Logo
  • शनिबार, असार १८ २०७९Jul 02 2022

बालेन, काठमाडौं र मधेश

बालेन, काठमाडौं र मधेश

धनपति सापकोटा

जेठ १३, २०७९ शुक्रबार
  • 8.8K
    SHARES

  • बालेन, काठमाडौं र मधेश

    धनपति सापकोटा

    स्थानीय तहको निर्वाचन २०७९ मा देशका विभिन्न स्थानमा स्वतन्त्र उम्मेदवारहरुले जितेका छन् । स्वतन्त्र उम्मेदवारमध्ये केहीले आफ्नो दलको निर्णय अस्वीकार गर्दै, केही पार्टी पंक्तिकै कार्यकर्ताको साथ सहयोगमा उम्मेदवारी दर्ता गराएका थिए । तीमध्ये कति पराजीत भए, कतिले जितेका छन् । तर यहाँ चर्चा गर्न खोजिएको विषय “स्वतन्त्र” सर्व प्रकारेण स्वतन्त्रका उम्मेदवारको मात्र चर्चा गरिन्छ । यसमा पर्दछन् धनगढी, धरान उपमहानगरपालिका र काठमाडौं महानगरपालिका ।

     यी तीन स्थानको चुनावमा खडा भएका तीनै जना उम्मेदवारहरुको कुनै दलसँगको कुनै पनि प्रकारको आवद्धता हालसम्म पुष्टि हुनसकेको छैन । यी  तीनै स्थानका उम्मेदवारले आफ्नै मौलिक धरातलको विश्लेषण गरेर नाराहरु उठान गरी जनताको मन जित्न सफल भएका छन् । देशका शक्तिशाली दलहरुको सदिऔं पुरानो पार्टी संगठन र वर्गीय संगठनको शक्तिका सामु आफूलाई स्वतन्त्र ढंगले योग्य तुल्याएका छन् ।

     धनगढी र धरानका उम्मेदवार क्रमशः गोपाल हमाल र हर्क साम्पाङ राईले स्थानीय भूगोलमा भएका विकृति, विसंगतिलाई जोडदार रुपमा उठाएको र त्यसको समाधानमा आफूलाई समर्पित तुल्याउने वाचा गरेर आम मतदाताहरुको मन जित्न सफल भएका छन् । यसअघि भएका स्थानीय तहका अनियमितता, ढिलासुस्ती, सुशासनमा भएका लापरवाहीहरुलाई मुख्य एजेण्डाको रुपमा प्रस्तुत गरेर त्यसका विरुद्ध आफूलाई खडा गरी आफ्नो कार्यकालमा त्यस्तो नदोहो¥याउने वाचालाई मतदाताको विश्वासमा बदल्न सफल भएका छन् ।

     त्यसैगरी काठमाडौं महानगरका प्रमुखका स्वतन्त्र उम्मेदवारले विगतमा दिने गरे जस्तो भौतिक विकासको चड्किला नारालाई छोडेर काठमाडौंको मौलिक विशेषतामा आधारित विकास र सरसफाइलाई प्राथमिकतामा राखेको पाइन्छ । काठमाडौंको ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक विषयलाई केन्द्रमा राखेर काठमाडौंको मौलिक विकासलाई जोड दिइएको छ । जुन विषय काठमाडौंका जनताको मन जित्ने आधार वनेको पाइन्छ ।

     देशको राजधानी काठमाडौंलाई मौलिक विशेषता सहितको बनाउने नाराबाट मतदाता प्रभावित भएको पाइन्छ । झट्ट सुन्दा रमाइलो लाग्ने तर महानगरले एक्लै गर्न नसक्ने विषयलाई काठमाडौंका स्वतन्त्र उम्मेदवारले नारा बनाउन चाहेनन् । तत्काल गर्न सकिने र काठमाडौंका जनताको दैनिकीमा परिवर्तन महसुस गर्न सकिने मसिना मसिना नारालाई अघि सारेको पाइन्छ । 

    काठमाडौंका स्वतन्त्र उम्मेदवार बालेन शाहले काठमाडौंको मेयरको पद राजनीतिक पद होइन यो त व्यवस्थापकको पद हो भनेका छन् । यसमा राजनीतिक मानिस हुन जरुरी छैन भनी दिएको अभिव्यक्तिलाई काठमाडौंका मतदाताले पत्याएका छन् । यद्यपि महानगरका सम्पूर्ण वडाका प्रतिनिधिहरुमा राजनीतिक प्रतिनिधित्व नै विद्यमान रहने अवस्था देखिन्छ । यो विषय मेयरको निमित्त चुनौती पनि हुन सक्दछ । कुनै पनि कामकाजी मेयरका लागि नगरपालिकाको सभा र कार्यपालिकामा बढीमा बहुमत प्राप्त गर्न जरुरी हुन्छ ।

    आमजनताको मन जित्न सफल भए जस्तै स्थापित पार्टीहरुबाट प्रतिनिधित्व गर्ने राजनीतिक प्रतिनिधिहरुको पनि मन जित्न सफल हुन सक्नुपर्दछ । हालसम्मको उहाँका विचारहरु सुन्दा यस विषयमा पनि उहाँ सफल हुन धेरै कठिनाई नहोला । 

    मेयरका प्रत्यासी बालेन शाहले मेयर पद राजनीतिक पद होइन भने पनि यस विजयले ल्याएको राजनीतिक, सामाजिक प्रभावलाई भने नजर अन्दाज गर्न सकिंदैन । काठमाडौं उपत्यकाभित्र स्थानीय जातीय घनत्वलाई उपेक्षा गरी नेपालमा स्थापित राजनीतिक पार्टीहरुले समेत उम्मेदवारी दिन नसकेको (पञ्चायतको अन्तिम प्रधानपञ्च हरिवोल भट्टराई बाहेक) अवस्थामा उपत्यका वाहिरबाट आएको गैरनेवारको छोरालाई काठमाडौंका जनताले स्वीकारेबाट ६२÷६३ पछि बाक्लै गरी उठाएको नारा, खासगरी नेकपा माओवादीले उठाएको जातीय राष्ट्रियताको नारा र अन्य दलले गरेको अन्धानुशरणका कारण मलजल भएको जातीय धुवीकरणलाई बालेन शाहको प्रसिद्धिले निस्तेज तुल्याइदिएको छ ।

    स्थापित दलहरुलाई पनि जातीय बाहुल्यतामा आधारित भएर उम्मेदवारी छनौट गर्नुभन्दा जनताको दैनिकीसँग जोडिदिएको समस्याको समाधान गर्न सक्ने भरपर्दो विषयको जानकार युवालाई उम्मेदवार छनौट गर्नुमा नै कल्याण रहेछ भन्ने अमुल्य पाठ सिकाएको छ । 

    त्यसैगरी क्षेत्रीय, जातीय कुरा गरेर नथाक्ने मधेश केन्द्रित दलहरुलाई पनि साँघुरो घेरामा रुमलिँदा दिनानुदिन शक्ति क्षीण हुँदै गएको महसुस भएकै होला । मधेश नश्लको युवा भएर पनि नेवार समुदाय बाहुल्य क्षेत्रको मेयर हुन सक्दछ, आफ्नो धरातलको वास्तविक नारा उठान गर्न सक्दछ र फरक समुदायको पनि मन जित्न सक्दछ भन्ने विषयलाई हृदयदेखि नै मनन गर्न बाध्य पारेको देखिन्छ । तसर्थ बालेन शाहको सफलताले एउटा सक्षम मानिस नेपालको जुनसुकै स्थानमा पनि राजनीतिक क्षेत्रमा सफल हुन सक्दछ । जसका लागि प्रथमतः विभेदको चस्मा फुकाल्न जरुरी छ भन्ने विषय राम्ररी पाठ पठाएको छ ।

    हाल बालेन शाहको मतपरिणामले अग्रता लिएसँगै कतिपय मिडियामा विभिन्न क्षेत्रका विज्ञहरुले नो भोटको परिणाम बालेनको लौरोमा खनिएको हो भनेर २०३८ सालमा भएको राष्ट्रिय पञ्चायतको चुनावमा नानीमैयाँ दहालको चुनावी बक्सामा पञ्चायत विरोधीहरुको नो भोटको अभिमत मुखरित भएको थियो भन्ने प्रसंग निकाल्ने गरेको पनि पाइयो । तर नानीमैयाँ र बालेनमा आधारभूत कुरा नै फरक छन् । बालेन शाहले प्राप्त गरेको भोट नो भोट होइन ।

    बालेन शाहका नगर बनाउने स्पष्ट एजेण्डा छन् । नानीमैयाँको जस्तो हल्का अभिव्यक्ति दिएर वालेनले यतिका मत प्राप्त गरेका होइनन् । काठमाडौंको मुहार फेरिएको हेर्न चाहनेको मत बालेनको बक्सामा खसेको छ, न कि सिष्टमप्रतिको खिलाफ । बालेनले सिष्टमको खिलाफमा कहिल्यै कुनै कुरा गरेका छैनन् । यही बिधिबिधानभित्रबाट आफूले सफलता झिक्ने कुरा गरेका छन् । तसर्थ उनलाई दिएको भोट नो भोट होइन । 

    तसर्थ राजनीतिक पार्टीहरुले आत्मसमीक्षा गर्दा हल्का कुतर्क दिएर आफूलाई अति राम्रो देखाउने प्रयत्न गर्नु अर्को भूल हुनेछ । आफ्नो पार्टीभित्र कस्तो नेतृत्व विकास गर्ने, नयाँ दृष्टिकोणलाई पार्टीभित्र कसरी स्थान दिने, शासकीय पदहरुमा व्यक्ति छनौट गर्दा ‘राइट म्यान इन राइट प्लेस’ को सिद्धान्तलाई अनुशरण गर्ने र युवाहरुद्वारा  बृद्धहरुलाई विस्थापित गर्ने जस्ता नीति लिए सबै राजनीतिक पार्टीहरुको भलो होला । 

    अन्तमा, बालेन शाहको सफलताले राजनीतिक पार्टीहरुले जवर्जस्त लादेको जातीय संकीर्णतालाई निस्तेज पार्न मद्दत गरेको छ । तपाई पार्टीवालाहरुले देखे जस्तो नेपाली समाज असहिष्णु छैन । नेपाली जन्मैदेखि स्वतन्त्र छन् । स्वतन्त्र ढंगले आफ्नो अभिमत दिन्छन् भन्ने कुरालाई हृदयङ्गम गरेर आ–आफ्नो पार्टीका भावी रणनीतिहरु निर्माण गर्न सके राजनीतिक बृत्तबाट पनि सक्षम नेतृत्व विकास हुन धेरै समय कुर्न पर्दैन । अस्तु !!

    सम्बन्धित समाचार