Logo
  • मंगलबार, मंसिर २० २०७९Dec 06 2022

नेपालमा सार्वजनिक पदको सम्मान किन छैन ?

नेपालमा सार्वजनिक पदको सम्मान किन छैन ?

images

नेपाल फेस

भदौ २३, २०७९ बिहीबार
  • 16.5K
    SHARES

  • नेपालमा सार्वजनिक पदको सम्मान किन छैन ?

    कुमार दाहाल     

    images

    क्यानडाका प्रधानमन्त्री साइकल चढेर काममा जान्छन् । भूतपूर्व राष्ट्रपति बाराक ओबामा डिपार्टमेन्ट स्टोरमा काम गर्दै गरेको देखिन्छ । स्वीडेनकी प्रधानमन्त्रीलाई  डान्सवारमा पब्लिकले विरोध गर्दैनन् तर ठूलो समाचार बन्छ । उनी यसको प्रतिरक्षा गर्छिन् । भन्छिन्, यो ब्यक्तिगत स्वतन्त्रता हो । भारतका प्रधानमन्त्री मोदी लाइनमा बसेको फोटो देखिन्छ ।

    हाम्रोमा मन्त्रीले गार्डलाइ कारबाही गरेको समाचार भाइरल बन्छ । सोसल मिडियाले सबैलाई नजिकै बनाएको छ । चाहे ती नेता, सम्राट वा जनता किन नहुन् । चित्र सोसल मिडियामा देखिन्छ । तर यी विषय तथ्यको कति नजिक छन् ।  कति औपचारिक, कति अनौपचारिक छन् हामी आफ्नै तरिकाले विश्लेषण गर्छौं । संसारका नागरिक आफ्नोपनमा स्वतन्त्र हुन्छन् । कानुनमा बाँधिनु उनीहरूको कर्तव्य हो । कानुनको शासन ,जनताको अधिकारको रक्षा,  मानवअधिकार जस्ता विषयले सबै प्रकारको विभेदको अन्त्य र  समानताको प्रत्याभूति दिन्छ ।

           सार्वजनिक पद जनताको पद हो । यो पद जनताप्रति उत्तरदायी हुन्छ । उत्तरदायी पदले नियुक्ति लिँदा नै देश र जनताप्रति सेवाको शपथ लिन्छन् । चाहे त्यो ठूलो सानो जुनसुकै पद किन नहोस् । जब हामी पद, प्रतिष्ठा र शक्तिमा पुग्छौं । सपथ बिर्सँदै जान्छौं । तर जनताले बिर्सदैनन् । जति हामी जनताका सपथ पूरा गर्छौ,ं जनताले सम्मान गर्न थाल्छन् । देख्नेबित्तिकै कुर्सी छाडिदिन्छन् । खाँदै गरेको आधा गाँस दिन्छन् । उकालोमा लट्ठी दिन्छन् । नेपालमा यस्ता थुप्रै नबिर्सिने नेता र प्रशासकहरु छन् । जसको नाम याद गर्नै पर्दैन । उनीहरुलाई जनताले आफैं लगेर खाना खुवाए । लाइनमा बस्न दिएनन् । आफ्नै लाईनको ठाउँ छोडिदिए । आज पनि उनीहरुलाई लाइनको अगाडि राखेर जनताहरुले सुशासनको परिकल्पना गर्छन् ।

             आज मन्त्री, जनप्रतिनिधि, प्रशासक ,कर्मचारीलाई जनताले किन मन पराउँदैनन् । पहिलो कारण त सचेत गराउँदा गराउँदै पनि सार्वजनिक पदवालाले गल्ती गर्न छोडेनन् । भ्रष्टाचार गरिरहे । अनिमितता गरिरहे । अर्काको पालो मिचेर काम गरेको जनताले आफ्नै आँखाले देखे । उनीहरुले कानुन मानेनन् । जताततै अनियमितता हुँदा पनि जनताका कुरा सुनेनन् । त्यसपछि यिनीहरुप्रति जनताको विश्वास उड्दै गयो । सरकारी वर्गको जहाँ भेट्यो, त्यही विरोध  हुनथाल्यो । काम प्रति उत्तरदायी नहुनु कमजोरी हो ।

    सार्वजनिक पद धारण गर्नेले यो विषयमा आत्म मूल्यांकन गर्न सकेनन् । र आज सार्वजनिक पदहरुको  जहाँ सुकै पनि सम्मान छैन ।   सार्वजनिक पद धारण गर्नेले राज्यको नीति जनतालाई बुझाउन पनि सकेनन् । विदेशको विकास र पद्धति जनताले बुझेका छन् । नेपालमा पनि त्यही सुशासन चाहन्छन् । तर सरकारी कामहरु जनताप्रति उत्तरदायी र पारदर्शी हुन सकेनन्  । एक प्रकारको नकरात्मक सोच जनतामा पैदा भएको छ । यो सोच साधारण होइन । कसको गल्ती के थियो भनेर हेर्नु भन्दा पनि सरकारी काम र ब्यक्ति खराब नै हुन्छ भन्ने मानसिकता बढ्नु सुशासनको लागि राम्रो होइन । 

           अमेरिकाको प्रहरी, भारतको कर्मचारीतन्त्र ,बेलायतको विधि, र प्रजातन्त्र, जापानको अनुशासन, चीनको सरकारप्रतिको विश्वासमा  त्यहाँका जनता र सरकार गौरव गर्छन्।  किनकि ति कसैको प्रभावमा पर्दैनन्। परेपनि आफ्नो निर्णय दिन्छन।आफ्नो निर्णयबाट पछि पर्दैनन्। तर नेपालमा यो खस्किएको छ। र जनताले कानूनको शासनमा विश्वास  गर्न छाडे। र सार्वजनिक पद प्रतिको सम्मान हट्दै गयो। जबसम्म सरकारी पक्षले मेरो कुरा सुन्छ र न्याय दिन्छ भन्ने विश्वास जनतामा बढाउन सक्दैनौं यो सम्मान नजिक आउन गाह्रो छ।

         विश्व प्रसिद्ध साहित्यकार भोल्तेयर आफ्नो जुत्तामा आफै पालिस गर्थे । गणेशमान सिंह ढोकामा बसेर कार्यकर्ताका जुत्ता पुछिदिन्थे । न्यूटनले जीवनमा कहिल्यै कपाल कोरेनन् । लक्ष्मीप्रसाद देवकोटा लापर्वाह थिए, प्राकृत थिए,  नारायणगोपाल कसैको दबाबमा गीत गाउँँदैनथे । तर यी सबै  प्रख्यात छन् । यिनीहरुलाई कुनै नियमले बाँधेनन्, कुनै आदरभाव, संस्कारले छोयो ।  तर यिनीहरु अहिलेसम्म सगरमाथा भन्दा माथिको उचाइमा छन् । यिनैका पालामा दुःख दिनेहरूको आजसम्म नामोनिशान छैन ।

            नेपालमा अझै वर्गीय सोच उग्र छ । यो सोच कहिले समानतामा परिणत होला प्रतीक्षा गरौ । समानताको लागि सोच बदल्नु जरुरी छ । त्यो सोच उच्च पद प्रतिष्ठामा रहेका हुन् वा जनता दुवैले परिवर्तन गर्नुपर्छ । किनकि अहिलेको युग सूचनाको युग हो । यहाँ कसैले कसैलाई ढाँट्न सक्दैन । यदि ठान्छ भने यो सूचना अघि नै पुगिसकेको हुन्छ । त्यसैले समाजको विभेद अन्त्यसँगै यो सोच पनि परिणत हुन जरुरी छ । अहिले मन्त्रीले गार्डलाई कारबाई गरेको विषय यही हो । गार्ड आफ्नो ठाउँमा मजबूत ठान्छन् । मन्त्री आफ्नो प्रतिष्ठाको ठाउँमा अझ मजबुत । यो दुईवटाको द्वन्द तब सिद्धिन्छ जब दुइटैले आफूलाई समान महसुस गर्छन्। यो विस्तारै निर्माण हुँदै जाने कुरा हो । तर यही बिषयमा अहिले हामी ठूलो छलफलमा छौं ।

            सरकारीमात्र होइन, निजीक्षेत्रका बिचौलिया ,बजारका नाफाखोरी, कालोधन्दा गर्ने सबैको सूचना जनताले राखेका छन् । यिनीहरु भन्लान् हाम्रो कुरा कसैलाई थाहा छैन । तर सिरक ओढेर घ्यू खाए पनि पोटिलो अनुहार प्रष्ट देखिन्छ । त्यसैले जबसम्म सरकार उत्तरदायी, बजार पारदर्शी र जनता जिम्मेवार हुँदैनन् तबसम्म यस्ता समाचार भाइरल बनिरहन्छन्  । यो समग्र राज्यसंयन्त्रको लागि चुनौती हो । राजनीति र राज्यसंयन्त्र दुबै यसमा सचेत हुनु जरुरी छ । यो कसैको मान मर्यादा र मानमर्दन होइन । उत्तरदायी नहुँदा समस्या झन् बढ्छन् । त्यसैले जनताबाट सम्मान पाउने काम गरौं । जनताले रुचाएमा उनीहरु कुनै लाइनमा बस्नु पर्दैन ।  जनताले आफ्नो ठाउँ छाडिदिन्छन् । एकअर्काको सम्मान गर्न थाल्छन् । यी विषय आज सार्वजनिक पद धारणगर्नेको लागि सोचनीय विषय हो ।

    सम्बन्धित समाचार