म्युनिख । साबिकको विजेता बायर्न म्युनिख यो सिजनको जर्मन बुन्डेस लिगाको उपाधितर्फ लम्किएको छ । मंगलबार राति अर्काे उपाधि दाबेदार बोरुसिया डर्टमन्डलाई १–० ले पराजित गर्दै बायर्न लगातार आठौं सिजन बुन्डेस लिगाको उपाधितर्फ अघि बढेको हो । यता, बायर्नसँगको हारले बोरुसिया डर्टमन्डको उपाधि यात्रामा भने धक्का लागेको छ ।
बायर्न सन् २०१३ यता बुन्डेस लिगामा लगातार च्याम्पियन बनेको छ । त्योभन्दा अघिल्लो दुई संस्करणमा डर्टमन्डले बायर्नको दबदबा अन्त्य गरेको थियो । जितसँगै बायर्नले शीर्षस्थानमा ७ अंकको अग्रता लिएको छ । बायर्नको २८ खेलबाट ६४ अंक पुगेको छ । समान खेलबाट डर्टमन्डको ५७ अंक रहेको छ । बुन्डेस लिगामा अब ६ राउन्डको खेल खेल्न बाँकी छ ।
सिग्नल इडुना पार्कमा मंगलबार राति भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफको अन्त्यतिर जोसुवा किम्मिचले गरेको गोल नै बायर्नको जितमा निर्णायक बन्यो । खेलको सुरुवातमै डर्टमन्डले अग्रता लिने अवसर पाएको थियो । बायर्नका गोलरक्षक म्यानुएल नोएर केही अगाडि आएको अवस्थामा डर्टमन्डका युवा स्टार अर्लिङ ब्राउट हालान्डले गरेको फितलो प्रहारलाई डिफेन्डर जेरोम बोटेङले गोललाइनबाट बचाएका थिए । लगत्तै थोर्गन हाजार्डको पासमा हालान्डको प्रहारले पोस्टको दिशा लिन सकेन । १९औं मिनेटमा बायर्नले अग्रता लिनबाट चुक्यो ।
सर्जी जिनाब्रीले किङ्सले कोमानको पासमा सिक्स यार्ड बक्स नजिकबाट गरेको प्रहारलाई डर्टमन्डका कप्तान लुकास पिस्जेकले गोललाइनबाट क्लियर गरिदिए । २४औं मिनेटमा कोमानको शक्तिशाली प्रहारलाई गोलरक्षक रोमन बुर्कीले बचाए पनि रिबाउन्डमा मुलरले भेट्न सकेन । ३४औं मिनेटमा हालान्डले उत्कृष्ट बल नियन्त्रण देखाउँदै पेनाल्टी क्षेत्रभित्र वन भर्सेस वानको अवस्थामा पुगे पनि प्रहार गर्न ढिला गर्दा अल्फोन्सो डेभिसले उत्कृष्ट ट्याकल गर्दै सम्भाविता गोल टारे ।
४०औं मिनेटमा लिओन गोरेट्जकाको झन्डै २५ यार्ड टाढाबाट गरेको शक्तिशाली भली प्रहारलाई गोलरक्षक बुर्कीले विफल पारिदिए । ४३औं मिनेटमा बायर्नले खेलमा अग्रता लिन सफल भयो । किमिचले पेनाल्टी क्षेत्र बाहिरबाट गोलरक्षक पोजिसनमा नरहेको अवस्थालाई नियाल्दै चिप गरेको प्रहार गोलमा परिणत भएको थियो । गोलरक्षक बुर्कीले बल बचाउने प्रयास गरे पनि उनको हातमा लाग्दै बल गोलमा परिणत भएको थियो ।
८१औं मिनेटमा मोहमद दाहुदले पेनाल्टी क्षेत्र बाहिरबाट प्रहार गरेको शक्तिशाली प्रहारलाई गोलरक्षक नोएरले विफल पारे । लगत्तै अर्कतर्फ रोबर्ट लेवान्डोस्कको प्रहार पोस्टमा लाग्दै बाहिरिएको थियो । यस्तै, अर्काे खेलमा वल्फ्सवर्गले बायर लिभर कुसेनलाई ४–१ को फराकिलो अन्तरले पराजित गरेको छ ।
वल्फ्सवर्गको जितमा मारिन पोनग्रासिसले दुई तथा म्याक्सिमिलियन अर्नाेल्ड र रेनाटो स्टेफेनले गोल गरे । घरेलु टोलीका जुलियन बोउगार्टलिंगरले सान्त्वना गाल फर्काए । वल्फ्सवर्गका मारिनले ४३औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पहिलो गोलसँगै हौसिएको वल्फ्सवर्गले दोस्रो हाफमा थप तीन गोल गर्दा एक गोल खान पुगेको थियो । ६४औं मिनेटमा अर्नाेल्डले गोल गर्दै वल्फ्सवर्गको अग्रता दोब्बर पारे । त्यसको ४ मिनेटपछि रेनाटो स्टेफेनले गा्ल गर्दै वल्फ्सवर्गलाई फराकिलो जिततर्फ अग्रसर गराए । ७५औं मिनेटमा मारिन पोनग्रासिसले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै वल्फ्सवर्गलाई ४–० को अग्रता दिलाए । खेल सकिन ५ मिनेट बाँकी रहँदा लिभरकुसानका जुलियनले गोल गरे पनि ४–१ को हार टार्न सकेन ।
जितसँगै वल्फ्सवर्ग २८ खेलबाट ४२ अंक जोडेर छैटांै स्थानमा यथावत रहँदा पराजित लिभरकुसान ५३ अंकसहित पाँचौं स्थानमा यथावत् रहेको छ । बुन्डेस लिगाका अन्य खेलमा फ्रान्कफर्ट र फ्रेइवर्गले ३–३ गोलको तथा वेर्डर ब्रेमेन र बोरुसिया मोन्चेनग्लाडवाचले गोलरहित बराबरी खेल्दै अंक बाँडे । एजेन्सी