Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • घुस लिने ४ सशस्त्र प्रहरी गणमा तानिए, इन्स्पेक्टरमाथि छानबिन होला ?


    शुक्रबार, फाल्गुन १९ २०७९
    6.6K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • बीरगंज । बीरगंजको शंकराचार्य गेट नजिकै रहेको भन्सार बीओपीमा ड्युटी खटिएका ४ जना सशस्त्र प्रहरीलाई अनियमितताको आरोपमा गणमा छानबिनका लागि तानिएको छ । बिहीबार साँझ बीओपी भन्सारको गेटमा तैनाथ ४ जना सशस्त्र प्रहरीले घुस लिएको सूचना बिहीबार साँझ १३ नम्बर गण पर्साले पाएपछि एसपी सुमन थपलियाले डीएसपी सुमन थापाको टोली अनुगमनका लागि पठाएका थिए ।

    डीएसपी थापाको टोलीले भन्सारमा ड्युटीमा खटिएका सशस्त्र प्रहरीको शरीर खानतलासी गर्दा सूचना अनुसार नै अनियमिततामा संलग्न भएको प्रमाण भेटिएपछि उनीहरुलाई गणमा तानेर छानबिन सुरु गरेको छ । १३ नम्बर गण पर्साले घुसकाण्डमा बीरगंज भन्सार गेटबाट ४ जनालाई तानिएको बिषय मधेश प्रदेश बाहिनी हुँदै सशस्त्र मुख्यालयमा समेत जाहेर गरिसकेको समाचार छ ।

    पर्साको भन्सार बीओपीका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक रविन्द्र भट्ट हुन् । केही महिनाअघि बीओपीको घुसकाण्डको भिडियो नै सार्वजनिक भएपछि उनलाई सशस्त्र मुख्यालयमा छानबिनका लागि तानिएको थियो । तर तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाका पीए भानु देउवाको दबाबमा सशस्त्रका आइजीपी राजु अर्यालले उनलाई १५ दिनमै सोही बीओपीमा फर्काएका थिए । घुसकाण्डको भिडियो नै सार्वजनिक भएको अवस्थामा तानिएका भट्टले आइजीपी अर्यालमाथि दबाब दिएर फर्किएपछि उनले तस्करहरुसँग खुलेआम घुस असुली गर्दै संगठनकै बदनाम गराउँदैआएको आरोप लाग्ने गरेको छ । बीरगंज भन्सार बीओपी सशस्त्रको सबैभन्दा आकर्षक मानिन्छ । भानु देउवाकै दबाबमा भट्टलाई त्यहाँ सरुवा गरिएको थियो ।

    सशस्त्र प्रहरी बलका यी शक्तिशाली इन्स्पेक्टर रविन्द्र भट्टले आइजीपी अर्यालको निर्देशनलाई समेत चुनौती दिंदै दरबन्दी नै नभएका हवल्दार मधु क्षेत्रीलाई घुमुवा राखेका छन् । सशस्त्र प्रहरीले अर्याल आइजीपी हुनासाथ गतबर्ष बाहिनी, गण र बीओपीमा कार्यरत १ सय ३५ जना घुमुवाहरुलाई हटाई बाहिनी, गण र गुल्ममा सरुवा गरेको थियो । देशभरका सबै घुमुवा हटाइसके पनि भट्टले भानु देउवाको आडभरोसामा संगठनलाई नै चुनौती दिंदै मधु क्षेत्रीलाई राखी अनियमितता गर्दैआएका छन् ।

    क्षेत्री काज सरुवा भएको ठाउँमा पनि पनि गएका छैनन् । काजफिर्ता पनि भएको छैन । इन्स्पेक्टर भट्टले उनलाई दरबन्दी नै नभएको र काज फिर्ता पनि नभएको अवस्थामा बीरगंजको भन्सार बीओपीमा राखी तस्करहरुसँग असुलीमा लगाएको आरोप छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार