Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सर्लाहीमा नियन्त्रण बाहिर तस्करी


    आइतबार, असोज ५ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • सर्लाही । नेपाल-भारत सीमा क्षेत्रमा तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरीले डिएसपी तहकै अधिकारी खटाए पनि सर्लाहीमा तस्करी अझै बढेको देखिएको छ । राजस्व संकलनमा लगातार कमी देखिएपछि सशस्त्र प्रहरी प्रधान कार्यालयले अस्थायी गुल्म कायम गरी डिएसपी कमान्डमा नियन्त्रण अभियान चलाएको थियो। तर, उल्टै तस्करलाई सहज वातावरण बनेको स्थानीयवासीको गुनासो छ ।

    जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी योगेन्द्र कुमार खड्का र गण नम्बर – १० का गणपति देब बहादुर चन्दले पटक–पटक निर्देशन दिए पनि सीमा क्षेत्रमा तस्करी रोकथाम हुन नसकेको पाइएको छ । नदिया पकडी, मधुवनी, अर्नाहा र छतौना नाकाबाट दैनिक रूपमा बालुवा, गिटी, स्याउ, रक्सी र चाइनिज कस्मेटिक सामग्री भारततर्फ जाने र भारतबाट कपडा, सुर्ती, चिनी, स्पेयर पार्ट्ससहित दैनिक उपभोग्य वस्तु भित्रिने क्रम रोकिएको छैन ।

    स्थानीयवासीले प्रहरीकै संलग्नता देखिएको आरोप लगाएका छन् । उनीहरूका अनुसार, जिल्ला स्तरका प्रमुखले निर्देशन दिए पनि गुल्मस्तरका अधिकारी तस्करसँग मिलेमतो गरी मोलमोलाइमा संलग्न हुने गरेका छन् ।

    विशेषगरी प्रहरी चौकी पर्सा नाकाका ईन्चार्ज शम्भु प्रसाद यादव आएपछि तस्करीसँगै लागुऔषध कारोवार समेत सक्रिय भएको देखिएको छ । यस नाकाबाट दैनिक लाखौंको कुखुरा, चल्ला, कपडा, किराना सामग्री नेपालमा भित्रिने र नेपालबाट चाइनिज मकै, चाइनिज स्याउ भित्रिने गरेको स्थानीय स्रोतले जनाएको छ ।

    सर्लाहीमा सबैभन्दा बढी लागुऔषध हरिवन नगरपालिका–३ डाबरी बजारमा बिक्रीवितरण हुने गरेको स्थानियहरु बताउँछ । कोरेक्स र ट्याबलेट पर्सा नाकामार्फत ल्याएर खुलेआम बिक्रीवितरण भइरहे पनि प्रहरीहरू मुखदर्शक बनेर बसिरहेको स्थानीयवासीको आरोप छ ।

    यस अघि इलाका प्रहरी कार्यालय हरिवनका तत्कालीन ईन्चार्ज इन्स्पेक्टर अनिल गिरि रहँदा भने यस्ता गतिविधि नियन्त्रणमा रहेको स्मरण गर्दै स्थानीयले भने, “गिरिले तस्करी र लागुऔषध दुवैमा कडाइ गरेका थिए, धेरैलाई नियन्त्रणमा लिएर मुद्दासमेत चलाएका थिए । तर अहिले उल्टै तस्करको दबदबा बढेको छ ।”

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार