काठमाडौं, १६ बैशाख । संचार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको चलचित्र विकास बोर्डले अध्यक्ष पदको लागि आवेदन माग गरेको छ । मंगलबार गोरखापत्र दैनिकमा सुचना प्रकाशित गरी रिक्त रहेको अध्यक्ष पदका लागि योग्यता पुगेका दाबेदारसँग आवेदन माग गरिएको छ । बोर्डका अध्यक्ष केशव भट्टराईको २०७६ मंसिर २९ मा निधन भएपछि रिक्त थियो ।
प्रतिस्पर्धात्मक प्रक्रियामा सहभागी हुन इच्छुक योग्यता, अनुभव र उमेर समूहका नेपाली नागरिकले सूचना तथा संचार प्रबिधि मन्त्रालय, संस्थान समन्वय शाखा, सिंहदरबारमा आवेदन पेश गर्नुपर्नेछ । अध्यक्षको मुल्यांकन ब्यावसायिक कार्ययोजना, कार्ययोजनाको प्रस्तुतिकरण र अन्तर्वार्ताको आधारमा गरिने उल्लेख छ ।
यसअघि न्युनतम शैक्षिक योग्यता स्नातक भएकोमा यसपटक भने प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरी नेपाली चलचित्र उद्योगको स्थापना, विकास, संरक्षण, सम्बर्धन तथा प्रवद्र्धनमा निरन्तर रुपमा कम्तीमा २० वर्ष काम गरेको व्यक्तिले आवेदन दिनसक्ने प्रावधान थपिएको छ ।
बोर्ड अध्यक्षका लागि दिनेश डीसी, दयाराम दाहाल, केपी पाठक, नवल खड्का, लय संग्रौलालगायतको नाम चर्चामा छ ।