Nepal Face
  • आइतबार, १० साउन २०८३
  • करोडौं बुझाएर अबैतनिक महाबाणिज्यदूतको नियुक्ति, निलो प्लेटको गाडीमा झण्डा हल्लाउन रोकेपछि चिल्लीबिल्ली


    शनिबार, कार्तिक ८ २०८२
    970
    Shares
    नेपाल फेस
  • ८ मिनेट पाठ
  • काठमाडौँ । जेन–जी समूहको आन्दोलनकपछि सुशीला कार्की नेतृत्वमा गठन भएको सरकारले नेपालस्थित विदेशी मुलुकले नियुक्त गरेका अवैतनिक बाणिज्यदूत (कन्सुलेट जनरल) ले प्रयोग गर्ने सवारीसाधनलाई प्रदान गरिएको निलो नम्बर प्लेट खारेज गरेको छ ।

    अवैतनिक कन्सुलेट जनरलसम्बन्धी अन्तर्राष्ट्रिय कानुन, पारस्परिकता, अवैतनिक वाणिज्यदूतसम्बन्धी नियमावली, २०३९, हालको प्रचलनबमोजिम असोज २४ गते यो निर्णय लिइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालमा हाल ६७ वटा अवैतनिक महावाणिज्यदूत रहेकामा ५० जनाले यो सुविधा लिएका थिए ।

    नेपालमा कोरोना संक्रमणलाई मध्यनजर गरी सरकारले लकडाउन घोषणा गरेको मौकाछोपी २०७६ चैत २५ मा ज्वरो नाप्ने थर्मल गन कालोबजारी गर्दागर्दै किर्गिस्तानका अवैतनिक दूत सुलभ अग्रवाल प्रहरी प्रधान कार्यालय अगाडि नक्सालबाट पक्राउ परेका थिए । कूटनीतिक नम्बर प्लेटको गाडीमा थर्मल गनको कालोबजारी गर्दागर्दै पक्राउ परेका थिए । जुवाखालबाट निलो प्लेटको गाडीमा झन्डा हल्लाउने महाबाणिज्यदूत अशोक अग्रलाल पक्राउ परे ।

    कूटनीतिक नम्बर प्लेटको गाडीमा थर्र्मल गन कालोबजारी गर्ने, जुवाखालबाट पक्राउ पर्नेदेखि बिभिन्न गतिबिधिमा मुछिएपछि तत्कालीन केपी ओली नेतृत्वको सरकारका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सबै अबैतनिक बाणिज्य दूतहरुले निलो प्लेटको गाडी प्रयोग गर्न नपाउने निर्णय गरेका थिए ।

    ओलीपछि सर्वोच्च अदालतको परमादेशबाट आएको शेरबहादुर देउवा नेतृत्वको सरकारका परराष्ट्रमन्त्री डा. नारायण खड्काले २०७८ पुसमा अवैतनिक बाणिज्यदूतले नीलो नम्बर प्लेटको सवारीसाधन प्रयोग गर्न दिने निर्णय गरेका थिए । जुन निर्णयपछि अवैतनिक दूत हुने होडबाजी नै चल्दैआएको छ । तर जेनजीको आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले निला प्लेट प्रयोग गर्न नपाउने निर्णय गरेको छ ।

    सरकारले औपचारिक सम्बन्ध नै नभएका देशका अवैतनिक दूतलाई मान्यता दिइरहेको छ । कूटनीतिक नियोगको नम्बर राखेर गाडी सुबिधा दुरुपयोग गर्न पाउने भएकाले अवैतनिक बाणिज्य दूत हुन करोडौंको चलखेल हुने गरेको स्रोत बताउँछ । अवैतनिक महाबाणिज्यदूत बनाउने गिरोह नै रहेको छ । जसले नेपालसँग कुनै द्विपक्षीय सम्बन्ध नै नभएका देशमा पनि अवैतनिक दूत बनाउन ठूलो रकम लेनदेन गर्ने गरेको छ ।

    कस कसले प्रयोग गरिरहेका छन् निलो प्लेटका गाडी ?

    अवैतनिक महाबाणिज्यदूत(अनररी कन्सुलर) एक मानार्थ पद हो । तर नेपालमा अवैतनिक दूत कानुनविपरीत काम गरी उन्मुक्ति पाउनका लागि लिने क्रम बढेको छ । कूटनीतिक सुविधा पाउने भएपछि पछिल्लो समयमा अवैतनिक दूत हुने होडबाजी चलेको छ । परराष्ट्र मन्त्रालयका अनुसार अहिले नेपालमा ६७ देशका अवैतनिक दूत रहेका छन् ।

    यसरी अवैतनिक दूतको पगरी लिएर त्यसको आडमा कूटनीतिक सुविधा लिने र निलो प्लेटका गाडी दुरुपयोग गर्नेहरुमा चौधरी ग्रुपका प्रमुख विनोद चौधरीको परिवारका ६ जना छन् । उनका भाइहरु वसन्तकुमार चौधरी मोरक्को र अरुणकुमार चौधरी हंगेरीका दूत हुन् । चौधरीका जेठा छोरा निर्वाणकुमार चौधरी सर्बियाका दूत हुन् भने माइला छोरा राहुल चौधरी माल्दिभ्सका दूत छन् । कान्छा छोरा बरुण चौधरी काजकिस्थानका हुन् । अरुण चौधरीका साला मोरङ अटोवक्र्सका संचालक बिष्णु अग्रवाल चेक रिपब्लिकका अवैतनिक दूत हुन् ।

    त्यस्तै किर्गिस्तानका दूत सुलभ अग्रवाल भाइ साहिल अग्रवाल पनि अवैतनिक दूत हुन् । साहिल बोस्निया हर्जगोभिनियाका अवैतनिक दूत हुन् । जुन देश युद्धले जर्जर भएको र नेपालसँग कुनै पनि हिसाबले औपचारिक सम्बन्ध नभएको देश हो ।

    राजेन्द्र खेतान पोर्चुगलका दूत हुन् । खेतानका भाइ प्रेमप्रकाश खेतान टर्कीका दूत हुन् । राजेन्द्र खेतानले श्रीमती सारिकालाई रोमानियाको अवैतनिक दूत बनाएका थिए ।

    आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल इण्डोनेसियाका लागि अवैतनिक बाणिज्य दूत हुन् भने अजय सुमार्गी बेलारुसका हुन् । एसिएन एयरका संचालक ब्यवसायी आङछिरिङ शेर्पा बेल्जियमका दूत हुन् । मनकामना केबलकारका राजेशबाबु श्रेष्ठ अष्ट्रियाका लागि अनररी कन्सुलर हुन् । चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ भियतनामका दूत हुन् ।

    फिजीमा पारस शाक्य रहेका छन् । कुमारी बैंकका लगानीकर्ता तथा गोल्डस्टार जुत्ता उत्पादक अमिरप्रताप राणा क्रोसियाका दूत छन् । ज्योति ग्रुपका पदमज्योति साइप्रसका हुन् । पंचकन्या ग्रुपका प्रदीपकुमार श्रेष्ठ दक्षिण अफ्रिकाका दूत हुन् । भारतबाट तस्करीको चिनी ल्याएर नेपाली उद्योगको ट्याग झुन्ड्याएर बिक्री गर्ने र ६ अर्ब उखु किसानको नाममा भ्याटफिर्ता लिएर खाने शशीकान्त अग्रवाल इक्वेडरका दूतका रुपमा कुटनीतिक उन्मुक्ति लिइरहेका छन् ।

    शारदा ग्रुपका शिवरतन शारदा जर्जियाका दूत हुन् । ग्रिसका विक्रम पाण्डे हन् । उनी पर्यटन ब्यवसायी हुन् । यी पाण्डे पूर्वमन्त्री तथा कालिका कन्ष्ट्रक्सनका संचालक हुन् भन्ने भ्रम धेरैलाई परेको छ । इरानमा नरेश श्रेष्ठ, आयरल्याण्डका मनोजबहादुर श्रेष्ठ, इटलीमा प्रतिमा राणा पाण्डे, लात्भियाका कर्ण बैद्य, लिथुहनियाका शोभाकर न्यौपाने, लक्जमबर्गका श्रीराम लामिछाने छन् । मनोजबहादुर हिमालयन बैंकका अध्यक्ष हुन् भने लामिछाने स्काउटका पूर्व प्रमुख आयुक्त हुन् ।

    इथोपियाका राजेन्द्र गिरी, इष्टोनियाको नवराज दाहाल, डेनमार्कका हरि धरेल, कोलम्बियाका विनयमान श्रेष्ठ, चिलीका वसन्तराज मिश्र, क्यानडाका बुद्ध बस्नेत, बुल्गेरियाका भोलाविक्रम थापा बाणिज्यदूत छन । दाहाल र धरेल पर्यटन ब्यवसायी हुन् । उनीहरु दुवै एशोसिएसन अफ ट्रेकिङ एजेन्टस् नेपाल(टान) का पूर्वअध्यक्ष हुन् । थापा पुराना ट्राभल संचालक हुन् ।

    माल्टाका दिनेश श्रेष्ठ, मेक्सिकोका नरेश दुगड, मंगोलियाको दूत छेतेन गुर्मेन श्रेष्ठ छन् । पेरुका सुमितकुमार अग्रवाल, फिलिपिन्सका सुरज बैद्य, पोल्याण्डका लोकमान्य गोल्छा, स्लोभाक रिपब्लिकका पासाङदाबा शेर्पा, स्वीडेनका गजेन्द्रबहादुर श्रेष्ठ, तान्जेनियाका राजेश चौधरी र युक्रेनका किरण बैद्य छन् ।

    सहकारीका जीबी राई भनेजस्तै हाइड्रोका गणेश कार्की पनि रकमकै चलखेल गरी मैरिससका अवैतनिक महाबाणिज्यदूत भएका छन् । उनी स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) का समेत अध्यक्ष हुन् ।

    गोल्डास्टार सूज कम्पनीकी सीईओ बिदूषी राणालाई गतबर्षमात्र गिरोहले आईसल्याण्डको अवैतनिक दूत बनाएको थियो । गिरोहले गएको बैशाखमा हाई हिमालयन हाइड्रोपावर कम्पनीका किरण मल्ललाई अर्मेनियाको अवैतनिक बाणिज्य दूत बनाएको थियो ।

    दीपक खड्का ऊर्जामन्त्री भएपछि ठेक्कापट्टामा बिचौलियाको काम गर्दैआएका अरुण केसी पनि पैसा खर्च गरेरै सेन्ट किट्स एण्ड नेविसको अवैतनिक महाबाणिज्यदूत बनेका थिए । जग्गा कारोबारबाट अकूत कमाई गरी ऊर्जा मन्त्रालय अन्तर्गतका जगदुल्ला, सिक्टा र बिभिन्न अरु ठूला ठेक्कामा बिचौलियाको रुपमा खड्काले केसीलाई परिचालन गरेका थिए ।
    यसरी आर्थिक चलखेलमा अवैतनिक बाणिज्यदूत हुने र नीलो नम्बर प्लेटका सवारीसाधनको दुरूपयोग गर्ने गरेको गुनासो ब्यापक थियो ।

    अवैतनिक कन्सुलेट जनरलले तोकिएको कन्सुलर क्षेत्रभित्र नेपालको राष्ट्रिय दिवस समारोह, सम्बन्धित (नियुक्ति दिने) मुलुकको राष्ट्रिय दिवस समारोह, सम्बन्धित मुलुकको राष्ट्र प्रमुख सरकार प्रमुख र परराष्ट्रमन्त्री नेपाल भ्रमणमा रहेको समयमा सरकारी भेटघाट र स्वागत तथा बिदाइ र नेपालको लागि सम्बन्धित मुलुकको राजदूतको नेपाल भ्रमणको अवसरमा सम्बन्धित मुलुकको राष्ट्रिय झण्डा प्रयोग गर्न पाउने व्यवस्था भने यथावत रहने छ । तर नेपालमा भने झन्डा हल्लाएर अवैधानिक गतिबिधि गर्नेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षसमेत विदेश जाने आउने क्रममा प्रयोग गर्ने गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार