Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रहरीकै सेटिङमा भारततर्फ गाँजा तस्करी, घुमुवामार्फत् सेटिङ


    शनिबार, माघ २४ २०८२
    1.9K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • कलैया । मकवानपुरका पहाडी क्षेत्र र त्यस आसपासका जंगलमा गाँजाखेती हुने र त्यो गाँजा बाराका बिभिन्न नाका हुँदै भारत पुग्ने गरेको छ ।

    बारामा प्रहरीसँग सेटिङ नमिल्दा फाट्टफुट्ट बरामद भएपनि क्वीन्टलका क्वीन्टल गाँजा मकवानपुर हुँदै भारतको पूर्वी चम्पारण पुग्ने गरेको छ ।

    मकवानपुरका पहाडी भेगबाट हेटौंडाको चौकीटोल प्रहरी चौकी, रातमाटे चेकपोष्ट हुँदै बाराको सिम्रौनगढबाट गाँजाँ भारत लाने गरिएको छ । त्यसो बाराकै रतनपुरी क्षेत्रबाट उत्पादित गाँजा समेत सिम्रौनगढ हुँदै भारत पुग्ने गरेको छ ।

    सिम्रौनगढ इलाका प्रहरी कार्यालय बाराबाट विगत ४ महिनादेखि खुलेआम गाँजा भारततर्फ तस्करी हुँदैआएको छ । सबैको ध्यान चुनावमा भएको समयमा सिम्रौनगढ इलाका प्रहरी कार्यालयका इन्चार्ज इन्स्पेक्टर कृष्णदेव प्रसाद साह(केडी) ले गाँजा तस्करीको सेटिङ चलाएका छन् ।

    दैनिक क्वीन्टलका क्वीन्टल गाँजा सिम्रौनगढबाट भारतको पूर्वी चम्पारणतर्फ तस्करी हुने गरेको छ । इन्स्पेक्टर केडी साहले भारतको अगार्वा गाउँका गाँजा कारोबारी अजय यादव र विकास यादवसँग प्रहरी सहायक निरीक्षक(असई) भगवान यादव मार्फत् सेटिङ मिलाउने गरेको स्रोत बताउँछ ।

    प्रतिकिलो ५ सय रुपैयाँमा सेटिङ मिलाएर गाँजा भारततर्फ तस्करी हुने गरेको स्रोत बताउँछ । केडी साह विगत ४ महिनादेखि सिम्रौनगढ इलाका प्रहरी कार्यालयको इन्चार्ज छन् । पूर्वआईजीपी चन्द्रकुवेर खापुङले साहलाई सिम्रौनगढ इलाका प्रहरीको इन्चार्जमा सरुवा गरेका थिए ।

    सर्वेन्द्र खनाल आईजीपी हुँदा मधेश प्रदेशको घुमुवा टोलीको इन्चार्ज रहेका केडी साहले त्यहीबेलादेखि नै असई भगवानलाई आफू जहाँ सरुवा भयो, त्यहीँ लाने र घुमुवाका रुपमा खटाउने गरेका छन् ।

    केडी यादवले प्रहरी जवान छोटेलाल पटेललाई पनि सिम्रौनगढमा घुमुवाका रुपमा परिचालन गरेका छन् । यसअघि सिम्रौनगढ इलाका प्रहरीमा २२ महिना सादा पोशाकको घुमुवाका रुपमा खटिएका छोटेलाल पटेल एक युवतीको मामिलामा विवादमा परेपछि कारबाहीस्वरुप निजगढ तानिएका थिए । अहिले केडी साहले उनलाई सिम्रौनगढमकै ल्याएर घुमुवाका रुपमा असुलीमा लगाएका छन् ।

    सर्वेन्द्र आईजीपी हुँदा मधेश प्रदेशका ८ वटै जिल्लामा केडी साहले घुमुवाका रुपमा तस्करीदेखि गाँजाको नेटवर्कसँग सेटिङ गरेको आरोप लागेको थियो ।

    पौडेलको हत्यामा कारबाही सिफारिस भएका साहलाई एकपछि अर्को महत्वपूर्ण जिम्मा

    राष्ट्रिय मानवअधिकार आयोगले विप्लव नेतृत्वको नेकपा सर्लाहीका तत्कालीन जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरीले नियन्त्रणमा लिएर २०७६ असार ४ गते हत्या गरेको निष्कर्ष निकालेको थियो ।

    आयोगको टोलीको स्थलगत अनुसन्धानबाट उनलाई नियन्त्रणमा लिएर नौ वटा गोली हानेर हत्या गरिएको किटान गर्दै प्रतिवेदनमा घटनामा प्रत्यक्ष रुपमा संलग्न तथा कमाण्डरसमेत रहेका प्रहरी निरीक्षक कृष्णदेव प्रसाद साह, प्रहरी हवल्दारद्वय विनोद साह र सत्यनारायण मिश्रलाई तत्काल निलम्बन गरी फौजदारी अभियोगमा मुद्दा चलाउन सिफारिस गरेको थियो । तर पौडेल हत्याका मुख्य जिम्मेवार प्रहरी निरीक्षक साहलाई नेपाल प्रहरीले एकपछि अर्को महत्वपूर्ण जिम्मेवारी दिइएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार