Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • जगद्गुरू शंकराचार्य काठमाडौंमा, महाशिवरात्री पर्वका प्रमुख पाहुना


    शुक्रबार, फाल्गुन ५ २०७९
    2.2K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं  । उडीसाको पुरीस्थित गोवर्धनमठका शंकराचार्य निश्चलानन्द सरस्वती महाशिवरात्री पर्वका लागि विहीवार काठमाडौं आइपुगेका छन् । पशुपति क्षेत्र विकास कोषको निमन्त्रणामा शिष्य र सहयोगीसहित उनी नेपाल एयरलाइन्सको उडानमार्फत् दिल्लीबाट आइपुगेका हुन् । उनलाई कोषका अधिकारी तथा धर्मानुरागीहरुले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।

    भारतबर्षमा हिन्दु धर्मका सर्बोच्च व्याख्याता एवं संरक्षक मानिने चार शंकराचार्यमध्ये उनी सबैभन्दा बरिष्ठ हुन् । पशुपति क्षेत्रविकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाका अनुसार उनी ८ फागुनसम्म काठमाडौंमा हरनेछन् । शंकराचार्यले शुक्रवार विहान पशुपतिनाथ मन्दिरको दर्शन गर्ने र हिन्दु धर्मका अनुयायीहरुलाई सम्बोधन गर्ने कार्यक्रम छ । सोमवारदेखि पशुपति क्षेत्रमा शुरु भएको लिंगपुराणमा शंकराचार्य सहभागी हुनेछन् ।

    शनिवार महाशिवरात्रीमा उनी प्रमुख पात्रका रुपमा रहन्छन् । ‘महाशिवरात्री पर्वमा कोही पनि प्रमुख अतिथि हुँदैनन् । उहँँको प्रमुख उपस्थिति हुने गरि कार्यक्रम तय भएको छ’ खतिवडाले भने । आइतवार पनि उनले पशुपतिनाथ परिसरस्थित शंकराचार्य मठमा सहभागीहरुलाई सम्बोधन गर्ने र दीक्षा दिने कार्यक्रम छ । शंकराचार्यको मठमा भत्किएको आदि शंकराचार्यको मूर्तिमा प्राणप्रतिष्ठा गराउने कार्यक्रममा पनि उनी सहभागी हुनेछन् । ‘आदि शंकराचार्यको मूर्ति स्थापना भइसकेको छ ।

    जगद्गुरुको उपस्थितिमा मूर्तिको प्राणप्रतिष्ठा गर्ने कार्यक्रम छ’ खतिवडाले भने । शंकराचार्यले विभिन्न विश्वविद्यालयका वैदिक गणितसँग समबन्धित प्राध्यापक एवं विद्यार्थीहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ । ‘बैदिक गणितका उहाँ प्रकाण्ड विद्धान् हुनुहुन्छ । उहाँले बैदिक गणितका विभिन्न आयामका बारेमा व्याख्यान दिनुहुने कार्यक्रमछ’ खतिवडाले भने । शंकराचार्यका लागि कोषले नेपाल–भारत मैत्री पशुपति धर्मशालाको अति विशिष्ठ कक्षमा बस्ने बन्दोबस्त मिलाएको छ । उनीसँगै आउने प्रतिनिधिमण्डललाई धर्मशालाको विशिष्ठ कक्षमा बस्ने व्यवस्था गरिएको खतिवडाले जानकारी दिए । शंकराचार्य निश्चलानन्द सरस्वती आठौं शताब्दिबाट शुरु भएको मानिने जगतगुरु शंकराचार्यका १४५ औं उत्तराधिकारी हुन् ।

    भारतको उत्तराखण्डमा अवस्थित ज्योतिर्मठका शंकराचार्य अभिमुक्तेश्वरानन्द सरस्वतीले उत्तरी क्षेत्र, गुजरात द्वारकामा अवस्थित शारदा पिठका शंकराचार्य सदानन्द सरस्वतीले पश्चिम क्षेत्र र कर्नाटकस्थित श्रृंगेरी मठका शंकराचार्य भारती तीर्थले दक्षिण क्षेत्र हेर्दै आएका छन् । गोवर्धनमठका शंकराचार्य निश्चलानन्द सरस्वतीले भने भारतबर्षको पूर्वी क्षेत्र हेर्दै आएका छन् । नेपाल सांस्कृतिकरुपमा उनको सांस्कृतिक कार्यक्षेत्रमा पर्दछ । शंकराचार्य सरस्वती सोमवार बुद्ध एयरको उडानबाट भारतको वाराणसी प्रस्थान गर्ने कार्यक्रम छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार