Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • सरकारी कार्यालयमा बिचौलियाको बिगबिगी, जेनजीको नाममा अनिल बानियाँको चकचकी


    शनिबार, बैशाख ५ २०८३
    3.1K
    Shares
    नेपाल फेस
  • ६ मिनेट पाठ
  • काठमाडौं । जेनजी अभियन्ता भन्दैआएका अनिल बानियाँले आफ्नो फेसबुक एकाउन्टमा एउटा फोटो शेयर गरेका छन् र आफू इलाका प्रशासन कार्यालय बाजुरा, मालपोत कार्यालय र नापी कार्यालयमा गएको र नयाँ कार्य शुरु भएको उल्लेख गरेका छन् ।

    बानियाँले गृहमन्त्रीको सल्लाहकारको रुपमा आफ्नो चिनारी दिने गरेका छन् । र, उनलाई अतिथिको रुपमा गृहमन्त्री सुधन गुरुङको सल्लाहकारका रुपमा मञ्चमा बोलाउने गरिएको छ । तर बानियाँलाई गृहमन्त्रालयले सल्लाहकार बनाएको भने छैन ।

    मुगुको खत्याड गाउँपालिका स्थायी घर भएका बानियाँ आफू गृहमन्त्री सुधन गुरुङको खास मान्छे भएको बताउने गर्छन् । जेनजीको नाममा उनले सरकारी कार्यालयहरुबाट कुस्त लाभ उठाउन सफल भएका छन् । उनले गुरुङसँग बसेको फोटोहरु खासगरी मन्त्रालयका माथिल्लो तहका कर्मचारीहरुलाई देखाउने गर्छन् र आतकिंत पार्ने गरेको आरोप छ ।

    स्रोत भन्छ–आकर्षक ठाउँमा कर्मचारीहरुको सरुवा तथा खटनपटनमा उनले बिशेष चासो राख्ने गर्छन् र हरेक काममा आर्थिक उपार्जनमा तल्लीन हुने गरेका छन् । सुधन गृहमन्त्री भएपछि बानियाँ केही दिन उनीसँगसँगै हिंड्ने पनि गरेका थिए । तर पछि सुधनको स्वकीय सचिवमा जेम्स कार्कीलाई राखिएपछि बानियाँ सुधनबाट टाढिएका थिए । यद्यपि अहिले पनि अनधिकृत रुपमा बानियाँले मालपोत, नापी कार्यालयहरुमा गई गतिबिधि बुझ्ने र अनुगमन गर्न आएको भनी आतंकित पार्ने गरेको आरोप छ । तस्वीरमा उनी सुरक्षाकर्मीसँग देखिएका छन् ।

    २०८३ बैशाख १ गते इलाका प्रशासन कार्यालय कोल्टी बाजुराको उद्घाटनमा उनलाई अतिथिका रुपमा मन्चमा पदासिन गराइएको भिडियो र तस्वीर नै भाइरल छ । सो दिन कोल्टीमा मालपोत कार्यालय र नापी कार्यालयसमेत उदघाटनमा समेत कार्यालय प्रमुखसँगै अतिथिका रुपमा आफू सहभागी भएको तस्वीर बानियाँले आफ्नै फेसबुक पेजमा राखेका छन् ।

    कोल्टीमा प्रमुख जिल्ला अधिकारीदेखि जिल्लाका सशस्त्र, नेपाल प्रहरी र सेनाका हाकिमहरुसँग उनी माला लगाएर अतिथिका रुपमा बसेको तस्वीरसमेत नेपालफेसलाई प्राप्त भएका छन् । उनले दुई जना सुरक्षाकर्मीसमेत लिएर हिंड्ने गरेका बानियाँ कुन हैसियतमा इलाका प्रशासन कार्यालयको उदघाटनमा अतिथि भए ? अब प्रश्न उठ्छ, उनी कुन हैसियतका हुन् र नेपाल सरकार अन्तर्गत सुरक्षाकर्मी लिएर सरकारी कार्यालयमा गई गतिबिधि गर्ने उनको हैसियत के हो ?’

    यतिबेला सिंहदरबारका सबै कर्मचारीहरुले अनिल बानियाँको नाम सुनेका छन् । त्यसमा पनि माथिल्लो तहका कर्मचारीहरु अनिल बानियाँ भन्ने वित्तिकै आतंकित हुने गरेका छन् ।

    सुशीला कार्की नेतृत्व सरकारकै पालामा कुलमान घिसिङले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट राजीनामा गर्नुभन्दा केही दिनअघि मात्र बानियाँले सडक विभागका महानिर्देशक डा. विजय जैशीदेखि सुई र डीईदेखि आयोजना प्रमुखसम्मलाई आफू जेनजी आन्दोलनको अगुवा भएको भन्दै विकास बजेट आफूले भनेको ठाउँमा हाल्न दबाब दिने गरेका थिए । उनको बुढानीलकन्ठ नगरपालिका १२, कपन त्रिज्योति स्कुल नजिक हाम्रो पार्टी प्यालेसभित्र रहेको घरमा ढल निकास गराउन ७८ लाख बजेट तर्साएरै हाल्न लागएको खुलासा भएको छ ।

    भौतिक पूूर्वाधार मन्त्रालयका तत्कालीन सचिव केशवकुमार शर्मादेखि सडकका डीजी डा. बिजय जैशीसम्मलाई बजेट दिएर निकासमा ‘सहयोग नगरे हटाइदिन्छु’ भन्दै उनले उक्त बजेट राखेर फाष्टट्रयाकमा काम गराएका थिए । एउटा घरको ढल निकासका लागि सडकमा लिफ्टिङ पद्धतिबाट ढल ब्यवस्थापन(होराइजेन्टल ड्रिलिङ) का लागि सडक बिभागले ७८ लाख बिनियोजन गरेको थियो ।

    बुढानीलकन्ठ नगरपालिका र जिल्ला प्रशासन कार्यालयबाट उनले जेनजीको नाममा आफ्नो घरको ढल निकासका लागि बजेट बिनियोजन गर्न पत्रसमेत लेखाएका थिए । बुढानीलकन्ठ नगरपालिका वडा नम्बर १२ का जनप्रतिनिधि र मेयरलाई समेत उनले गालीगलौज गर्दै आफ्नो घरको ढल निकास गराउन बजेट राख्न दबाब दिएका थिए । तर एउटा घरको ढल निकासका लागि त्यत्रो बजेट छुट्याउन नसक्ने जानकारी दिएपछि उनले सडक बिभागका डीजी जैशीबाट सोझै बजेट हाल्न लगाएका थिए ।

    बानियाँको घरमा ढल निकासका लागि होराइजेन्टल ड्रिलिङ गर्न सडक डिभिजन कार्यालय काठमाडौंबाट इन्जीनीयर रामचन्द्र फुयाँल खटिएका थिए । डिभिजनका सूचना अधिकारीसमेत रहेका फुयाँलले जिल्लाा प्रशासन कार्यालय काठमाडौं र बुढानीलकन्ठ नगरपालिकाको पत्रका आधारमा ढल निकासको काम गरिएको बताए ।

    बानियाँले सुशीला कार्की सरकारमा माधव चौलागाईंलाई वन तथा वातावरण मन्त्री बनाएको दाबी समेत गर्दैआएका छन् । उनले चौलागाईलाई मन्त्री बनाएर ठूलो परिमाणमा आर्थिक लाभ लिएको एक उच्च कर्मचारीले दाबी गरे । चौलागाईले कुलमानले राजीनामा दिएपछि २०८२ मंसिर २६ गते भौतिक मन्त्रालयको समेत जिम्मेवारी पाए ।

    चौलागाईले भौतिक मन्त्रालय सम्हालेको एक महिनापछि माघ १ गते सचिव केशवकुमार शर्माको सरुवा शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयमा भयो । भौतिकमा विज्ञान प्रबिधिका विश्वबाबु पुडासैनी सरुवा भए । तर भौतिक मन्त्रालयका रैथाने केशव शर्माले तिनै अनिल बानियाँलाई बिचौलियाका रुपमा प्रयोग गरी आफ्नो सरुवा रोकाउन सफल भए । बानियाँमार्फत् शर्माले मन्त्री चौलागाईलाई राम्रै नजराना ब्यवस्थापन गरी खुसी बनाएर थमौती भएका थिए । र, २०८२ चैतमा उनी भौतिक पूर्वाधार मन्त्रालयबाट अनिवार्य अवकाश भएका छन् ।

    बानियाँमार्फत् शर्मालाई थमौती गरेर लाभ लिएका कार्की सरकारका अढाई महिने मन्त्री चौलागाई निर्वाचनपछि पदमुक्त भएर ललितपुरको सुनाकोठीमा घर निर्माणतिर लागेको भौतिक मन्त्रालयकै उच्च स्रोतले नेपालफेससँग बतायो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार