पुण्यप्रसाद ढकाल र भोलानाथ पोखरेल
काठमाडौं । उपसचिव बढुवा भएपछि पुण्यप्रसाद ढकालले निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको अध्यक्ष पद छाडेका छन् । उपसचिव बढुवा भएको ३ महिनापछि उनले अध्यक्ष पद छाडेका हुन् । उनले उपाध्यक्ष भोलानाथ पोखरेललाई युनियनको कार्यवाहक अध्यक्ष पद सुम्पिएका छन् ।
निजामती कर्मचारी ऐनमा शाखा अधिकृत तहसम्म मात्र ट्रेड युनियनमा आवद्ध हुन पाउने ब्यवस्था छ । उपसचिवले ट्रेड युनियनको सदस्य नै हुन नपाउने ब्यवस्था ऐनले गरेको छ ।
ढकालको बिदाइपछि उपाध्यक्ष भोलानाथ पोखरेल आधिकारिक ट्रेड युनियन (सीबीए)को कार्यवाहक अध्यक्ष भएका छन् । पोखरेल निजामती कर्मचारी संगठनका पूर्वअध्यक्ष पनि हुन् । उनी सीबीएको अध्यक्ष नै हुने प्रयासमा थिए । तर ढकालले नछाडेपछि उनी उनको उपाध्यक्षमै बस्न तयार भएका थिए ।
ढकाल उपसचिव बढुवा भएपछि कार्यवाहक अध्यक्ष हुनका लागि पोखरेल आशा गरेर बसेका थिए । सीबीएको कार्यकाल सकिनु एक साताअघि उनी कार्यवाहक अध्यक्ष भएका छन् । सीबीएको कार्यकाल यही जेठ १९ मा सकिंदैछ । सरकारले सीबीएको कार्यकाल थप नगरेमा उनी एक हप्ते कार्यवाहक अध्यक्ष हुनेछन् ।
पछिल्ला दिनमा प्रधानमन्त्री केपी शर्मा ओली ट्रेड युनियनका बिषयमा त्यति सकारात्मक नभएकाले सीबीएको कार्यकाल थप हुने कम संभावना रहेको स्रोत बताउँछ ।