Nepal Face
  • बुधबार, ७ असोज २०८३
  • जेष्ठ नागरिक कोषमा अनियमितता, हेलो सरकारमा उजुरी गर्दा पनि छानबिन भएन


    बुधबार, असोज ७ २०८३
    115
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । बेथिति, विसङ्गतिको पर्याय बन्दै गएको समाज कल्याण परिषद् अन्तर्गतको जेष्ठ नागरिक कोषमा सभापति देवीप्रसाद सुवेदी र सदस्य सचिव गोपाल महतो कुशवाहले अर्को काण्ड मच्चाएका छन् ।

    गत आर्थिक बर्षको अन्तिम चौमासिकमा जेष्ठ नागरिकको क्षेत्रमा कार्यरत संघ संस्थाको विवरण, लाभग्राहीको संख्या आदि समेटेर प्रतिवेदन बनाउने क्रममा उक्त काण्ड मच्चिएको हो ।

    देशका सातै प्रदेशमा लगत संकलन गर्न गणक खटिएका थिए । उक्त प्रक्रियामा कोटेसनको सामान्य नियम पनि पालन गरिएन । सुदूरपश्चिममा बालकृष्ण थापा, कर्णालीमा रमेश सुवेदी, लुम्बिनीमा मुकुन्द पौडेल, गण्डकीमा राजु थापा, बागमतीमा कोषकै बोर्ड सदस्य सावित्री न्यौपाने एवं मधेस प्रदेश र कोशीमा कोषका सदस्य सचिव गोपाल महतो खटिएका थिए । अन्य गणकले तोकिएको कार्यक्षेत्रमा गई टिओआर बमोजिमको कार्यसम्पन्न गरे पनि सदस्य सचिव गोपालले भने काठमाडौंमा नै बसेर कपोलकल्पित विवरण बनाई प्रतिवेदन बुझाएका थिए ।

    प्रतिवेदन तयार भएपछि प्रत्येक गणकको नाममा ९७ हजार १ सय रुपैयाँको चेक बनाउने काम भयो । उक्त चेकहरु कुनै पनि गणकलाई थाहै नदिई गोपाल महतो आफैंले साटे । त्यसपछि सभापति सुवेदीले मन्त्रालयमा ४० प्रतिशत नबुझाए प्रतिवेदन स्वीकृत नहुने भयो भन्ने बहानामा गणकहरुलाई १५–२० हजार मात्रै दिएर टारेको बुझिएको छ ।

    मधेस प्रदेश र कोशीमा खटिएका जेष्ठ नागरिक कोषका सदस्य सचिव गोपाल महतोसँग फिल्डमा जाँदै नगई काठमाडौंमै बसेर तपाईले प्रतिवेदन बनाउनुभएको हो भन्ने प्रश्नमा उनले भने–‘म धनकुटा, तेह्रथुमसहित २–३ वटा जिल्लामा गएँ । सबै जिल्लामा जान सम्भव थिएन, समय थिएन हामीसँग । अरु जिल्लाका स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षहरुसँग फोन र मोवाइल नम्बर लिएर, अनलाइनबाट बुझेर प्रतिवेदन तयार गरिएको हो ।’

    कुशवाहले भने–‘सातै प्रदेशमा गणक खटाइएको हो, म कोशीमा खटिएको थिएँ । मधेश प्रदेशमा अर्को एकजना भाइ खटिनुभएको थियो ।’

    त्यसैगरी होटल खर्च, यातायात, तथ्याङ्क प्रशोधन आदिमा नक्कली विल भौचर बनाई बजेट खर्च गरिएको छ । सरकारी कोषको करिब ११ लाख सभापति सुवेदी र सदस्य सचिव महतोले मनमौजी ढंगले दुरुपयोग गरेका छन् । राज्यकोष दुरुपयोग भएको र गणक ठगिएको विषयमा हेलो सरकारमा उजुरी गर्दा पनि सुनुवाइ नभएको बुझिएको छ ।

    पछिल्लो समय रसुवा बाढीपीडितको नाममा पनि सभापति सुवेदी र सचिव महतोले विभिन्न एनजीओ आइएनजीओ र वित्तीय संस्थाहरुबाट रकम संकलन गरिरहेको आरोप छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार