आदान–प्रदान मात्रै हुन्छ । ‘प्रधानमन्त्री र सभामुखबीच नै राम्रो सम्बन्ध नभएपछि प्रतिनिधिसभाले कसरी बिजनेस पाउँछ ?’ ती अधिकारीले भने ।
संघीय संसद्का दुवै सभाको बैठकले पारित गरेपछि मात्र विधेयकहरू ऐनमा परिणत हुन्छन् । तर गत पुसमा चार दिन सञ्चालन भएर बन्द भएको राष्ट्रिय सभाको अधिवेशन फेरि बोलाइएको छैन । यसबाट पनि सरकारले विधेयकमाथि छलफल गराउन नचाहेको सांसदहरूको आरोप छ । प्रतिनिधिसभाअन्तर्गत ३८ र राष्ट्रिय सभाअन्तर्गत १९ वटा विधेयक विचाराधीन छन् । राष्ट्रिय सभाबाट पारित गरेर प्रतिनिधिसभामा पठाइएका विधेयक ६ वटा छन् ।
राष्ट्रिय सभाले पारित गरेर प्रतिनिधिसभामा पेस गर्न तयारी अवस्थामा २ वटा विधेयक छन् तर सरकारले बिजनेस नदिएपछि प्रतिनिधिसभा बैठक सात–सात दिनको अन्तरमा बस्दै आएको छ । पूर्वसभामुख ढुंगाना सभामुख सापकोटाले प्रतिनिधिसभाको पहिलो बैठकमै प्रधानमन्त्री ओलीलाई बोल्न लगाउनुपर्ने तर्क गर्छन् । ‘प्रतिनिधिसभा पुनःस्थापना भएपछि त्यसको जिम्मेवारी लिँदै ओलीले क्षमायाचना गर्नुपर्थ्यो,’ उनले भने । प्रतिनिधिसभामा बिजनेस दिन सभामुखले सरकारलाई रुलिङ गर्नुपर्ने सुझाव पनि उनले दिए ।
संसद्का पूर्वमहासचिव सूर्यकिरण गुरुङ अप्ठेरो बेला सिर्जना भए सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक राखेर दलबीच समन्वयकारी भूमिका निर्वाह गर्न सक्ने बताउँछन् । ‘सरकारले रेस्पोन्स नगर्ने हो भने प्रतिनिधिसभा अघि बढ्न सक्दैन । यस्तो अवस्थामा सभामुखको भूमिका दलहरूबीच समन्वय गर्ने नै हो,’ गुरुङले भने ।
संसदीय मामिलाका जानकारहरूका अनुसार सभामुखको अगुवाइमा संसद् आफैं सक्रिय हुन सक्छ । सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले पछिल्लो समय दलहरूकै सहमतिमा बैठकको दिन तोकिएको बताए । ‘खासगरी गत २ गतेको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि आपसी सल्लाहमा कामकारबाही अघि बढेको छ,’ उनले भने ।
प्रतिनिधिसभालाई सक्रिय बनाउन विपक्षी दलले पनि भूमिका खेल्न सक्छन् । उनीहरूले सरकारका गलत काममाथि औंला ठड्याउन सक्छन् । भ्रष्टाचारका कुरा उठाउन सक्छन् । राजनीतिक संक्रमणका बेला भएका अनेक विकृतिमाथि सांसदहरूले प्रश्न गर्न सक्छन् । तर कांग्रेस र जसपा सत्ताको हिसाब–किताबका कता के गर्दा ठीक हुन्छ भन्दै आफ्नै सुरमा छन् । माओवादी केन्द्र त संसद्भित्र हराएजस्तो देखिन्छ । उसले संसद्मा कुनै सक्रिय भूमिका देखाएको छैन । सरकारलाई दिएको समर्थन फिर्ता गर्दा र नगर्दाका फाइदा र बेफाइदाको लेखाजोखा गर्न माओवादी व्यस्त छ ।
माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङ सरकारकै कारण प्रतिनिधिसभा निष्क्रिय भएको बताउँछन् । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा नचाहेकाले बिजनेस नदिएको उनको भनाइ छ । प्रतिनिधिसभामा सरकारले शून्य समय चलाउन पनि ठूलो प्रयासमा बल्लबल्ल दिएको उनले दाबी गरे ।
प्रधानमन्त्रीले संसद्मा १० मिनेट पनि समय दिएका छैनन् । उनी संसद् भवन जान्छन् । आफ्नै कार्यकक्षमा बसेर फर्कन्छन् । संसद्का एक अधिकारीले भने, ‘उहाँ (प्रधानमन्त्री) यो वा त्यो बहानामा बैठक सुरु नहुँदै फर्कनुहुन्छ, कि त सकिएपछि आउनुहुन्छ ।’ सत्तापक्ष एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराई प्रतिनिधिसभामा देखिएको शक्ति सन्तुलनले केही समस्या देखिएको बताउँछन् । ‘केही दिनमा यो अवस्थामा सुधार आउनेबित्तिकै प्रतिनिधिसभाको सक्रियता बढ्छ,’ उनले भने, ‘संसद्प्रति प्रधानमन्त्री वा सत्तापक्षको नकारात्मक सोच छैन ।’
सधैं संसद्को अधिवेशन सुरु भएपछि शीर्ष नेताहरू बोल्ने गर्थे । यसपटक एक महिनामा ५ वटा बैठक बसे पनि शीर्ष नेताले बोलेका छैनन् । संसद्को मूल सभा नै अल्मलिएका बेला समितिहरू पनि त्यसको छायामा परेका छन् । (आजको कान्तिपुर दैनिकबाट)
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् । सोमवार...
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन् । आज सोमवार...
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आज संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१ औँ सम्मेलन (कोप–३१) को उदघाटन सत्रलाई सम्बोधन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन जनकपुरधामको गंगा सागर जाने भएका छन् । तिहार, नेपाल संवत् तथा छठ...
विराटनगर । आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर आफूखुसी उम्मेदवारी घोषणा गर्ने क्रम बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई कार्यकर्ता व्यवस्थापनमा सकस परेको छ। स्थानीय तहको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend