Nepal Face
  • सोमबार, ५ असोज २०८३
  • खोज, उद्धार र राहतमा कुनै कसर बाँकी नराख्न सरकारलाई रास्वपाको निर्देशन


    आइतबार, असोज ४ २०८३
    195
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले भोटेकोसी बाढीपछिको राहत, उद्धार, पुनर्निर्माण तथा पुनर्स्थापनाको कामलाई थप प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको छ।

    आइतबार रास्वपा केन्द्रीय कार्यालय चःमतिमा बसेको सचिवालय बैठकले खोज, उद्धार र राहतमा कुनै कसर बाँकी नराख्ने निर्देशन दिएको प्रवक्ता जगदीश खरेलले बताए। ‘विपद्पछिको राहत तथा पुनर्स्थापनामा कुनै पनि कसर बाँकी नराख्न पार्टीले आग्रह गरेको छ,’ खरेलले भने।

    सचिवालय बैठकमा सरकारका प्रतिनिधिले बाढीपछिको खोज, उद्धार र राहतको विषयमा ‘ब्रिफिङ’ गरेका थिए। उद्धार तथा राहतको काम प्रभावकारी रूपमा अघि बढिरहेको र पुनर्निर्माण तथा पुनर्स्थापनाको कामसमेत समानान्तर रुपमा अघि बढाइएको जानकारी बैठकमा गराइएको प्रवक्ता खरेलले बताए।

    ‘बैठकमा विपद्पछिको खोज, उद्धार र राहतमा कसरी काम भइरहेको छ भनेर सकारका प्रतिनिधिका रुपमा सचिवालय सदस्यबाट ब्रिफिङ भएको छ,’ उनले भने, ‘उहाँहरूले खोजी, उद्धार तथा राहतको काम प्रभावकारी ढंगले अगाडि बढेको र अझै पनि जारी रहेको तथा पुनर्निमाण र पुनर्स्थापनाको काम समेत सँगसँगै भइरहेको जानकारी दिनुभएको छ।’

    बैठकले पहिचान हुन नसकेका शवको डीएनए परीक्षण यथाशीघ्र गरी पीडित परिवारलाई राहत उपलब्ध गराउनुपर्नेमा जोड दिएको पनि उनले बताए। अझै सम्पर्कविहीन नागरिकको अवस्था तत्काल यकीन गर्नुपर्ने तथा कानुनी अवरोध भए आवश्यक कानुनी व्यवस्था गरेर परिवारको सहमतिमा सहजीकरण गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको खरेलले बताए।

    ‘पहिचान हुन नसकेका शवको डीएनए परीक्षण छिटोभन्दा छिटो हुनुपर्‍यो र पीडित परिवारलाई राहत दिनुपर्‍यो भन्ने कुरा नै मुख्य रुपमा रहेको छ,’ खरेलले भने, ‘यसमा कुनै कानुनहरू अवरोध छन् भने कानुन बनाएर भए पनि डिक्लेयर गर्ने कुरामा परिवारको सहमतिमा सहजिकरण गर्ने कुरा भएको छ।’

    गत भदौ १० मा आएको भोटेकोसी बाढीपछि स्थगित गरिएका रास्वपाका गतिविधिहरू समेत आजैदेखि पुनः सञ्चालन गर्ने निर्णय समेत बैठकले गरेको खरेलले जानकारी दिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार