काठमाडौं । सरकारले भारतसँग जोडिएका नाकामा कोभिड –१९ का लागि होल्डिङ सेन्टर पर्साको वीरगन्ज, झापाको काँकडभिट्टा, मोरङको रानी,रुपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर, बाँकेको जमुना, कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकीमा निर्माण गरे पनि सञ्चालनमा आउन सकेको छैन ।
भारतबाट नेपाल भित्रिएका नेपालीहरूलाई प्रवेश विन्दुमै होल्डिङ सेन्टरमा राखेर पिसीआर र एन्टिजेन परीक्षणको लागि तथा सङ्क्रमितहरु सुरक्षित राख्नका लागि एक हजार अट्ने होल्डिङ सेन्टर निर्माण भएका छन् ।
विसं २०७८ वैशाख ५ गतेको मन्त्रिपरिषद्को बैठकले आठवटा नाकामा होल्डिङ सेन्टर निर्माण गर्ने निर्णय गरेको थियो । कृष्णनगरमा होल्डिङ सेन्टर बनाउने जिम्मा पाएको नेपाली सेनाले रु २७ करोड ६७ लाखको लागतमा होल्डिङ सेन्टर निर्माण गरेको हो ।
निर्माण पूरा भए पनि कसले सञ्चालन गर्ने भन्ने स्पष्ट नहुँदा सञ्चालनमा आउन सकेको छैन । निर्माणको काम सम्पन्न भएको छ महिना बिते पनि सञ्चालन नहुँदा सीमानाका नजिकै एक छाप्रोमा स्वास्थ्य जाँच भइरहेको छ ।
कृष्णनगरमा छाप्रो नजिकै ६०० शय्याको होल्डिङ सेन्टर छ भने सीमादेखि एक किलोमिटरको दूरीमा शिवानगरमा ४०० शय्याको होल्डिङ सेन्टर छ ।