Logo
  • शनिबार, माघ ८ २०७८Jan 22 2022

अध्यागमनका कर्मचारी र दलालको सेटिङः एयरपोर्टमा भिजिट भिसामा दुवई जानेको लर्को

अध्यागमनका कर्मचारी र दलालको सेटिङः एयरपोर्टमा भिजिट भिसामा दुवई जानेको लर्को

सुस्मिता अर्याल

पुस २४, २०७८ शनिबार
  • 4.9K
    SHARES

  • अध्यागमनका कर्मचारी र दलालको सेटिङः एयरपोर्टमा भिजिट भिसामा दुवई जानेको लर्को

    काठमाडौं । विगत २ बर्षदेखि कोरोना संक्रमणका कारण बैदेशिक रोजगारीमा पठाउने क्रम बन्द छ । तर दलालहरुले अध्यागमन कार्यालय एयरपोर्टका कर्मचारीसँग सेटिङ गरी भिजिट भिसामा नेपालबाट अवैध रुपमा सयौं नेपालीलाई दुबई लैजाने गरेका छन् । भिजिट भिसामा नेपालबाट जानेहरुलाई दुबईमा काम पाउन गाह्रो छ । दलालहरुले आकर्षक तलब र जागिरको आकर्षण देखाई नेपाली युवायुवतीलाई प्रतिव्यक्ति ५ लाख रुपैयाँसम्म असुलेर भिजिट भिषामा युएई पठाउने गरेका छन् ।  

    भिजिट भिसामा काम गर्न जान लागेका नेपाली हुन् भन्ने अध्यागमनका कर्मचारीलाई प्रष्ट थाहा भए पनि सेटिङमा खुरुखुरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालीलाई पठाइएको छ । दलालहरुले प्रतिकामदार रु. ५० हजार अध्यागमनका कर्मचारीलाई घुस दिएपछि भिजिट भिसामा कामदार दुवईमा जाने गरेका छन् ।

    अध्यागमन कार्यालय एयरपोर्टका केही कर्मचारीले भिजिट भिसामा नेपालीलाई दुवईमा पठाउने सेटिङ गर्दैआएका छन् । दलाल र अध्यागमनका कर्मचारी मिलेर भिजिट भिसामा पठाएका थुप्रै नेपाली दुबईमा अलपत्र परेका समाचार आउन थालेका छन् । तर पनि गृहमन्त्रालय गम्भीर बन्न सकेको छैन । अध्यागमन कर्मचारी र दलालहरुको सेटिङमा कोरोना कालपछि मात्रै ४० हजार नेपालीहरु भिजिट भिषामा दुबई पुगेका छन् । ती मध्ये २५ हजार नेपाली काम पनि पाउन नसकी घरको न घाटको भएका छन् ।

    भिजिट भिसामा दैनिक पचासौं महिला युएई लगायतका खाडी देशमा पठाउने गरेको सूचनाका आधारमा अध्यागमन अधिकृत कमल पराजुलीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ बर्षअघि २०७६ साउन २२ गते पक्राउ गरिसकेपछि विमानस्थल अध्यागमनमा सेटिङमा कमी आयो । तर पछिल्ला दिनमा कोरोना संक्रमण कम हुँदै गएपछि भिजिट भिसामा नेपाली पठाउने क्रम पुनः सुरु भएको छ । अध्यागमनका कर्मचारीहरुले दैनिक प्रतिब्यक्ति ५० हजार घुस लिंदै भिजिट भिसामा नेपाली पठाउने गरेका छन् ।  

    समाचार स्रोतका अनुसार पछिल्लो समयमा अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भिजिट भिसामा नेपालीलाई यूएईमा पठाउनका लागि सेटिङ गर्नेमा मुख्यतः बरिष्ठ अध्यागमन अधिकृत(उपसचिव) रामबहादुर शाही हुन् । गृहमन्त्रालयले उनका बारेमा धेरै गुनासो आएपछि उनलाई दैलेखको सहायक प्रमुख जिल्ला अधिकारीका सरुवा गरेको थियो, तर सुदूरपश्चिम प्रदेशका एक कांग्रेस नेतामार्फत् प्रधानमन्त्री शेरबहादुर देउवाका पीए भानु देउवामार्फत् गृहमन्त्री खाँणलाई दबाब दिई उनी पुनः एयरपोर्ट अध्यागमन कार्यालयमै फर्किन सफल भएका छन् । विमानस्थलमा पुनः फर्किएपछि उनको मुख्य काम नै भिजिट भिसामा पठाउने दलालहरुसँग सेटिङ गर्ने र दैनिक ५० औं जना उडाउने हुँदैआएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्पनी रजिष्टार कार्यालयमा कार्यरत हुँदा घुससहित पक्राउ गरेका अध्यागमन अधिकृत खड्का मुद्दा जितेर पुनः अध्यागमन एयरपोर्टमा गई भिजिट भिसामा नेपालीलाई पठाई कमाउधन्दा संचालन गरिरहेका छन् । त्यस्तै अर्का विवादित अध्यागमन अधिकृत गणेशविक्रम शाही पनि भ्रष्टाचार मुद्दामा सफाइ पाएर पुनः अध्यागमन कार्यालय एयरपोर्टमै भिजिट भिसामा पठाउने दलालहरुसँग मिलेर नेपालीलाई दुवई पठाउने धन्दामा छन् ।

     अध्यागमन अधिकृतहरु प्रदीप गिरी, नइन्द्र प्रसाद उपाध्याय र शितल बहादुर रावल पनि भिजिट भिसामा दलालहरुसँग सेटिङ गर्ने कर्मचारीभित्र पर्दछन् । अध्यागमनमा बदनाम भएका नायब सुब्बा कृष्ण खनाललाई धेरै गुनासो आएपछि मन्त्रालयमा काज सरुवा गर्दा पनि एयरपोर्ट अध्यागमनमै भिजिट भिसाको घुस असुलीका लागि अटेर गर्दै बसेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत पुष्पराज शाहीसम्म सेटिङको हिस्सा पुग्ने गरेको छ ।

     अध्यागमनका कर्मचारीले भिजिट भिसामा पठाउने दलालहरुसँग लिएको प्रतिनेपाली ५० हजार घुसको भागबण्डा प्रहरीले समेत पाउने गरेकाले निर्वाध रुपमा यूएई जाने गरेका छन् । विगतमा प्रहरीले हिस्सा नपाएपछि भिजिट भिसामा जान लागेका कामदारको निगरानी प्रहरीले बढाएपछि अख्तियारले सूचना पाएकाले अहिले प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीलाई समेत सेटिङमा सामेल गराइएको स्रोत बताउँछ ।  

     त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका सूचना अधिकारी लक्ष्मी पाण्डे गौतमसँग दलाल र कर्मचारीको सेटिङमा भिजिट भिसामा यूएईमा नेपालीको लर्को नै जाने गरेकोबारेमा प्रतिक्रिया लिनका लागि प्रयास गर्दा उनी सम्पर्कमा आइनन् ।  

    सम्बन्धित समाचार