काठमाडौं । पाँच–दस हजार रुपैयाँ घुस लिने साना कर्मचारीहरुलाई मात्र कारबाहीको दायरामा ल्याएको र करोड, अरब रुपैयाँ अनियमितता गर्नेहरुलाई कारबाही नगरेको भनी आलोचना खेप्दैआएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सूचना प्रविधि क्षेत्रका नीतिगत भ्रष्टाचारका प्रमुख खलनायक रुपमा चिनिएका विकल पौडेलका विरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दर्ता गरेर हाइप्रोफाइलहरुले पनि उन्मुक्ति पाउँदैनन् भन्ने सन्देश दिन खोजेको छ ।
आयोगले एक बर्षअघि २०७८ माघ १२ मा खानी विभागबाट अनुमति लिएको क्षेत्र भन्दा बढी खनिज दोहन गर्ने उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकासहित १८ जना र नौ कम्पनीबिरुद्ध मुद्दा दर्ता गरेको थियो । अख्तियारले सूचना प्रविधि क्षेत्रका ठेक्कामा अरबौं भ्रष्टाचारमा मुछिएका विकल पौडेल जस्ता हाइप्रोफाइलका बिरुद्ध पनि मुद्दा दायर गरेपछि कानुनबिपरीत काम गर्नेहरु जतिसुकै पहुँचवाला भए पनि कुनै पनि दिन कठघरामा उभिनुपर्छ भन्ने प्रष्ट भएको छ ।
अख्तियारले पावर सिस्टम इन सेक्युरिटी प्रिन्टिङ प्रेस र प्रेसराइज्ड फ्युल स्टोरेज ट्यांकको खरिदमा बदनियतपूर्वक मिलोमतो गरी कमिसन लिएर ठेक्का दिएको अभियोगमा सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक पौडेलसहित ९ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ । जसमा पौडेलसहित ६ जना कर्मचारी छन् भने ३ जना परामर्शदाता सहितका कम्पनीका अधिकारी छन् । आयोगले आरोपी ९ जनासँग २ अर्ब ६९ करोड बिगो मागदाबी गरेको छ ।
पौडेलले एक दशकदेखि सबै ठूला दलका शीर्षनेता र उनीहरुका पारिवारिक सदस्यका अतिरिक्त वर्तमान मुख्यसचिव शंकरदास बैरागीलाई मुट्ठीमा राख्दै देशको सूचना प्रविधि क्षेत्रका अरबौंका ठेक्कामा सेटिङ गर्दैआएका थिए । सेक्युरिटी प्रेस खरिदमा अस्वभाविक लागत स्टीमेट तयार गर्ने विकल पौडेल नै थिए । २०७४ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले ८ अर्ब रुपैयाँमा खरिद गर्ने र हेटौंडामा राख्ने भनिएको सेक्युरिटी प्रेसको लागत मूल्य विकल पौडेलकै डिजाइनमा ३ गुणा बढाएर २७ अर्ब रुपैयाँसम्म पु¥याइएको थियो । पौडेलले नै सबै फिचर थप्ने भनेर उक्त प्रेसको बढाउँदै बढाउँदै ३३ अर्ब पुर्याएका थिए ।
केन्द्रका कार्यकारी निर्देशक पौडेलले सेक्युरिटी प्रेस खरिद गर्ने निश्चित नहुँदै २० करोड रुपैयाँको भूमिगत इन्धन भण्डारण टयांकी निर्माण गरेका थिए । पे्रेस खरिद नहुँदै विद्युत प्रसारण लाइन, ट्रान्सफर्मर जडान, भूमिगत इन्धन भण्डारण ट्यांकी निर्माण भएका थिए । यी ३ वटै योजनामा करिब ६९ करोड रुपैयाँ अनियमितता भएको अख्तियारको दाबी छ ।
सेक्युरिटी प्रेस स्थापना गर्ने सम्बन्धमा गुरुयोजना र लागत अनुमान स्वीकृत नै नगरी अघि बढाइएको मेसिन तथा उपकरणको खरिद प्रक्रिया त्रुटिपूर्ण रहेको महालेखा परीक्षकको ५८ औं प्रतिवेदनमा औंल्याएको थियो । खरिद योजनाबिना ८६ करोड २७ बढी खर्च भएको देखिएको हो । जसमा १ करोड ९९ लाख ४ हजारको गाडी किनिएको थियो । खरिद भएका कतिपय उपकरणहरू उपयोगविहीन रहेको महालेखा परीक्षकको प्रतिवेदनले औंल्याए पनि पौडेलमाथि कुनै कारबाही भएको थिएन ।
यो देशका सबै पावर सेन्टरलाई मुट्ठीमा राखेको र अख्तियार जस्ता निकायले आफूलाई छुन नसक्ने भ्रममा पौडेल थिए । तर नीतिगत भ्रष्टाचार गरेर अरब जम्मा गरे पनि सबैलाई पैसाको बलमा प्रभावमा पार्न सकिन्न भन्ने पाठ पनि विकल पौडेलजस्ता भ्रष्टाचारका खलपात्रहरुलाई आयोगले सिकाएको छ । पौडेल जस्ता हाइप्रोफाइललाई मुद्दा चलाउनुलाई अख्तियार प्रमुख प्रेमकुमार राईको साहसिक कदमका रुपमा लिइएको छ । यद्यपि विशेष अदालतमा रजिष्टार अशोककुमार क्षेत्री जस्ताको सेटिङ चलिरहे सिक्टा सिंचाई र खानी बिभागका महानिर्देशक रामप्रसाद घिमिरे, अनुमति लिएको भन्दा बढी खानी दोहन गर्ने पशुपति मुरारकाले जस्तै उनले पैसाकै बलमा मुद्दा जित्ने आशंका पनि उत्तिकै छ ।
विकलको सेटिङमा मुख्यसचिव बैरागीदेखि को को हाइप्रोफाइलहरु छन् ?
सेक्युरिटी प्रेस खरिदमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीदेखि उनका विश्वासपात्र गोकुल बाँस्कोटासम्मलाई प्रभावमा राख्न सफल हुँदैआएका थिए विकल पौडेल । बिजय मिश्रसँग ७० करोड रुपैयाँ घुस डिल गरेको अडियो सार्वजनिक भएपछि गोकुल बाँस्कोटा मन्त्रीबाट राजीनामा दिन बाध्य भएका थिए । बास्कोटाले मन्त्रीबाट राजीनामा दिए पनि सेक्युरिटी प्रेस खरिदमा अस्वभाविक लागत बढाउने मुख्य कर्ता विकल पौडेललाई सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा यथावत राखियो ।
२०७८ असार २८ मा सर्वोच्च अदालतको परमादेशले केपी ओली प्रधानमन्त्रीबाट पदमुक्त भएपछि सेक्युरिटी प्रेस खरिदमा अस्वभाविक लागत बढाउने मुख्य योजनाकार विकल पौडेललाई हटाइएन । बरु त्यसपछिका प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाको दबाबमा संचार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विकल पौडेललाई सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा पुनर्नियुक्ति दिए । विवादमा परेका पौडेललाई पहिलो कार्यकालको म्याद सकिएपछि गठन आदेश नै परिवर्तन गरेर पुनर्नियुक्ति गरिएको थियो ।
ज्ञानेन्द्र कार्की संचार मन्त्री भएपछि विकल पौडेलको संजाल झन् बलियो हुँदै गएको देखिन्छ । उनले आफ्नैै नजिकका दाजुभाइ पर्ने प्रदीप शर्मा पौडेललाई राष्ट्रिय सूचना प्रविधि केन्द्र अर्थात् एनआईआईटीसीमा कार्यकारी निर्देशक नियुक्त गराउन सफल भए । २०७९ असार २४ गतेको निर्णयानुसार उक्त पदमा पौडेल नियुक्त भएका थिए । नेपाल दूरसंचार कम्पनी(टेलिकम)का सुनिल पौडेल पनि विकलकै योजनामा आरजुसँगको सेटिङमा नियुक्त भएका थिए ।
कांग्रेसकै राजनीति गरी सर्वोच्चको न्यायाधीश भएका लक्ष्मण अर्यालकी छोरी संगीता अर्याल टेलिकममा स्वभाविक प्रबन्ध निर्देशकको दाबेदार भए पनि उनलाई नगरी सुनिल पौडेललाई सेटिङमा नियुक्ति गरिएको थियो । विकलको योजनामा र आरजुको दबाबमा उनलाई नियुक्ति गरिएको चर्चा पनि हुँदैआएको छ ।
पछिल्ला दिनमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र आरजुका छोरा जयवीरसिंह देउवा, पूर्वप्रधानन्यायाधी कल्याण श्रेष्ठका छोरा अभिषेक र सुनिल थापाका पुत्र सिद्धार्थ थापासँग विकलको कनेक्सन जोडिएको छ । स्रोतका अनुसार यी तीन पुत्रका अतिरिक्त मुख्यसचिव शंकरदास बैरागी खनालसँग दैनिकजसो द्वारिका होटलमा विकलको कफी, लन्च र डिनर मिटिङ हुँदैआएको छ । यी पुत्रहरुको नाममा एउटा कम्पनी खोलेर टेलिकमका बीसौं करोडका ठेक्का समेत उनीहरुलाई नै सुुनिल पौडेलले सेटिङमा दिने गरेका छन् । पुत्रहरुको कम्पनीलाई ठेक्का दिने सर्तमै सुनिलको नियुक्ति टेलिकममा भएको स्रोतको दाबी छ । स्रोत भन्छ–पुत्रहरुका अतिरिक्त मुख्यसचिव बैरागी र विकलसमेतको ठेक्कामा साझेदारी रहेको छ । अख्तियारले सुनिल पौडेल टेलिकममा नियुक्ति भएपछि ठूला ठेक्काको छानबिन गर्ने हो भने उल्लेखित पात्रहरुको संलग्नाता पुष्टि हुनेछ ।
गएको पुस १० गते पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएपछि विकल पौडेलले बालुवाटारकी शक्तिशाली महिला गंगा दाहालसँग पनि कनेक्सन मिलाइसकेका थिए । शक्तिकेन्द्रलाई रिझाउने अद्भूत कला भएका पौडेलले दाहाललाई पनि प्रभावमा पार्न सफल भएका थिए । यस्ता शक्तिशाली ब्यक्तिहरुलाई साथमा लिएकाले विकल पौडेल यो देशमा आफूलाई कसैले केही गर्न नसक्ने कुरामा ढुक्क थिए । तर अख्तियारले आइतबार उनीबिरुद्ध ६९ करोड बिगो दाबी गर्दै मुद्दा दायर गरेपछि उनी हतप्रभ भएका छन् ।
नीतिगत भ्रष्टाचारबाट अरब कमाइ, दुबईदेखि अमेरिकासम्म अपार्टमेन्ट र बंगला
विकल पौडेल सेक्यु्रिटी प्रेस खरिद, परामर्शदाता छनोटमा मात्र होइन, इम्बोस्ड नम्बर प्लेटको ठेक्कामा समेत मुछिएका छन् । त्यसका अलावा बहुचर्चित ओम्नी घोटालामा पनि उनको नाम मुछिएको थियो । नेपालको सूचना प्रविधिको क्षेत्रमा सेटिङ गर्दै अरबौं भ्रष्टाचारको रकम विकल पौडेलले बिदेश लगिसकेका छन् । पौडेललाई नजिकबाट चिन्नेहरु भन्छन्–अख्तियारले उनलाई मुद्दा दायर गरे पनि उनको संजाल तोड्न सम्भव छैन । यो देशका हाइप्रोफाइलहरुको साथ उनलाई छ । पौडेलसँग भएको अथाह स्रोतबारे जानकारी राख्ने र उनको सेटिङ बुझ्नेहरु भन्छन्–सर्वोच्च अदालतमा परेको मुद्दामा चलखेल गरी अख्तियारका पदाधिकारीसहित संवैधानिक आयोगका पदाधिकारीको नियुक्ति खारेज गर्न न्यायालय नै प्रभावित पार्नसक्छन् ।
विकल पौडेलले नेपालमा भ्रष्टाचार गरी सबै सम्पत्ति विदेशतिर लगिसकेको र उनको अमेरिकी पीआर नै रहेको समाचार सार्वजनिक भइसकेको छ । यद्यपि नेपालका शीर्षनेता र उनीहरुका परिवारसँग कनेक्सन मिलाएर उनी निरन्तर सूचना प्रविधि क्षेत्रको ठेक्कामा सेटिङ गरि नै रहेका छन् ।
उनले नेपालमा भ्रष्टाचार गरी लगेको रकमबाट बिदेशमा खरिद गरेका फ्ल्याट र बंगलाबाट मात्रै मासिक ५० लाख भन्दा बढी भाडा उठाउने गरेका छन् । पौडेलले संयुक्त अरब इमिरेट्सस्थित दुबईको जुमेरामा ६ देखि ७ वटा फ्ल्याट खरिद गरेका छन् । नेपाली ७ करोड पर्ने ती फ्ल्याटबाट मासिक रुपमा ४० लाख भन्दा बढी भाडा उनले लिंदैआएका छन् । दुबईको जुमेरा र बुर्जखलिफा रहेको डाउनटाउन विश्वकै अति महंगो ठाउँमा पर्दछन् । पौडेलले नेपालमा भ्रष्टाचार गरेको रकमबाट अमेरिकामा समेत घर किनेको स्रोत बताउँछ । नेपालका सबैभन्दा ठूला बिचौलियाका रुपमा चिनिएका पौडेलका छेउमा दीपक भट्टहरु पनि फिक्का मानिन्छन् । देशका सबै दलका शीर्षनेता घुमाउन सक्ने पौडेलका बिरुद्ध मुद्दा दर्ता गर्ने अख्तियार प्रमुख प्रेम राईको आँटलाई सबै नेपालीले सराहना गर्नुपर्छ ।
भ्रष्टाचार गरी अकूत सम्पत्ति कमाएका पौडेलले १ लाख ५० हजार मूल्य पर्ने लुई भितोन ब्रान्डको पेटी नै बाँध्ने गरेका छन् । लुई भितोनकै जुत्ता लगाउने गर्दछन् । न्यूनतम २ लाख रुपैयाँ भन्दा कममा लुइस भितोन ब्रान्डको जुत्ता पाइँदैन । उनको सधैं पाँचतारे होटल मेरियट र द्वारिकामा कफी, लन्च र डिनर हुने गर्दछ । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग समेत यस्ता हाइप्रोफाइल भ्रष्टाचार गर्नेको छानबिन गर्नेभन्दा पनि पहुँच नभएका टोले गुण्डाहरुको उजुरीमा समय ब्यतित गर्दैआएको छ ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend