Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सिंहदरबार बैद्यखानामा डा. केसीको रजगज, नरदेवी अस्पतालको प्रमुख हुन लिगलिगे दौड


    मंगलबार, जेष्ठ ५ २०८३
    1.5K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । सिंहदरबार बैद्यखाना विकास समितिको कार्यकारी निर्देशक राजनीतिक नियुक्ति गरिने पद हो । तर, विगत २ बर्षदेखि समितिको कार्यकारी निर्देशक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ११ औं तहका कर्मचारी डा. प्रदीप केसी छन् ।

    मन्त्रालयमा विगतदेखि नै आयुर्वेदका विशेषज्ञ चिकित्सकलाई कार्यकारी निर्देशक नियुक्ति बनाउने गरिएको थियो । केसी आयुर्वेदका विशेषज्ञ होइनन् । चीनबाट अकुपंचरमा विशेषज्ञता हासिल गरेका केसीलाई तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आयुर्वेद तथा बैकल्पिक चिकित्सा बिभागको महानिर्देशकबाट सिंहदरबार बैद्यखानाको कार्यकारी निर्देशकमा पठाएका थिए ।

    उनलाई आयुर्वेद औषधिको ज्ञान कम छ । आयुर्वेदिक औषधिको ज्ञान भएका बिशेषज्ञ चिकित्सक थुप्रै छन् । तर अकुपंचर विशेषज्ञलाई बैद्यखानाको प्रमुख बनाइएको छ । विगतमा स्वास्थ्य मन्त्रालयका कर्मचारीलाई बैद्यखानाको कार्यकारी निर्देशकको जिम्मेवारी कमैमात्र दिने गरिएको थियो ।

    तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले डा. प्रदीप केसी बरिष्ठ भएकाले आयुर्वेद बिभागको महानिर्देशक, नरदेवी आयुर्वेद अस्पताल वा आयुर्वेद अनुसन्धान केन्द्र कीर्तिपुर पठाउनुपर्ने भएपछि त्यहाँ जुनियरलाई पठाउन सिंहदरबार बैद्यखानामा पठाएका थिए । बस्नेतपछि मन्त्रीका रुपमा आएका प्रदीप पौडेल र डा. सुधा गौतमले समेत उनलाई यथावत नै राखे । चलाएनन् । रास्वपाबाट स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री भएकी निशा मेहताले पनि केसीलाई नै निरन्तरता दिएकी छन् । केसीको दरबन्दी आयुर्वेद तथा बैकल्पिक चिकित्सा बिभागमा छ ।

    आयुर्वेद तथा चिकित्सा बिभागको महानिर्देशक हुँँदा केसीले वैद्यखाना चलाउन सक्ने अवस्था नरहेको भाषण गरेका केसीले बैद्यखानाको कार्यकारी निर्देशक भएपछि औषधि उत्पादनका लागि कच्चा पदार्थ खरिद गर्दा टेण्डर नगरी अपारदर्शी रुपमा सिधै खरिद गरेको आरोप छ ।

    औषधि बिक्री गर्दा समेत प्रतिस्पर्धाबाट नगरी सिधै दिने गरिएको छ । स्रोत भन्छ, केसीले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटालाई खुसी पारी सिंहदरबार बैद्यखानाको औषधिको लागि कच्चा पदार्थ खरिद र उत्पादित औषधि बिक्री विना प्रतिस्पर्धा गर्दैआएका छन् । सचिव देवकोटा र जेनजी आन्दोलनपछि मन्त्री भएकी सुधा गौतमलाई समेत खुसी पारी केसीले बैद्यखानाको औषधिको कच्चा पदार्थ खरिददेखि बिक्रीमा लाभ लिने गरेको आरोप छ ।

    प्रधानमन्त्री वालेन्द्र शाहका पिता स्व. रामनारायण साह सिंहदरबार बैद्यखाना बिकास समितिको प्रमुख थिए । पिता प्रमुख भएको बैद्यखानालाई उनले महत्त्व दिने अपेक्षा गरिएको थियो । प्रधानमन्त्री शाहले काठमाडौं महानगरको मेयर हुँदा सिंहदरबार बैद्यखानाको संचालन राम्रोसँग हुन नसकेकोबारेमा सामाजिक संजालमा लेखेका पनि थिए । तर उनी प्रधानमन्त्री भएपछि आयुर्वेद चिकित्सालाई महत्व दिने र बैद्यखानाको पुनर्संरचना गर्ने कुरा हराएको छ ।

    यसैबीच, मोहन बस्नेतदेखि डा. सुधा गौतमले पनि आयुर्वेद तथा बैकल्पिक चिकित्सा बिभागको महानिर्देशकमा १० औं तहका कनिष्ट डा. श्यामबाबु यादवलाई नै राखी बरिष्ठ चिकित्सकहरुमाथि अन्याय गरेका थिए । तर अहिलेकी स्वास्थ्य मन्त्री निशा मेहताले बरिष्ठ आयुर्वेद चिकित्सक बासुदेव उपाध्यायलाई आयुर्वेद बिभागको महानिर्देशकको जिम्मा दिएकी छन् । शुक्रबारमात्रै उनलाई बिभागको महानिर्देशकको जिम्मा दिइएको छ ।

    हाल बासुदेव उपाध्याय नरदेवी आयुर्वेद अस्पतालको निर्देशकका रुपमा कार्यरत छन् । उनी बिभागमा सरुवा भए पनि हाजिर भइसकेका छैनन् । उपाध्याय बिभागको महानिर्देशकमा सरुवा भएपछि नरदेवी आयुर्वेद अस्पतालको निर्देशक हुनका लागि डा. रामकामेश्वर ठाकुर, डा. जया सत्याल, डा. काशी खतिवडा, डा. झुलाराम अधिकारीहरु आफूहरु बरिष्ट भएको भन्दै मन्त्रालय धाउने क्रम सुरु गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार