Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • निर्वाचन आयोगका शक्तिशाली उपसचिव ज्ञवालीले टोखा नगरपालिका ताके


    बिहिबार, पुष ७ २०७९
    3.3K
    Shares
    Basu Dev Paudel
  • ६ मिनेट पाठ
  • काठमाडौं । निर्वाचन आयोगले निर्वाचन परिणाम राष्ट्रपति र प्रदेश प्रमुखहरुलाई बुझाइसकेको छ । परिणाम बुझाइसकेपछि निर्वाचन आयोगका कर्मचारीहरु पनि फुर्सदिला जस्तै भएका छन् । आयोगमा चुनावको महासंग्राममा लाभ लिन मागी मागी काजमा आएका कर्मचारीहरु अब पुनः आकर्षक कार्यालयमा फर्किने तयारीमा शक्तिकेन्द्र रिझाउन लागेका छन् ।

    यसैक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका विश्वासपात्रका रुपमा आयोगमा ल्याइएका र खरिदको सम्पूर्ण बागडोरको जिम्मा पाएका उपसचिव कमल ज्ञवाली पनि निर्वाचनको मैझारो सकेर पुनः आकर्षक स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत हुने चक्करमा लागेका छन् । उनले काठमाडौंको सबैभन्दा बढी आकर्षक मानिने टोखा नगरपालिका ताकेका छन् । उनले प्रमुख आयुक्त थपलियामार्फत् संघीय मामिला मन्त्रालयका सचिव अर्जुन पोखरेललाई भन्न लगाइसकेका छन् । टोखा नगरपालिका रहेको काठमाडौं ५ बाट पराजीत एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलसँग समेत महेश बस्नेतमार्फत् लबिङ गरिरहेका ज्ञवाली नयाँ सरकार बनिनसक्दै टोखाको प्रमुख प्रशासकीय अधिकृत हुने खेलमा छन् । 

    स्थानीय तथा प्रदेश र प्रतिनिधिसभा दुवै निर्वाचनमा ज्ञवालीले आयोगमा बसी प्रमुख आयुक्तलाई रिझाएर करोडौं कमाइ गरेको आयोगकै कर्मचारी स्रोत बताउँछ । थपलियाका निकट ज्ञवाली सोही कारण अन्य आयुक्तहरुलाई समेत पुछ्दैनथे । आयोगका सहसचिवहरुलाई समेत उनले त्यतिसारो महत्व नदिने गरेको आरोप लाग्दैआएको छ ।

    सबै खरिद प्रक्रियामा संलग्न भएका ज्ञवालीमाथि प्रतिस्पर्धामा ठेक्का लिएकाहरुसँग पनि ुभुक्तानी पश्चात् कम्तीमा २ प्रतिशत कमिसन माग्ने गरेको आरोप छ । ब्यक्तिले संचालन गरेकोग्लोबल प्रेसलाई सरकारी छापाखाना भन्दै जीटुजीको माध्यमबाट विनाप्रतिस्पर्धा करोडौंको काम दिएर लाभ लिने गरेका छन् । उनलाई शाखा अधिकृत विश्वराज दाहालले सहयोग गर्दैआएका छन् । दाहाल आयोगको जिन्सी शाखामा कार्यरत छन् । शाखा अधिकृत पद भए पनि सहसचिवकोजस्तो तुजुक देखाउने दाहाल र ज्ञवालीको जोडीले आयोगमा दुई वटा चुनावमा कति घोटाला गरे, त्यो महालेखा परीक्षक कार्यालयले सफा नियतले लेखापरीक्षण गरेमा भेटिनेछ । ज्ञवाली युवा तथा खेलकुद सचिव सूर्य गौतमका आफन्त पर्दछन् । गौतम र ज्ञवालीले दिदीबहिनी विवाह गरेका हुन् । उनीहरुबीच साथीको जस्तो सम्बन्ध रहिआएको छ । गौतमकै माध्यमबाट थपलियासँग ज्ञवाली निकट हुन पुगेका हुन् । थपलिया र गौतम दुवै संखुवासभाका हुन् । 

    ज्ञवाली सधैं आकर्षक कार्यालयमा, अकूतमा छानबिन कसले गर्ने ? 

    उपसचिव ज्ञवाली सधैं आकर्षक कार्यालयमा बसी तर मार्ने कर्मचारीका रुपमा चिनिन्छन् । प्रमुख आयुक्त दिनेश थपलिया संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव हुँदा ज्ञवाली मध्यपुर थिमीदेखि सूर्यबिनायक नगरपालिकामा कार्यरत रहे । निजामती सेवा ऐन अनुसार २ बर्षमा कर्मचारीको सरुवा हुने गर्दछ । तर सूर्यबिनायक नगरपालिकाबाट कमल ज्ञवालीको सरुवा ३ बर्षमा पनि भएन ।

    आकर्षक बजेट भएका नगरपालिकामा रजगज गर्ने उपसचिवहरूमा १ नम्बरमा ज्ञवाली पर्दछन् । उनी सूर्यविनायकभन्दा पहिला मध्यपुर थिमी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत थिए । थिमीमा हुँदा नगर प्रमुख मदनसुन्दर श्रेष्ठलाई संघीय सरकारका विरुद्ध भड्काउने र उचाल्ने काम उनैले गरेका थिए । संघीय सरकारले भनेको स्थानीय सरकारले मान्नु हुँदैन भनेर मेयरलाई उचाल्ने काम उनैले गरेकाले पछि उक्त नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत र श्रेष्ठबीच ठूलो द्वन्द्व सिर्जना भएको थियो ।

    ज्ञवालीले थिमीमा हुँदा सम्झौता नै नभएका आयोजनलाई पेस्की भुक्तानी दिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परे पनि पछि दिनेश थपलियामार्फत् नै आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई भनेर मिलाउन सफल भएका छन् । थिमीमा उनले धेरै त्यस्ता आयोजनालाई पेस्की भुक्तानी दिएको विषयमा अख्तियारले खोजी गरी मुद्दा चलाउने तयारी गरिसकेपछि एकाएक रोकिन पुगेको स्रोत बताउँछ ।

    सूर्यविनायक नगरपाालिकामा पनि उनले थिमीकै जस्तो मनपरी गरे । भक्तपुरका तत्कालीन सांसद तथा एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतलाई प्रभावमा पारी उनले नगरपालिकाको स्रोतसाधनमा ब्रम्हलुट गर्नुसम्म गरेका थिए । नगरपालिकाको बजेटमा मनपरी गर्दै आएका उनी मूलतः कांग्रेसका निकट उपसचिव हुन् । तर उनलाई एमालेले जितेका नगरपालिकामा चरम स्रोतको दुरुपयोग गर्ने मौका महेश बस्नेतले दिएका छन् । स्रोत भन्छ, महेश बस्नेतको लगानी भएका जग्गामा बाटो नभए पनि सरकारी बजेट हाल्ने काममा उनको भूमिका थियो । त्यही भएकाले उनलाई बस्नेतले संरक्षण गर्दैआए ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ हजार रुपैयाँ घुस लिने सीमा प्रहरी चौकी, लग्मा, जटही धनुषामा कार्यरत प्रहरी नायब निरीक्षक (सई) देवकीलाल चौधरीबिरुद्ध २०७९ पुस ३ गते विशेष अदालतमा मुद्दा दायर गरेको छ । तर सधैं आकर्षक स्थानीय तहमा बस्ने र २ वटा निर्वाचनका क्रममा खरिदको सबै सेटिङ मिलाएर हजार, लाख होइन, करोडौं अकूत सम्पत्ति स्वदेशदेखि विदेशमा लगेर थुपार्र्ने ज्ञवाली प्रवृत्तिलाई भने छानबिनसम्म गर्ने आवश्यकता नठान्नुले कानुन होचाका लागि मात्र लागू हुन्छ भन्ने उक्ति चरितार्थ गरेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार