Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • नेपालमा शान्ति र स्थिरता कायम भए युएईको भिसा छिट्टै सहज हुनसक्छः राजदूत क्षेत्री


    मंगलबार, असोज २१ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • ५ मिनेट पाठ
  • क्षितिज विक्रम खनाल, अबुधावी युएई

    संयुक्त अरब इमिरेट्सका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले पछिल्लो समय युएईमा देखिएको भिसा कडाइ नेपालमा शान्ति र अमन चयन कायम हुनासाथ सहज र खुकुलो हुने बताएका छन् ।

    हाल नेपाली नागरिकका लागि भिजिट, कामदार र विद्यार्थी भिसामा कडाइ गरेका कारणहरूमध्ये नेपालमा जेनजी आन्दोलन पश्चात् उत्पन्न राजनीतिक जटिल परिस्थिति भएको उनले बताएका छन् । उनले भने–‘युएई आफैंमा अत्यन्त शान्त, सुरक्षित तथा विकास, प्रगति र आर्थिक समृद्धिमा अगाडि बढिरहेको देश हो ।

    नेपालमा जेजजी आन्दोलनपछि जेलमा रहेका धेरै कैदी बन्दी तथा अपराधी बाहिरिएका छन् । जतिसक्दो छिटो हामी ती कैदीहरूलाई पुनः नियन्त्रणमा ल्याउँदैनौं, तबसम्म युएईजस्ता देशहरूले भिसामा कडाई गर्र्ने देखिन्छ ।’

    क्षेत्रीका अनुसार, युएई सरकारले भिसाा कडाइ गरेको विषयमा कुनै औपचारिक जानकारी दूतावासले प्राप्त नगरेको तथा देशको सुरक्षाको दृष्टिले यस किसिमका उपाय तथा सावधानी अपनाउन लिइएको कदम हुनसक्छ ।

    उनले नेपालमा छिट्टै शान्ति र अमनचयन तथा स्थिरता र विश्वसनीय वातावरण हुनासाथ भिसा नीतिमा फेरि सहजता हुने बिश्वास प्रकट गरेका छन् । युएईमा रहेका नेपाली मेहनती, इमान्दार, लगनशील, सरल, शिष्ट तथा बफादार भएकाले पनि युएई सरकार र जनताले रोजगारीमा प्राथमिकतामा राखेको बताए ।

    युएईमा रोजगारीका नाममा नेपालीले नेपालीलाई गर्ने ठगी र मानव बेचबिखनका घटनाबारे उनले गम्भीर चिन्ता व्यक्त गरेका छन् । भिजिट भिसा लिएर काम दिलाइदिने नाममा केही दलालहरूले नेपाली युवाहरुबाट ठगी गर्ने क्रम बढेको उनको भनाइ छ । ‘हाम्रो दूतावासमा यस्ता घटनाबारे धेरै उजुरी आएका छन् । यस्ता अपराध गम्भीर प्रकृतिका हुन् र नेपालकै कानुन अनुसार कडाभन्दा कडा सजाय हुनुपर्छ । प्रमाणसहित उजुरी आए अनुसन्धान र कारबाही तुरुन्त अघि बढाइन्छ’ उनले भने ।

    क्षेत्रीले नेपाली नागरिकलाई सचेत गराउँदै भने–‘युएई रोजगारीमा आउँदा सरकारबाट मान्यताप्राप्त एजेन्सीबाट मात्र आउनुहुन र सरकारले तोकेको रकम मात्र बुझाएर बैंक भौचर वा ट्रान्सफरको प्रमाण राख्नुपर्छ । यसले कानुनी प्रक्रिया अघि बढाउन सजिलो हुन्छ ।’ उनले थप सुझाव दिँदै भने कि युएईमा नेपालीको संख्या ७ लाख भन्दा बढी भएकाले बिभिन्न ठगी, मानव बेचवखन तथा अपराधिक घटना तीव्र रूपमा बढ्दै गएको सन्दर्भमा अन्य देशले अपनाएका सुरक्षा प्रणाली जस्तै दूतावास मातहतमा यस्ता ठगी र अपराधिक गतिविधिमा संलग्नलाई आवश्यक कारबाही तथा नियन्त्रण गर्न मद्दत पुर्याउने संयन्त्र आवश्यक देखिएको बताए ।

    दूतावासका सेवा सुधारबारे कुरा गर्दै राजदूत क्षेत्रीले राहदानी, भिसा, एनओसी, र अन्य कन्सुलर सम्बन्धी कामलाई छिटोछरितो तथा प्रभाबकारी सेवा प्रवाह प्रदान गर्न अधिकतम प्रयास भइरहेको जानकारी दिए । ‘आपतकालीन अवस्थाहरू—जस्तै मृत्यु, दुर्घटना वा अस्पतालमा उपचारत बिरामीलाई तत्काल राहत, उद्धार तथा सहयोग तथा सहजीकरण गर्न दूतावासले गैरआवासीय नेपाली संघ तथा अन्य नेपाली संघसंस्थाहरूसँग सहकार्य गर्ने प्रणाली बनाएका छौं ।’ उनले स्पष्ट पारे ।

    राजदूत क्षेत्रीका अनुसार, युएईका विभिन्न सहरमा मोबाइल राहदानी, कन्सुलर तथा श्रमिक सचेतना शिविर सञ्चालन गरिएको तथा थप स्थानहरूमा गर्ने तयारी पनि भइरहेको छ, जसले नेपाली समुदायलाई दूतावासका सेवामा सजिलो पहुँच दिलाउनेछ । साथै, नेपालीबीच एकता, सांस्कृतिक पहिचान र सहकार्य सुदृढ गर्न नियमित अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने योजना पनि अघि बढाइँदैछ ।

    द्विपक्षीय सम्बन्धका विषयमा राजदूत क्षेत्रीले भने–‘नेपाल–युएई सम्बन्धलाई अझ प्रगाढ बनाउन ब्यापार, पर्यटन, श्रम, शिक्षा र लगानीका क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । हामी चाहन्छौं कि नेपालीहरू सुरक्षित र कानुनी माध्यमबाट यहाँ रोजगारमा आउन् ।’ उनका अनुसार, ओभरस्टे वा कानुनी समस्यामा परेका नेपालीका हकहितमा दूतावासले निरन्तर सक्दो सहयोग गर्दै आएको छ ।

    हालै लागू गरिएको Visa Regulation Framework 2025 बारे उनले स्पष्ट पार्दै भने–‘यो नीतिले सीप भएका बैध रोजगार र शिक्षाका लागि आएका नेपालीलाई सहजता दिनेछ, तर अवैध माध्यमबाट आउनेहरू तथा सीप नभएका अदक्षका हकमा यो प्रणाली अझ कडाइपूर्ण हुनेछ ।’

    राजदूत क्षेत्रीले नेपाल र युएईबीचको प्रगाढ सम्बन्धलाई आगामी दिनमा अझ थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भने‘यदि नेपालले आफ्नो आन्तरिक स्थिरता, शान्ति र कानुनी विश्वसनीयता पुनःस्थापित गर्नसक्यो भने युएईले भिसा कडाइ चाँडै सरल सहज र खुकुलो बनाउने बिश्वास व्यक्त गरे ।’ यसमा दूतावासले पनि आवश्यक पहल गरिरहेको जानकारी उनले दिए । उनले सबै नेपालीलाई युएईको कानुन, मूल्य, मान्यता अक्षरशः पालना गर्न, मादकपदार्थ सेवन नगर्नुहुन तथा ठग र दलालबाट सावधान रहन र कुनै पनि समस्या आइपरेमा सिधै आबुधावीस्थित दूतावास तथा दुवईसथित कन्सुलेटमा सम्पर्क गर्न आग्रह गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार