Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • मिटरब्याजमा गाउँपालिका अध्यक्ष नै मुछिए, श्रीमती पक्राउ


    सोमबार, पुष २१ २०८२
    2K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । मिटरब्याजमा ऋण दिनेहरुबिरुद्ध राज्यले कडा कानुन बनाउनुपर्ने छलफल हुँदैआए पनि मिटरब्याज पीडितहरुको समस्या समाधान हुन सकेको छैन । यसैक्रममा दोलखाको बिगु गाउँपालिकाकी लाक्फुटी शेर्पा मिटरब्याजमा ऋण दिएर चर्को रकम असुली गरेको आरोपमा पक्राउ परेकी छन् ।

    सुदीपकुमार रेग्मीको जाहेरीले जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई पक्राउ गरेको छ । परिसरले शेर्पालाई पुस ९ गते पक्राउ गरी म्यादथप गर्दै थुनामा राखी अनुसन्धान गरिरहेको छ ।

    शेर्पा दोलखाको बिगु गाउँपालिका अध्यक्ष संजीव ओलीकी श्रीमती हुन् । नेकपा माओवादी(हाल नेकपा)बाट गाउँपालिका अध्यक्ष जितेका ओली दम्पत्तिले मिटरब्याजमा पैसा लगानी गर्दैआएका थिए ।

    रेग्मीले लाक्फुटी शेर्पालाई दिएका केही चेक

    दोलखाकै ब्यापारी सुदीपकुमार रेग्मीले ओली दम्पत्तिसँग लिएको रकमभन्दा धेरै बढी तिरिसक्दा पनि उनलाई ताकेता गर्न नछाडेपछि उनले शेर्पाबिरुद्ध मिटरब्याज लिएको जाहेरी दिएका थिए । रेग्मीले ओलीकी श्रीमती लाक्फुटीका बिरुद्ध जिल्ला प्रहरी परिसरमा जाहेरी दिएपछि लाक्फुटी पक्राउ परेकी हुन् ।

    रेग्मीले लाक्फुटी शेर्पालाई दिएका र बाउन्स भएका नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र प्रभु बैंकमा गाभिएको सेन्चुरी बैंकका चेकसमेत नेपालफेसलाई प्राप्त भएका छन् ।

    रेग्मीले २०७९ चैत १९ गतेको मितिमा १३ लाख रुपैयाँको चेक लाक्फुटीलाई दिएका थिए । त्यसपछि २०८० जेठ ३ गते १७ लाख ६९ हजारको चेक जारी भएको देखिन्छ भने २०८० जेठ ३० गते २० लाख र ३० लाख रुपैयाँको चेक लाक्फुटीको नाममा जारी गरेको देखिन्छ । २०८० असार ३० गते ४१ लाख ९ हजार रुपैयाँको चेक दिएका थिए ।

    पटक–पटक लिएको रकम तिरिसक्दा पनि चेक फिर्ता नदिएको र थप रकम मागेर तनाब दिएपछि उनले प्रहरीमा मिटरब्याजमा जाहेरी दिएपछि लाक्फुटी पक्राउ परेकी छन् ।

    जिल्ला प्रहरी परिसर काठमाडौैंका प्रवक्ता एसपी पवन भट्टराईले लाक्फुटी २०८२ पुस ९ गते पक्राउ परेको र अनुसन्धान भइरहेको बताए ।

    बिगु गाउँपालिका अध्यक्ष ओलीले आफू जनप्रतिनिधि भएकाले श्रीमतीको नाममा मिटरब्याजमा रकम दिने गरेको आरोप छ ।

    मिटरब्याजमा रकम कारोबार गर्ने गरेको र श्रीमती लाक्फुटी शेर्पा पक्राउ परेकोबारेमा बिगु गाउँपालिका अध्यक्ष संजीव ओलीले भने–‘मलाई मिटरब्याजका बारेमा थाहा छैन । घरायसी लेनदेनमा छलफल गर्नु छ भनेर बोलाउनुभएको भन्ने मात्र थाहा छ । प्रहरीमा अनुसन्धान भइरहेको कुरामा मैले केही भन्न मिल्दैन ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार