Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • परिसर प्रमुखले खटाएका घुमुवाबाटै ठमेलमा युवा कुटिए, क्लव परिसरमै आक्रमण


    सोमबार, मंसिर १ २०८२
    2.7K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । जेनजी आन्दोलनमा काठमाडौं उपत्यकाका नेपाल प्रहरी प्रहरी कार्यालय रानीपोखरीदेखि अधिकांश भवनहरु जलाइएकोमा नागरिकहरु दुःखी भए । जलाइएका प्रहरी बिट, प्रभागदेखि बृत्तसम्म स्थानीयकै सहयोगमा निर्माण भइरहेका छन् । कतिपय निर्माण भएर संचालनमा आइसकेका छन् ।

    भदौ २४ गते उद्योगी ब्यापारीहरुका घरदेखि उद्योग र ब्यापारीक कम्प्लेक्सहरुमा आगजनी गरी खरबौं रुपैयाँ क्षति भयो । आगजनीले उद्योगी–ब्यापारीहरुको मन जलेको छ । यस्तो अवस्थामा लगानीकर्तालाई संरक्षण र हौसला दिनुपर्नेमा प्रहरी बृत्त सोह्रखुट्टेका घुमुवा प्रहरीले दुःख र सास्तीमात्र होइन, कुटपिट नै गरेका छन् ।

    प्रहरी बृत्त सोह्रखुट्टेमा बिगत १५ बर्षदेखि कार्यरत विवादास्पद घुमुवा हवल्दार करुन श्रेष्ठले ठमेलको नरसिंहचोकमा रहेको ओएसिस क्लवका कर्मचारी आयुष रावलमाथि शनिबार राति कुटपिट गरेका छन् । क्लवको गेटमा उभिएर पर्यटकलाई बोलाइरहेका रावललाई हवल्दार श्रेष्ठले कुटपिट गरेको सीसीटीभी फुटेज नै सार्वजनिक भएको छ । कुटपिटका क्रममा रावलको नाक र मुखमा चोट लागेको छ । घटनास्थलमा हवल्दार श्रेष्ठसँगै अर्का घुमुवा मिलन कार्की पनि थिए ।

    विगत १५ बर्षदेखि लैनचौर बृत्तका घुमुवा रहेका श्रेष्ठले पर्यटकीय क्षेत्र ठमेलका ब्यवसायीहरुलाई दुःख दिंदै हप्तावारी रकम असुल्ने गरेको आरोप छ ।

    यसअघिका उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी टेकबहादुर तामाङले धेरै गुनासो आएपछि घुमुवा करुण श्रेष्ठलाई नयाँ बानेश्वर बृत्तमा सरुवा गरिदिएका थिए । विश्व अधिकारीभन्दा अगाडिका परिसरका एसएसपी बसन्त रजौरेले करुनलाई स्वयम्भू बृत्तमा बर्दी लगाएर ड्युटी गर्नेगरी सरुवा गरिदिएका थिए ।

    रजौरेभन्दा अगाडिका एसएसपी भूपेन्द्र खत्रीले समेत श्रेष्ठलाई सरुवा गरेका थिए । तर सरुवा गरिएका घुमुवा श्रेष्ठ फर्कीफर्की सोह्रखुट्टे बृत्तमै काजसरुवा भएर आउने गरेका थिए । घुमुवा श्रेष्ठको दरबन्दी २ नम्बर गण महाराजगंजमा छ ।

    घुमुवा श्रेष्ठले अर्का सहायक हवल्दार विनोद कार्कीलाई पनि लैनचौर बृत्तमा सरुवा गराएर आफ्नै घुमुवा टोलीमा राखेका छन् । काठमाडौं परिसरको प्रमुखमा रमेश थापाले पद सम्हाल्नासाथ विवादित घुमुवा श्रेष्ठलाई सोह्रखुट्टे बृत्तमा खटाइएको खुलेको छ । काठमाडौं परिसरमा एसएसपीका घुमुवा इन्स्पेक्टर वाङ्गेल लामाको सिफारिसमा एसएसपी थापाले श्रेष्ठजस्ता विवादित प्रहरीलाई लैनचौर बृत्तमा खटाएको खुलेको छ ।

    प्रहरी वृत्त लैनचौरको प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) जागेश्वर भण्डारी छन् । विवादित घुमुवा श्रेष्ठले डीएसपी भण्डारीलाई पनि अप्ठेरो पारिदिएका छन् । परिसरका एसएसपीले नै खटाएका घुमुवाले गरेको कुटपिट प्रकरणले डीएसपी भण्डारी अप्ठेरोमा परेका हुन् ।

    सोह्रखुट्टे बृत्तअन्तर्गतका ठमेल क्षेत्रपाटी क्षेत्रमा घुमुवा श्रेष्ठले आर्थिक असुली गर्ने, विनाकारण दुःख दिने गरेको गुनासो छ । सबैभन्दा बढी व्यवसायीहरु घुमुवा प्रहरीबाट हैरानी खेप्दैआएका छन् ।

    घुमुवा प्रहरी श्रेष्ठको विवादित भिडियो आएपछि पनि उनलाई जिम्मेवारीबाट हटाइएको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार