Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • लाहुरेको पसिनामा बुढाथोकी समूहको मनपरी


    बिहिबार, भाद्र २७ २०८१
    3.8K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । कुनै बेला गोर्खा विकास बैंक लाहुरेहरुको लोभलाग्दो संस्थाको रुपमा सञ्चालनमा थियो । यो बैंकमा बेलायती सेनामा कार्यरत र अवकाश प्राप्त गोर्खाहरु, सिङ्गापुर प्रहरीमा कार्यरत र अवकास प्राप्त हजारौं लाहुरेहरुले लगानी गरेका थिए । तर जब राकेश अडुकियाको समूह यो बैंकमा हावी भयो, बैंकका खराब दिन सुरु भए । बैंकका तत्कालीन अध्यक्ष डीबी बम्जन, निर्मल गुरुङ राकेश अडुकियाको मतियार बने ।

    त्यही बैंक यसअघि समस्याग्रस्त रहेको गोर्खा विकास बैंक काठमाडौं फाइनान्ससँग मर्जर भएर ‘ग’ वर्गको वित्तीय संस्था गोर्खाज फाइनान्स लिमिटेड बन्यो । सुरुवाती दिनमा गोर्खाज फाइनान्स लिमिटेडको अवस्था राम्रो थियो । तर पछिल्ला दिनमा नेपाली कांग्रेसका नेता इन्द्र बानियाँका एकाउन्टेन्ट गौरव बुढाथोकी अध्यक्ष भएर छिरे, त्यसपछि फेरि गोर्खाज फाइनान्स लिमिटेड पनि गोर्खा विकास बैंककै बाटोमा हिंड्ने खतरा बढेको छ । विभिन्न काण्डमा मुछिएका विवादित बुढाथोकी एक बर्षअघि गोर्खाज फाइनान्स लिमिटेडको अध्यक्षका रुपमा छिरेका थिए ।

    गोर्खाज फाइनान्स लिमिटेडमा ९३ प्रतिशत लगानी लाहुरेहरुको छ । कम्पनीको चुक्ता पूँजी ८६ करोड ७९ लाख ९३ हजार रुपैयाँ छ । जगेडा कोषमा भने १ अब २ करोड ७८ लाख रुपैयाँ राखेको छ । १० हजार लगानी गरेका बुढाथोकी पब्लिक लगानीकर्ताको बाटोबाट शक्तिशाली अध्यक्ष भएर छिरेका थिए । तर उनले उनै ९३ प्रतिशत लगानी गर्ने लाहुरेहरुलाई पाखा लगाएका छन् । अध्यक्ष बुढाथोकीले सीइओ सन्तोषकुमार घिमिरे र सिनियर म्यानेजर दीपक न्यौपानेलाई प्रयोग गरेर मनपरी गरेका थिए । तर, बुढाथोकीसँग कुरा नमिलेपछि सोमबार (२५ भदौ २०८१) मा सीईओ घिमिरेले राजिनामा दिएका छन् । स्रोतका अनुसार पछिल्लो समयमा सीईओ घिमिरेसँग उनको टसल भएको थियो । अध्यक्ष बुढाथोकीले लिमिटेडका अग्रवाल समूहलाई उचालेर उनलाई राजीनामा दिन बाध्य बनाएको स्रोतको दाबी छ । उनले आफू निकटका अर्का सीइओको खोजी गरिरहेको स्रोतको भनाइ छ ।

    स्रोतका अनुसार बुढाथोकी हेटौंडातिर इन्द्र बानियाँको नाममा असुली धन्दा चलाउने पृष्ठभूमिका मान्छे हुन् । १० हजार लगानी गरेर गोर्खाज फाइनान्स लिमिटेड छिरेपछि उनको जीवन राजकीय शैलीमा बित्दैआएको छ । उनको मनपरी र ठगीलाई साथ दिएका छन्, गोर्खाज फाइनान्स लिमिटेडकै कर्मचारी दीपक न्यौपानेले । त्यसो त गोर्खाज फाइनान्स लिमिटेडमा मासिक ५ करोडभन्दा बढी लाहुरेहरुको पेन्सन जम्मा हुन्छ । तर अध्यक्ष बुढाथोकी र मेनेजर न्यौपानेले तिनै लाहुरेहरुको सत्तोसराप गर्ने गरेका छन् । एक साताअघिको एउटा बसाईमा न्यौपानेले भनेका थिए, ‘यो मूला लाहुरेहरुलाई कसरी ठिक पार्नुपर्छ मलाई थाहा छ ।’ पछिल्लो समयमा कर्मचारी भर्ना, बढुवामा समेत उनीहरुले मनपरी गर्न थालेका छन् । यतिसम्मकि उनले गोर्खाज फाइनान्स लिमिटेडको सामान्य छपाई, विज्ञापनको मामिलामा समेत कमिसन माग्ने गरेका छन् ।

    दुई साताअघि अध्यक्ष बुढाथोकीले आफू निकटका प्रबिन भट्टराईलाई निर्देशक बनाएर ल्याएका छन् । योसँगै बोर्डमा उनी बहुमतमा पुगेका छन् । अध्यक्ष बुढाथोकीका हर्ताकर्ता म्यानेजर न्यौपानले कर्मचारीमा समेत आतंक सृजना गर्ने गरेका छन् । महिला कर्मचारीहरुको समेत अपमान गरेर बोल्ने गरेको बताइन्छ । उनले भन्ने गरेका छन्– ‘गोर्खाज फाइनान्स लिमिटेडमा राम्री केटी कोही पनि छैनन्, अब राम्री केटी भर्ना गर्ने कुरामा अध्यक्ष मेरो सल्लाह हँुदैछ ।’

    सुरुमा अध्यक्षसँग मिलेर मनपरी गरेका सीइओ घिमिरे पनि विवादित पात्र हुन् । गोर्खाज फाइनान्स लिमिटेडकै डिजिएम भएको बेला विनाधितो ३ करोड ऋण दिएपछि उनलाई राष्ट्र बैैंकले कारबाही प्रक्रिया अघि बढाएको थियो । तर राष्ट्र बैंकका एक उच्च अधिकारीसँग मिलेर कारबाहीको टुंगो नलाग्दै सीईओ भएर गोर्खाज फाइनान्स लिमिटेडमा गएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार