Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बीरगञ्ज नाका हुँदै दुई महिनामा सात अर्बका सवारीसाधन भित्रिए   


    बुधबार, असोज ८ २०८२
    1K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • वीरगञ्ज (पर्सा) । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वीरगञ्ज नाकाबाट रु सात अर्ब १६ लाख मूल्यबराबरका सवारीसाधन तथा पार्टपुर्जा आयात भएका छन् ।

    गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा उक्त नाकाबाट रु एक अर्ब ७५ करोड बढी मूल्यका सवारीसाधन र त्यसमा प्रयोग हुने पार्टपुर्जा आयात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । कार्यालयका अनुसार गत आवको उक्त अवधिमा रु पाँच अर्ब २५ करोडका सवारीसाधन तथा पार्टपुर्जा आयात भएका थिए ।

    कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आवको दुई महिनामा यो नाका हुँदै सवारीसाधनको आयात उत्साहजनक भएको बताउनुभयो । “गत आवको दुई महिनाको तुलनामा चालु आवको सोही अवधिमा सवारीसाधनको आयातबाट प्राप्त हुने राजस्वमा समेत वृद्धि भएको छ ।”

    गत आवको दुई महिनामा सवारीसाधनको आयातबाट रु चार अर्ब ४७ करोड ७६ लाख राजस्व सङ्कलन भएको थियो भने चालु आवको दुई महिनामा सवारीसाधनको आयातबाट रु छ अर्ब १३ करोड ९२ लाख राजस्व सङ्कलन भएको छ ।

    चालु आवको दुई महिनामा रु ४३ करोड ५२ लाख मूल्यका एक सय ७८ वटा जीप, कार र भ्यान आयात भएका छन् । जबकि गत आवको सोही अवधिमा रु ५१ करोड ६२ लाख मूल्यका दुई सय ९५ वटा जीप, कार र भ्यान आयात भएको थियो ।

    चालु आवको दुई महिनामा रु दुई अर्ब ७९ करोडका २० हजार ६२० थान अनएसेम्वल्ड मोटरसाइकल आयात भएको छ । जबकि गत आवको सोही अवधिमा रु एक अर्ब ८५ करोड मूल्यका १४ हजार ७६६ वटा अनएसेम्वल्ड मोटरसाइकल आयात भएको छ । चालु आवको दुई महिनामा रु ६६ करोड ४३ लाख मूल्यका तीन सय १८ वटा अन्य बस ट्रकका चेसिस आयात भएको कार्यालयको भनाइ छ ।    (रासस)

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार