काठमाडौं, २७ बैशाख । सरकारले जारी गरेको लकडाउनयता बन्द रहेका सरकारी कार्यालय भोलिदेखि सुचारु हुने भएका छन् ।
बुधबारको मन्त्रिपरिषद बैठकले बढीमा एक चौथाइ कर्मचारीहरुमार्फत् सेवा प्रवाह गर्ने निर्णय गरेसँगै सरकारी कार्यालयहरुले आइतबारदेखि नियमित काममा हाजिर हुन आफ्ना कर्मचारीहरुलाई निर्देशन दिएका छन् । आर्थिक बर्ष परिवर्तनसँगै सरकारी कार्यालयमा कामको चाप बढ्ने गर्दछ । तर कोरोना महामारीका कारण सरकारले लकडाउन घोषणा गरेकाले सरकारी कार्यालय बन्द छन् । स्वास्थ्यकर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी अग्रमोर्चामा रहेर उपचार गर्न र लकडाउनको पालना गराउँदैआएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार मन्त्रिपरिषद बैठकले सार्वजनिक सेवा सम्बन्धमा चार बुँदामा निर्णय गरेको छः
१. बैंक तथा वित्तीय संस्था, बिमा, धितोपत्र, सहकारीमार्फत् अत्यावश्यकीय सेवा प्रवाह गर्नुपर्ने कार्यका लागि आवश्यक पर्ने कर्मचारीमध्ये एक तिहाइ कर्मचारीद्वारा सेवा सञ्चालन गर्ने ।
२. अत्यावश्यकीय सेवा प्रदान गर्ने सरकारी कार्यालय तथा सार्वजनिक संस्थाहरुमा आवश्यक तोकिएका स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको अनुशरण गरी सञ्चालन गर्ने ।
३०. सार्वजनिक सेवा संचालन गर्ने प्रयोजनका लागि उपत्यकाभित्रका सार्वजनिक निकायका हकमा सम्बन्धित मन्त्रालयको सचिव र अन्य निकायहरुको हकमा सम्बन्धित निकायको प्रमुखको सिफारिसमा नियामक निकायले त्यस्ता कार्यालयमा रहेका कूल सवारी साधनहरुमध्ये एक चौथाइ संख्यामा नबढ्ने गरी सवारी पास उपलबध गराउने ।
४. उपत्यका बाहिरको हकमा सम्बन्धित कार्यालय प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीले सावधानीपूर्वक सकेसम्म न्यूनतम् सवारी साधन सञ्चालन हुने नीति लिई सवारी पास उपलब्ध गराउने ।