काठमाडौं, ९ जेठ । विश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण आजसम्म ३ लाख ३४ हजार ६२१ जनाको मृत्यु भइसकेको छ । ५१ लाख ९४ हजार २१० ब्यक्ति संक्रमित भएका छन् । अहिलेसम्म कोरोना भाइरसको भ्याक्सिन वा औषधि तयार गर्न विश्वका अनुसन्धानकर्ताहरु असफल देखिएका छन् ।
अमेरिकाले भ्याक्सिन परीक्षण गरेको समाचारले विश्व जगतमा आशाको संचार भए पनि त्यो सफल भए नभएको जानकारी आएको छैन । फेरि चिनियाँ वैज्ञानिकहरुले कोरोनाको औषधि पत्ता लगाएको दाबी गरेका छन् । चीनको चर्चित र प्रतिष्ठित पेकिङ विश्वविद्यालयका वैज्ञानिकहरुको टीमले उक्त औषधिको परीक्षण गरिरहेको जनाइएको छ ।
विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ विरुद्धको भ्याक्सिन बनाउने तयारी संसारका थुप्रै चिकित्सक र कम्पनीहरु जुटिरहेका बेला चीनमा यो टोलीले भ्याक्सिनको सट्टा औषधि नै तयार पार्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
पेकिङ विश्वविद्यालयका वैज्ञानिकहरुका अनुसार परीक्षण गरिँदै गरिएको यो औषधिले छोटो अवधिमै भाइरसविरुद्व शरिरमा प्रतिरक्षा कायम गर्ने जनाइएको छ । उनीहरुले यो औषधि अन्य जनावरहरुको शरीरमा परीक्षण गरिरहेका छन् । विश्वविद्यालयका निर्देशक सुन्ने शीले भनेका छन्, ‘जनावरमा परीक्षण गरिएको यस औषधीले निकै छोटो समयमा प्रभाव देखाएको छ । औषधि जनावरमा सफल भएको छ ।’
निर्देशक शीले कोरोना संक्रमित मुसामा औषधिको परीक्षण गरिरहेको बताए । उनले यो औषधि मुसामा प्रयोग गर्दा पाँच दिनमै भाइरस शून्य स्थितिमा देखिएको जानकारी दिए । उनका अनुसार यो औषधिले कोशिकालाई संक्रमित हुनबाट जोगाउन मानव शरिरमा प्रतिरक्षा प्रणालीद्वारा तयार गरिएको न्यूट्लाइजिङ्ग एन्टीबडीको प्रयोग गर्दछ ।
निर्देशक शीले यो वर्षको अन्त सम्ममा औषधि तयार हुनसक्ने बताएका छन् । उक्त अध्ययन परीक्षणबारे आइतबार साइन्टिफिक जर्नलमा लेख समेत प्रकाशित भएको छ । चीनको यो दाबी पनि अमेरिकाको जस्तो अन्योलमा पार्ने खालको नहोस् भन्ने कामना कोरोनाको जोखिममा रहेको सिंगो मानवजातिले गरेको छ । एजेन्सी