चितवन । विपदमा परेका नेपालीको पीडामा साथ दिँदै आएका चितवनका आकाश बन्जाराले भोटेकोशी बाढीपीडितका लागि सरकारको राहत कोषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका छन् ।
हङकङमा व्यवसाय गर्दै आएका बन्जाराले राहत तथा उद्धारका लागि एनआरएनए हङकङलाई थप ५ हजार हङकङ डलर सहयोग गरेका हुन् ।
चितवनको कालिका नगरपालिका–६ स्थायी घर भएका बन्जारा विगत एक दशकदेखि हङकङमा व्यवसाय गर्दै आएका छन्। व्यवसायसँगै सामाजिक सेवामा सक्रिय उनले नेपालमा आउने प्राकृतिक विपद, आर्थिक अभावमा रहेका परिवार, बिरामी, विद्यार्थी तथा शैक्षिक संस्थालाई निरन्तर सहयोग गर्दै आएका छन् ।
गोरखामा जन्मिएर चितवनमा हुर्किएका बन्जाराले आफ्नो बाल्यकाल र संघर्षका दिनमा भोगेको अभाव तथा विभिन्न विपद्का घटनाले सामाजिक सेवामा लाग्न प्रेरणा दिएको बताउँदै आएका छन् । आफूले भोगेको दुःख अरूले भोग्न नपरोस् भन्ने भावनाले सहयोग गर्न प्रेरित गर्छ’ उनको भनाइ छ ।
‘मलाई मेरो नाम र फेमको कुनै जरुरत छैन । मैले सहयोग गर्नुको मुख्य उद्देश्य मेरा साथीहरूले पनि देशको दुःखमा साथ दिऊन् भन्ने हो । मैले गरेको देखेर अरू साथीहरू पनि सहयोग गर्न प्रेरित होऊन्, यही मेरो उद्देश्य हो’ बन्जाराले भने ।
उनका अनुसार अहिले देश अप्ठ्यारो अवस्थामा छ । विपदको समयमा सरकार, संघसंस्था र सुरक्षाकर्मीले मात्रै सबै जिम्मेवारी पूरा गर्न कठिन हुने भएकाले विदेश तथा स्वदेशमा रहेका हरेक नेपालीले आफ्नो क्षमताअनुसार सहयोग गर्न आवश्यक छ ।
‘सानो होस् वा ठूलो, सहयोगको मूल्य हुन्छ । रकम ठूलो हुनुपर्छ भन्ने छैन, मन ठूलो हुनुपर्छ । अहिले पीडित परिवारलाई हाम्रो साथ र सहयोगको आवश्यकता छ’ उनले भने ।
विपदका पीडितदेखि विद्यार्थी र बिरामीसम्मलाई सहयोग
बन्जाराले विगतमा सिन्धुपाल्चोकका पहिरोपीडित, पोखराका अनाथ बालबालिका, बाढीपीडित परिवार, ब्लड क्यान्सरका बिरामी तथा उपचारको अभावमा रहेका बालबालिकालाई आर्थिक सहयोग गरेका छन् ।
चितवनका अनाथ बालबालिका तथा चेपाङ बस्तीका परिवारलाई खाद्यान्न सहयोग गर्नुका साथै कोरोना महामारीको सुरुवाती समयमा हङकङमा रहेका नेपालीलाई ३ लाख थानभन्दा बढी मास्क सहयोग गरेका थिए ।
शिक्षाको क्षेत्रमा समेत उनको सहयोग निरन्तर रहँदै आएको छ । कालिका नगरपालिका–६ स्थित श्री माध्यमिक विद्यालय, रेडक्रसग्रामलाई करिब १ लाख ५० हजार रुपैयाँ बराबरको कम्प्युटर, रत्ननगर–१५ माधवपुरस्थित आधारभूत विद्यालयलाई १ लाख ११ हजार १५१ रुपैयाँ बराबरको सहयोग तथा रत्ननगरकै मस्जिदमा अध्ययनरत विद्यार्थीका लागि कम्प्युटर सहयोग गरेका छन् ।
त्यस्तै, गोरखाको महेन्द्र माध्यमिक विद्यालयमा पाँच थान पानी फिल्टर सहयोग गर्नुका साथै चितवन र गोरखाका विभिन्न विद्यालयका विद्यार्थीलाई न्यानो कपडासमेत वितरण गर्दै आएका छन्। बन्जाराका लागि यो सहयोग रकमभन्दा पनि सहयोगको संस्कार विकास गर्ने अभियान हो । आफूले गरेको सहयोगको प्रचार गरेर व्यक्तिगत चर्चा कमाउने कुनै इच्छा नरहेको उनी बताउँछन् ।
१३ बालबालिकाको पढाइ खर्चसमेत व्यहोर्दै
बन्जाराले गोरखा, चितवनलगायत विभिन्न जिल्लाका १३ जना बालबालिकाको सम्पूर्ण अध्ययन खर्च सहयोग गर्दै आएका छन् । विपन्न तथा असहाय बालबालिकाको शिक्षामा सहयोग गर्नु आफ्नो सामाजिक दायित्व भएको उनको भनाइ छ ।
हङकङमा ह्याण्डिक्राफ्ट व्यवसाय गर्दै आएका बन्जाराले ताइवान, भियतनाम, हङकङ र चीनलाई मुख्य बजार बनाएर व्यवसाय विस्तार गरेका छन् । नेपालका काठमाडौं, भारतको कलकत्तालगायत विभिन्न स्थानमा कार्यालयमार्फत १५० भन्दा बढीलाई प्रत्यक्ष रोजगारी समेत प्रदान गर्दै आएका छन् ।
व्यवसायबाट प्राप्त आम्दानीको केही हिस्सा सामाजिक सेवामा खर्च गर्दै आएका बन्जारा विपद्का बेला आर्थिक सहयोग गर्ने व्यक्तिका रूपमा समेत परिचित छन् ।
भोटेकोशी बाढीले ठूलो जनधनको क्षति पुर्याइरहेको अवस्थामा उनले गरेको पछिल्लो सहयोगले पीडित परिवारको राहत तथा उद्धारमा केही योगदान पुग्ने अपेक्षा गरिएको छ। विपद्को घडीमा विदेशमा रहेर पनि मातृभूमिका पीडित नागरिकलाई सहयोग गर्ने बन्जाराको पहललाई सामाजिक क्षेत्रमा सकारात्मक उदाहरणका रूपमा हेरिएको छ ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आफ्नो वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको जनाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend