Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • सशस्त्रका एसपीकै सेटिङमा सर्लाहीबाट चिनियाँ स्याउदेखि कपडाको तस्करी


    मंगलबार, असोज २१ २०८२
    2.6K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • सर्लाही । जेनजीको बिद्रोह भ्रष्टाचार र बेथितिका बिरुद्ध भएको थियो । नेपालमा हुने बेथिति र भ्रष्टाचारमध्ये भारत र चीनबाट भन्सार छली चोरी तस्करीका सामान भित्र्याउने कार्य पनि प्रमुख हो । जसका कारण देशले अरबौं भन्सार राजस्व गुमाउनुपरेको छ ।

    भारत र चीनसँग सीमा जोडिएका जिल्लाका प्रहरी प्रमुख, भन्सार र प्रमुख जिल्ला अधिकारीमा सरुवा हुन रकमको बोलकबोल हुने गरेको छ । सशस्त्र प्रहरीको काम सीमा सुरक्षा र तस्करी नियन्त्रण प्रमुख हो । तर सशस्त्रकै अधिकारीहरु तस्करीको लाइन दिएर भ्रष्टाचार गर्न तल्लीन हुँदैआएका छन् । जेनजीको बिद्रोहपछि त्यस्तो तस्करी रोकिने अपेक्षा गरिए पनि कति पनि कमी आउन सकेको छैन ।

    यसैक्रममा दशैंको मौका छोपेर सर्लाहीमा तस्करी ब्यापक बृद्धि भएको छ । सर्लाहीको नारायणपुर नाकाबाट दशैंको अष्टमी, नवमी र दशमीका दिन ठूलै परिमाणमा चिनियाँ स्याउ, नास्पाती र आँप भारततर्फ तस्करी भएको छ । स्रोतका अनुसार सशस्त्रको १० नम्बर गणका गणपति देवबहादुर चन्दसँगै सेटिङ मिलाएर हरिऔनका सन्तोष साहले दशैंको मौका छोपेर ३५ गाडी चिनियाँ स्याउ, नास्पाती र आँप भारततर्फ तस्करी गरेका छन् ।

    दशैअगाडि सर्लाहीको सुकनाहास्थित उमेश साहको गोदाममा भण्डार गरी महाअष्टमीदेखि दशमीसम्म ती स्याउ, नास्पाती र आँप नारायणपुर नाकाबाट भारततर्फ तस्करी गरी पठाइएको थियो । सबै चाडबाड मनाउन ब्यस्त रहेको समयमा सन्तोष साहले नारायणपुर नाकाबाट भारततर्फ स्याउ, नास्पाती र आँप तस्करी गराउन सफल भएका थिए । सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी बलका एसपी चन्दसँग सेटिङ मिलाएर उक्त सामान सीमापार गराइएको थियो ।

    नारायणपुर नाका सशस्त्रको संग्रामपुर बीओपी अन्तर्गत पर्दछ । एसपी चन्दले नै तस्करीको लाइन दिएपछि साहको फलफुलका गाडी बीओपीका इन्चार्जले समेत बेवास्ता गर्न बाध्य भएका थिए । सबैभन्दा बढी गाडी दशमीका दिन पानी परेकाले सोही दिन साहले सीमा पार गराएका थिए ।

    दशैंका तीन दिनमात्र होइन, सोमबार(दशैंको चतुर्दशी)का दिन पनि ५ गाडी चिनियाँ स्याउ, नास्पाती र आँप नारायणपुर नाकाबाट साहले सीमापार गराएको स्रोत बताउँछ । ब्यापारी सन्तोष साहसँग सर्लाहीका विवादित घुमुवा र रौतहटको चिनी तस्करीका योजनाकार सहायक हवल्दार रोशन मिश्रको कनेक्सन रहेको छ । मिश्रलाई सशस्त्र मुख्यालयको अनुगमनमा ३ बर्षदेखि कार्यरत डीएसपी सुदीप रेग्मीले नै संरक्षण गर्दैआएका छन् ।

    १० नम्बर गण सर्लाहीका एसपी चन्ददेखि सशस्त्र मुख्यालयका रेग्मीसम्म कनेक्सन भएकैले ब्यापारी साहले नेपालबाट चिनियाँ स्याउ, नास्पाती र आँप भारत तस्करी गराउन सफल भएको स्रोतको दाबी छ । साहले नेपालबाट स्याउ, नास्पाती र आँप भारततर्फ र भारतबाट कपडा नेपालतर्फ भन्सारछली चोरी तस्करीमार्फत् भित्र्याउने गरेको आरोप छ । चिनियाँ स्याउ र नास्पाती लामो समयदेखि भारततर्फ तस्करी हुँदैआएको छ । पछिल्लो समय चिनियाँ आप पनि भारततर्फ तस्करी हुने गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार