Logo
  • शनिबार, असार १८ २०७९Jul 02 2022

त्रियुगा–१२ मा पुनः मतदान गर्न माग, पुनः निर्वाचन नगरी मतगणना गरिएकोमा ४ पार्टीको आपत्ति

त्रियुगा–१२ मा पुनः मतदान गर्न माग, पुनः निर्वाचन नगरी मतगणना गरिएकोमा ४ पार्टीको आपत्ति

नेपाल फेस

जेठ १४, २०७९ शनिबार
  • 2.4K
    SHARES

  • त्रियुगा–१२ मा पुनः मतदान गर्न माग, पुनः निर्वाचन नगरी मतगणना गरिएकोमा ४ पार्टीको आपत्ति

    काठमाडौं । एमालेबाट बिद्रोह गरी स्थापना भएको नेकपा (एकीकृत समाजवादी)लाई गठबन्धनभित्रका पुराना पार्टी नेपाली कांग्रेस र माओवादी केन्द्रले उपेक्षा मात्रै गरेनन्, उक्त पार्टीको जनाधार भएका कर्णाली र सुदूरपश्चिम प्रदेशमा तालमेल नै हुन सकेन । नेकपा समाजवादीले एक्लै लडेर जित्ने संभावना भएका ठाउँमा कांग्रेसले एमालेसँग गठबन्धनदेखि बुथकब्जासम्म गर्न समेत मिलेमतो गरेको पाइएको छ । त्यसको उदाहरण हो, त्रियुगा नगरपलिकामा पुनः मतदान गर्ने सूचना निकालेर मतदान नगरी मतगणना गर्ने कार्य । 

    निर्वाचन अधिकृत बीसीले त्रियुगा १२ को मतदान केन्द्रमा सयौं मतदातालाई मतदान गर्नबाट समेत बन्चित गरेको आरोप छ । त्रियुगा १२ की मतदाता रहेकी प्रदेश सांसद सुनिता चौधरीसमेत मतदान केन्द्रमा पुगेर पनि मतदान गर्नबाट बन्चित भएकी छन् । मतदातालाई मत दिनबाटै बन्चित गराउने कार्य गरिएको स्पष्ट हुँदाहुँदै पनि आयोगले आफुनै सूचना अनुसार पुनः मतदान नगरी मतगणना गरेको छ ।

    उदयपुरको त्रियुगा नगरपालिकामा निर्वाचनका दिन बर्षाको कारण असहज परिस्थिति उत्पन्न भएको भनी मतदान अधिकृत केशवकुमार बीसीले मतदान स्थगित गरे, पुनः मतदान गर्ने सूचना निकाले । तर पुनः मतदान नगरी १२ दिनपछि उक्त विवादित मतपेटिकाको मतगणना गरिएकोमा नेकपा एकीकृत समाजवादीका तर्फबाट मेयरका उम्मेदवार बलदेव चौधरीले आपत्ति जनाएका छन् । उनले वडा नम्बर १२ मा पुनः मतदान गर्न माग गरेका छन् । उनले पुनः मतदान नगरी मतगणना गरिएको प्रति आपत्ति जनाएका छन् ।  
    त्रियुगा १२ मा पुनः मतदानको माग गर्नेमा नेकपा एकीकृत समाजवादीका मेयरका उम्मेदवार बलदेव चौधरीमात्र छैनन्, नेकपा माओवादीका तर्फबाट उपमेयरका उम्मेदवार गीता खड्का कार्की पनि छन् ।

    राप्रपाका उपमेयरका उम्मेदवार रामवती चौधरी, जसपाका प्रमुख पदका उम्मेदवार मन्जु राई, जसपाकै उपमेयरका उम्मेदवार विनोदकुमार चौधरी, माओवादी केन्द्रका तर्फबाट त्रियुगा १२ का वडाध्यक्षका उम्मेदवार नवीनकुमार वान्तवा राई र जसपाका वडाध्यक्षका उम्मेदवार लक्ष्मीनाराण चौधरीले पुनः मतदान गर्न माग गर्दै निवेदन दिएका छन् । पुनः मतदान नगरी मतगणना गर्ने निर्वाचन आयोगको स्वेच्छाचारी निर्णयको चारै पार्टीका उम्मेदवाररले बिरोध गरेका छन् ।

    निर्वाचन आयोगले असहज परिस्थितिका कारण मतदान स्थगित गरिएको सूचन निकालेपछि पुनः मतदान हुने विश्वासमा सबै पार्टी थिए । तर नेपाली कांग्रेस–एमालेले मतदान अधिकृत बीसीसँग साँठगाँठ गरी मतदान स्थगित गराएको खुलासा मतदान नगरी मतगणना सुरु गरेपछि भएको छ । १२ दिनसम्म अन्योलमा राखी मतगणना गर्ने कार्य गरिएको आरोप नेकपा समाजवादी, नेकपा माओवादी केन्द्र, राप्रपा र जसपाको आरोप छ । मतदान गर्नबाट धेरै मतदाता नै बन्चित गरिएकाले पुनः मतदान गर्ने सूचना अनुसार नगरी मतगणना गरिएकोमा ४ वटै पार्टीले आपत्ति जनाएका छन् । निर्वाचन अधिकृतको कार्यालय उदयपुरमा जेठ २ मा दिएको निवेदनमा समेत पुनः मतदान नगरी मतगणना नगर्न निवेदन दिएका छन् । तर ४ वटै पार्टीका उम्मेदवारले दिएको निवेदनलाई सुनुवाइ नै नगरी निर्वाचन आयोगले मतगणना गरेको छ ।

    निर्वाचनको दिन बैशाख ३० गते मतदानको समय बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म तोकिएको थियो । तर त्रियुगा नगरपालिका वडा नम्बर १२ को जनप्रेमी आधारभूत विद्यालयको मतदान केन्द्रमा बिहान ८ बजे मतदान सुरु गरी अपराह्न ४.३० बजे नै स्थगित गरिएको थियो । चौधरीले भने–‘मतदान अधिकृतले नै पुनः मतदान हुने सूचना प्रकाशित गरेका थिए । तर स्थगित गरेपछि मतदान नै नगरी मतगणना सुरु गरिएकोमा हाम्रो आपत्ति छ ।’

    बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका  र त्रियुगामा एकै प्रकारको घटना भएको हो । एउटा ठाउँमा आयोगले पुनः मतदान गरायो र अर्को ठाउँमा भने मतगणना सुरु गरेको छ, मतदान कार्यक्रम ढिलो गर्ने नियतले काम भयो । त्यस विषयमा विवाद भएपछि साढे ४ बजे पुनः मतदान गर्ने भनेर निर्वाचन स्थगित गरिएको थियो । ११ दिन ढिलो गरी मतगणना सुरु गरिएको छ । निर्वाचन अधिकृतले पुनः निर्वाचन गर्ने सूचना प्रकाशित गरेर मतदान नै नगरी मतगणना गरिएको छ । चौधरीले आयोगले पुनः मतदान गर्ने भनेर प्रकाशित गरेको सूचना नै देखाए । 

    चौधरीका अनुसार पुनः मतदान हुने भन्दै सो वडाको मतपेटिकालाई छुट्टै ठाउँमा भण्डारण गरिएको थियो । त्रियुगा–१२ मा पुनः मतदान गर्ने वा त्यही मतदानलाई सही मानी मतगणना गर्ने भन्ने विषयमा विवाद हुँदा १२ दिनसम्म निर्णय हुन सकेको थिएन । निर्वाचन आयोगले पुनः मतदान नगरी मतगणना गर्ने काम गरेको छ । यो कानुनविपरीत र स्वेच्छाचारी भयो । यो काम विधिसम्मत छैन । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले दादागिरी गरेर कानुनको धज्जी उडाउने काम गरेको चौधरीको आरोप छ ।

    योजनाबद्ध रुपमा गरिएको कामविरुद्ध कानुनी उपचारमा जाने चौधरीले बताए । यस्तो स्वेच्छाचारी निर्णयबिरुद्ध मतगणना गर्ने कार्यम संलग्न सबैलाई अदालतमा उभ्याउने चौधरीले बताए ।

    आफ्नो पकड रहेको वडामा गडबड गरिएको उनले बताए । उनले भने–त्यो मेरो पकड रहेको वडा हो । २०५४ सालको स्थानीय चुनावदेखि नै त्यस वडाबाट मलाई ८० प्रतिशत मत आएको हो, कांग्रेस र एमालेका उम्मेदवारहरू र निर्वाचन अधिकृतहरूको साँठगाँठमा एक्लौटी मतदान गरी पछि हावाहुरी आएको बहाना बनाएर स्थगित गरियो, पुनः मतदान गर्ने भने पनि गरिएन । निर्वाचन आयोगको पुनः मतदान गर्ने सूचना देखाउँदै चौधरीले भने ।

    त्रियुगा नगरपालिकाको मतगणना जारी छ । जारी मतगणनामा चौधरी दोस्रो स्थानमा रहेका छन् । 

    सम्बन्धित समाचार