Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल पक्षले पार्टी कमिटी ब्युँताउने


    शुक्रबार, चैत्र ६ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं। नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले पार्टीका सबै कमिटी र संगठन ब्युँताउने भएको छ। उक्त पक्षको बिहीबार सकिएको दुईदिने राष्ट्रिय कार्यकर्ता भेलाले माओवादी केन्द्रसँगको एकतापूर्वको पार्टी कमिटी ब्युँताएर अघि बढ्ने निर्णय गरेको हो।

    भेलाले १७ बुँदे घोषणापत्र जारी गर्दै फागुन २८ गते पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आफू पक्षधर केन्द्रीय कमिटीका सबै निर्णय रद्द गर्न माग गरेको छ। वरिष्ठ नेता नेपालले भेलालाई सम्बोधन गर्दै आफू पार्टी विभाजनको पक्षमा नरहेको बताएका थिए। ‘मुन्ट्याएरै निकाल्न खोजेछन् भने पनि अन्तिम दमसम्म लड्छौं’, नेता नेपालले भने। स्थानीय जनप्रतिनिधिलाई पनि कारबाहीको धम्की दिइएको नेपालले बताए। उनले भने, ‘हटाउने हो भने हामीलाई हटाएर देखाऊन्। हामी तयार छौं।’

    उपमहासचिव घनश्याम भुसालले जनसंगठन र पार्टी कमिटी जेठ २ पूर्वकै अवस्थामा फर्काइने घोषणा गरे। ‘पार्टीका धेरै कमिटीमा हाम्रै साथीहरू हुनुहुन्छ। हामी आधिकारिक हौं, उनीहरू (ओली पक्ष) समानान्तर हुन, गुटबन्दी हुन’, नेता भुसालले भने।

    एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते एकता भएको थियो। अदालतको आदेशपछि पार्टीका सबै कमिटी, सम्बद्ध जनसंगठन र पेसागत संगठनलगायत सबै संरचना माओवादी केन्द्रसँगको एकीकरणपूर्वको स्थितिबाट विधिसम्मत सञ्चालन र क्रियाशील तुल्याउनु कानुनसम्मत र पद्धतिसम्मत हुने भेलाको निष्कर्ष छ।

    ‘पार्टीलाई विधान, विधि र पद्धतिअनुरूप सञ्चालन गरेर मात्र नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाउन सकिन्छ’, घोषणापत्रमा लेखिएको छ, ‘यसलाई क्षतविक्षत तुल्याउँदै राष्ट्रिय स्वाधीनतालाई समेत कमजोर बनाउने सबै प्रकारका षडयन्त्रलाई विफल गर्दै नेकपा (एमाले)लाई एकताबद्ध र सुदृढ बनाउन सकिन्छ।’ सचिव योगेश भट्टराईले जेठ २ पूर्वका कमिटीमाथि प्रधानमन्त्री ओलीले षड्यन्त्र गरिरहेको आरोप लगाउँदै त्यसलाई मान्यता नदिने बताए।

    भेलाले एमालेको एकता जोगाउन अध्यक्ष ओलीले फागुन २८ गते एकपक्षीय रूपमा गरेका केन्द्रीय कमिटीका निर्णय रद्द गर्नुपर्ने निष्कर्ष निकालेको छ। नेपाल–खनाल पक्षलाई जानकारी नदिई महासचिवबाहेक पार्टीका अरू पदाधिकारी हटाउने, नेताहरूको जिम्मेवारी हेरफेर गर्ने र माओवादी केन्द्रमा नफर्केका नेताहरूलाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने निर्णय भएको थियो।

    ‘यसप्रकारको कार्य सर्वोच्च अदालतको फैसलाको मर्मविपरीत तथा नेकपा (एमाले) को एकतामा भाँजो हाली पार्टीलाई विभाजन गर्दै अन्ततः नेपालको कम्युनिस्ट आन्दोलनलाई कमजोर तुल्याउने र विसर्जन गर्नेतर्फ परिलक्षित रहेको छर्लंगै छ’, घोषणापत्रमा लेखिएको छ, ‘अतः पार्टी विधान, पद्धति र नेकपा (एमाले)को सिद्धान्त, नीति र अभ्यासविपरीत अध्यक्ष पदमा रहनुभएका केपी शर्मा ओलीको तर्फबाट भएका कथित निर्णय र कामलाई यो भेला पूर्णतः अस्वीकार गर्दछ।’ फागुन २८ गतेका निर्णय सच्याएर स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक बोलाउन भेलाले पार्टी अध्यक्ष ओलीसँग आग्रह गरेको छ।

    एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता भंग गर्ने सर्वोच्च अदालतको निर्णयप्रति भेलाले असहमति जनाएको छ। एकीकृत, सशक्त र सुदृढ कम्युनिस्ट पार्टी निर्माण गर्ने उद्देश्यसाथ गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई षड्यन्त्रमूलक किसिमले छिन्नभिन्न पारिएको भेलाको निष्कर्ष छ।

    ‘नेकपा (एमाले) लाई समेत फुटाई नेपालको कम्युनिस्ट आन्दोलनलाई समाप्त गर्ने र नेपालको राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, अखण्डता र स्वाभिमानलाई नै कमजोर तुल्याउने देशी, विदेशी प्रतिक्रियावादीको षड्यन्त्रको भत्र्सना गर्दै’, घोषणापत्रमा लेखिएको छ, ‘त्यस्तो षड्यन्त्रलाई विफल तुल्याई राष्ट्रको अस्मिता तथा कम्युनिस्ट आन्दोलनको भविष्य सुरक्षित गर्न एकता र दृढतासाथ अग्रसर हुन नेकपा (एमाले) पार्टी पंक्तिका साथै सम्पूर्ण देशभक्त तथा वामपन्थी शक्तिलाई यो भेला हार्दिक आह्वान  गर्दछ।’  

    ओलीको गुटबन्दीबाट भएका र हुन सक्ने पार्टी विधान, पार्टी एकता र राष्ट्रिय हित प्रतिकूलका कुनै पनि काम कारबाहीविरुद्ध दृढतासाथ अग्रसर हुन भेलाले आह्वान गरेको छ। भेलामा उपस्थित नहुन प्रधानमन्त्रीबाट धम्की दिइएको र त्यसलाई अस्वीकार गरिएको घोषणापत्रमा छ। भेलामा देशभरका ४ हजारभन्दा बढी प्रतिनिधि सहभागी थिए। (आजको अन्नपुर्ण पोष्ट दैनिकबाट)

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार