काठमाडौं । शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत एक पूर्व सांसदको बिरामी श्रीमतीलाई कोरोना पोजेटिभ देखिएपछि उनलाई भेट्न गएका धेरै जना होम क्वारेन्टाइनमा बसेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल पनि ती सांसदकी श्रीमतीलाई भेट्न गएका थिए । उनमा कोरोना पोजेटिभ देखिएपछि मन्त्री ढकाल पनि ५ दिनदेखि होम क्वारेन्टाइनमा बसेका छन् ।
स्वास्थ्य मन्त्रालयका अधिकारीले भने दैनिक धेरै मान्छेसँग भेटघाट भइरहने भएकाले मन्त्री ढकाल सतर्कता अपनाउँदै स्वास्थ्यको ख्याल गर्दै घरमा बसेको बताएका छन् ।
ती सांसदकी बिरामी श्रीमतीलाई भेट्दा मन्त्री ढकालले पीपीई लगाएका थिए । शुक्रबारदेखि होम क्वारेन्टाइनमा बसेका मन्त्री ढकालको स्वाब मंगलबार बिहान लिइएको छ ।