Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आरजुको नाममा अमेरिकामा पनि चलखेल, शरणार्थीको रुपमा अमेरिका छिरेका पराजुलीको अवैतनिक दूत बन्ने रहर


    आइतबार, असोज ६ २०८१
    4K
    Shares
    नेपाल फेस
  • ६ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री डा. आरजु राणासहितको टोली अमेरिकाको न्यूयोर्कमा रहेको छ । राष्ट्रसंघको कार्यक्रममा भाग लिनका लागि प्रधानमन्त्रीसहितको टोली न्यूयोर्कमा रहेको बेला अमेरिकास्थित केही नेपाली अगुवा दाबी गर्नेहरु भने आफ्नो स्वार्थको रोटी सेक्न तल्लीन भएका छन् ।

    माओवादी शान्तिप्रक्रियामा आइसकेपछि सन् २००८ मा झुटा कागजात पेश गरी शरणार्थीको रुपमा ग्रिनकार्डको लागि आवेदन दिएका राजु पराजुली परराष्ट्रमन्त्री राणासँग राम्रो सम्बन्ध भएको तुजुक देखाउँदै मेरिल्याण्ड र पेन्सिलभेनियाको अवैतनिक बाणिज्य दूत हुने चलखेलमा लागेका छन् ।

    यसअघिका अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीका सम्धी भएकाले मन्त्री राणासँग भेटेको र ती दुई राज्यको अबैतनिक दूतका लागि आफूले सहमत गराइसकेको भन्दै बाल्टिमोरका नेपालीहरुलाई भन्न थालिसकेका छन् । मेरिल्याण्ड र पेन्सिलभेनियाका अवैतनिक महाबाणिज्यदूत लोकगायक प्रेमराजा महत छन् । उनलाई हटाउने खेलमा पराजुली लागेका छन् । लमजुङको हाल राइनास नगरपालिकाको एक सामान्य परिवारका पराजुली पानीजहाज हुँदै थुप्रै दिन लगाएर अबैध रुपमा अमेरिका प्रवेश गरेका नेपाली हुन् ।

    द्वन्द्वपीडित भएकाले नेपालमा बस्न नसकेको, ज्यान खतरामा परेको झुटा कागजात पेश गरी ग्रिनकार्ड फाइल गरेका नेपाली हुन्, पराजुली । नेपालमा सुरक्षा थ्रेट रहेको भनेर झुटा विवरण पेश गरे पनि द्वन्द्वमा उनलाई कुनै खतरा नभएको माओवादी लमजुङका एक नेता नै बताउँछन् ।

    अमेरिकास्थित मेरियाण्डको हण्टभ्यालीमा भारतीयसँगको साझेदारीमा इन्डियन ओसन र ताजमहल होटल संचालन गरेका छन् पराजुलीले । भारतीय र केही नेपालीलाई साझेदारलाई उनले धोका दिएर होटलको स्वामित्व हडपेको आरोप छ । सम्धी खत्री राजदूत हुँदा राजदूताबासमा हुने सबै कार्यक्रममा खाना र खाजाको ठेक्का समेत उनैले पाउने गरेका थिए ।

    राजदूताबासका कार्यक्रममा ४० जना उपस्थित हुँदा पनि १ सय जनालाई खाना खुवाएको बिल पेश गरेर भुक्तानी लिने गरेको आरोप पराजुलीमाथि छ । दूताबासका कर्मचारीसँग मिलेर उनले क्याटरिङमा समेत अनियमितता गर्ने र साझेदारलाई धोका दिएर रवाफ देखाउँदै आएका उनी अब मन्त्री आरजु राणालाई प्रभावमा पारी जसरी नि प्रेमराजालाई हटाएर मेरिल्याण्ड र पेन्सिलभेनियाको अवैतनिक दूत हुने ध्याउन्नमा सबै शक्ति लगाउँदैआएका छन् ।

    नेपाली कांग्रेसनिकट जनसम्पर्क समिति अमेरिकाकाको सदस्यता लिएका पराजुलीले श्रीमतीलाई एमालेनिकट प्रवासी नेपाली संघको सदस्य बनाएका छन् । जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुँदा उनलाई खुसी पारी डेरावर राज्यको पर्यटन दूत भएका उनलाई सुदन किराँती आएपछि हटाएका थिए ।

    माओवादी द्वन्द्वका कारण अमेरिकामा शरणार्थी भएको भन्दै झुटा कागजात पेश गरी ग्रिनकार्ड फाइल गरेका पराजुलीले सोही पार्टीबाट पर्यटन मन्त्री भएका सुनद किराँतीको चाकडी गरेर मेरिल्याण्डको पर्यटन दूत भएका थिए । बाल्टिमोरका नेपालीहरुको बीचमा पनि उनको छवि राम्रो छैन । उनलाई बाल्टिमोरको नेपाली समाज भाँडेको आरोप छ ।

    एनआरएनएको चुनाव होस् कि बानाको होस्, उनको भूमिका दोहोरो रहँदैआएको छ । एनआरएनको गत चुनावमा कुल गुरुङको पक्षमा लागेको भ्रममा पार्ने र रातभर गुरुङका प्रतिस्पर्धी प्रेम सुवेदीसँग गोप्य भेटघाटमा रमाउने गरेको आरोप लागेको थियो ।

    त्यसो त बानाको पछिल्लो चुनावमा सुबोध पन्तको पक्षमा लागेको भने पनि उनलाई समेत धोका दिएर हिरा गुरुङलाई उचाल्नेतिर बढी लागेका थिए । आगामी मार्च २०२५ मा हुने बानाको चुनावमा जितेन गुरुङको पक्षमा उनी देखिएका छन् । तर अन्तिम मितिसम्म उनको भूमिका के हुने हो भन्नेबारेमा आशंका गर्न थालिएको छ ।

    नेपाली समाजमा यस्तो विवादास्पद छवि भएका पराजुली सम्धीको आडमा आरजुसँग निकटता देखाएर मेरिल्याण्ड र पेन्सिलभेनियाको अवैतनिक बाणिज्यदूत हुन साम दाम दण्ड भेदको नीति अंगिकार गरी लागेका छन् । परराष्ट्रमन्त्री क्यानडाबाट बुधबार अमेरिका पुग्दा जनसम्पर्क समितिका अध्यक्ष आनन्द बिष्टसहित पराजुली पनि स्वागत गर्न पुगेका थिए । जहाँ अधिकांश स्वागत गर्न जाने नेपालीले ढाका टोपी लगाएका छन्, तर पराजुलीको शीरमा देखिंदैन ।

    पराजुलीको खण्डन, मेरो मानमर्दन भयो

    नेपालफेसमा प्रकाशित समाचारको राजु पराजुलीले प्रेस काउन्सिलमार्फत् खण्डन पठाएका छन् । १३ असोज, २०८१ मा पठाइएको उक्त खण्डन नेपालफेस डटकममा काउन्सिलबाट १४ असोज, २०८१ मा पठाइएको छ । जसमा पराजुलीले समाचारप्रति आपत्ति जनाउँदै लेखेका छन्– ‘मेरो जन्मभूमि नेपालको लमजुङ जिल्ला हो र हाल अमेरिकाको मेरील्याण्ड राज्यको बाल्टिमोरमा पर्यटन तथा हस्पिटालिटी व्यवसाय गरी बस्दै आएको छु । मेरो विषयमा नेपालफेस डटकमले तथ्यहीन, भ्रामक तथा व्यक्तिगतरुपमा चरित्रहत्या गर्ने मनसायले समाचार छापेको छ ।

    मलाइ मात्र होइन, नेपाल राज्यको प्रतिनिधित्व गर्ने महामहिम राजदूत श्रीधर खत्री र नेपाली राजदूतावासलाई धरी मानमर्दन हुनेगरी समाचार प्रकाशित गरेको छ । यसमा प्रकाशित समाचारले मलाई मानसिक र सामाजिक रुपमा असर पुर्याएको छ । प्रेस काउन्सिल नेपाल ऐन २०४८, आचारसंहिता र नेपाल पत्रकारकार आचारसंहिता २०७३ अनुसार यस मिडिया नेपालफेस डट कम र समाचार संप्रेसण गर्ने पत्राकारलाई हदैसम्मको कारवाही गर्न अध्यक्ष समक्ष अनुरोध गर्दछु ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार