Nepal Face
  • बुधबार, ३ भाद्र २०८३
  • प्रहरीमा हाकिमले सरुवा हुँदा सँगै लान्छन् रोजेर घुमुवा, पर्सामा विवादित शाह र खड्कालाई जिम्मा


    बुधबार, भाद्र ३ २०८३
    4.3K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीले इलाका, जिल्ला र प्रदेशमा सरुवा गरेका इन्चार्जहरुले सम्बन्धित कार्यालयमा कार्यरत प्रहरीलाई नै कार्यक्षेत्रमा परिचालन गर्नुपर्नेमा आफूसँगै आफ्नानिकट प्रहरीलाई पनि लिएर जाने गरेका छन् । सम्बन्धित कार्यालयका प्रहरीलाई नै काममा परिचालन नगरी रोजेर प्रहरी लाने क्रम रोकिन सकेको छैन । इलाका, जिल्ला वा प्रदेशको इन्चार्जको रुपमा खटिएकाहरुले आफूसँगै प्रहरी लाने र घुमुवाका रुपमा अतिरिक्त कमाइका लागि परिचालन गर्ने गरेका घटना बारम्बार समाचारका रुपमा आउने गर्दछन् ।

    मधेश प्रदेशका यसअघिका डीआईजी गोविन्द थपलियाले आफू सरुवा हुँदा सँगै बरिष्ठ सई गोपाल थापा मगरलाई घुमुवाका रुपमा लगेका थिए । थापामगरलाई सादा पोशाकमा परिचालन गरी ८ वटै जिल्लामा खटाउँदा असुली प्रकरणमा डीआईजी थपलिया विवादमा पनि परेका थिए ।

    यसैक्रममा गएको १३ साउनमा जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखमा काजसरुवा भएका एसपी पवन भट्टराईले आफूसँगै काठमाडौंस्थित नगर प्रहरीमा कार्यरत इन्स्पेक्टर आशुतोषबहादुर शाहीलाई लगेका छन् । नेपाल प्रहरीमा एउटै जिल्लामा दुईपटक पोष्टिङ नहुने प्रावधान छ । तर इन्स्पेक्टर शाहीको हकमा त्यो लागू हुन सकेको छैन । शाही यसअघि वडा प्रहरी कार्यालय श्रीपुरको इन्चार्ज थिए । अहिले एसपी भट्टराईले शाहलाई सिभिल टोली (घुमुवा)को इन्चार्जका रुपमा खटाउनेगरी पर्सामा आफूसँगै लगेका छन् । शाहीलाई सिंगल काजमा लगिएको छ । नगर प्रहरीमा एसपी भट्ट्राई इन्स्पेक्टर हुँदा शाही सई थिए । त्यो बेलादेखिको उनीहरुको निकट सम्बन्ध रहिआएको छ ।

    तत्कालीन महानगरीय अपराध महाशाखा(हाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय) मा सईमा कार्यरत रहँदा आशुतोष शाहीले दरबारमार्गको एलिस रेष्टुरेन्टमा २०७५ भदौ २ गते मदिरा र खाना खाएर बिलको रकम माग्दा धम्की दिएको आरोप लागेको थियो । बिलको रकम माग गर्दा शाहीले बबाल गरेपछि आइजीपी सचिवालयमा गुनासो पुगेको थियो । महाशाखाले उनलाई रेस्क्यु गरी मापसे चेक गराएर घरमा लगेर छाडेको थियो । नुवाकोट ट्राफिकको प्रमुख हुँदा विवादमा परी उनले नसिहत नै पाएका थिए ।

    त्यसैगरी, वडा प्रहरी कार्यालय श्रीपुरका लेखापाल(सई) राजनबहादुर खड्का पनि एसपी भट्टराईको घुमुवाका रुपमा ब्यापारीसँग डिल गर्न परिचालित भएका छन् । सादा पोशाकमा खटिने गरेका खड्काले एसपी भट्टराईको नाम लिएर ब्यापारी र भन्सारछली गर्नेहरुलाई थर्काउने र मिलाउने काम गर्दैआएको आरोप छ । खड्काको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत रहँदा ठमेलमा ब्यापारी कुटेको भिडियो बाहिरिएपछि विवादमा परेका थिए ।

    ब्यापारी कुटेको भिडियो नै सार्वजनिक भएपछि खड्कालाई चितवन सरुवा गरिएको थियो । अपराध अनुसन्धान कार्यालय(तत्कालीन महानगरीय अपराध महाशाखा)मा हुँदा उनी मिटरब्याजी र हुन्डी कारोबारीसँग कनेक्सन भएको आरोप लागेका सई खड्का तोकिएको लेखापालको काम नगरी सादा पोशाकमा घुमुवाका रुपमा परिचालित छन् । लेखापालको काम नगरी बीरगंजका ब्यापारी भेट्ने, खानपिन गराउने र डिल गर्ने काममा सई खड्का तल्लीन रहने गरेको आरोप छ ।

    यसअघि कोमल शाह एसपी हुँदा छपकैया चौकीको इन्चार्ज भइसकेका सई राजन खड्काले माथिको आडमा गरेका क्रियाकलापका कारण पर्सा जिल्ला प्रहरी कार्यालयका सिनियर र जुनियर अधिकृत नै रुष्ट छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार