Logo
  • बुधबार, मंसिर १५ २०७८Dec 01 2021

बालुवाटारमा बिचौलियाको बिगबिगी

विश्वबैंकको सल्लाहकार नियुक्तिमा बालुवाटारको चलखेल, सहसचिवलाई ४ महिनामै तानेर उपसचिव पठाइयो

विश्वबैंकको सल्लाहकार नियुक्तिमा बालुवाटारको चलखेल, सहसचिवलाई ४ महिनामै तानेर उपसचिव पठाइयो

नेपाल फेस

कात्तिक २७, २०७८ शनिबार
  • 10.1K
    SHARES

  • विश्वबैंकको सल्लाहकार नियुक्तिमा बालुवाटारको चलखेल, सहसचिवलाई ४ महिनामै तानेर उपसचिव पठाइयो

    काठमाडौं । चार बर्षसम्मका बजेट बनाएको र अन्तर्राष्ट्रिय सहायता समन्वय महाशाखाको प्रमुखको रुपमा कुशलतापूर्वक कार्य गरेबापत विश्वबैंकको सल्लाहकारको जिम्मेवारीमा ४ महिनाअघि पठाइएका सहसचिव श्रीकृष्ण नेपाललाई सरकारले फिर्ता गर्ने निर्णय गरेको छ ।

    अन्तर्राष्ट्रिय सहायता समन्वय महाशाखामा बसी विकास सहायता साझेदारहरुसँग नेपालको सम्बन्ध सुमधुर बनाउन भूमिका खेलेबापत अघिल्लो सरकारले उनलाई विश्वबैंकको जिम्मेवारी दिएको थियो । २ बर्षका लागि पठाइएका उनलाई वर्तमान सरकारले ४ महिनामै तानेर उपसचिव नरेन्द्रप्रकाश पाण्डेलाई पठाउने निर्णय गरिएको छ ।

    अर्थमन्त्रालयको प्रशासनिक नेतृत्व गर्ने सचिव मधु मरासिनीले विश्वबैंकजस्तो संस्थामा २ बर्षका लागि सल्लाहकार पठाएका सहसचिव तहका क्षमतावान अधिकारीलाई ४ महिनामै तान्दा विकास साझेदारहरुबीचमा नेपालप्रतिको दृष्टिकोण राम्रो नहुने कुरामा मन्त्री शर्मालाई सचेत सम्म गराउन सकेनन् । मरासिनी रबरस्ट्याम्प भएकाले ५ बर्षसम्म अर्थमन्त्रालयमा बसी अनुभव हासिल गरेका सहसचिवलाई विश्वबैंकबाट विनाऔचित्य तानियो । अर्थमन्त्रालयभित्रका प्रायः सबै अधिकारी यो निर्णयको बिरोधमा भए पनि खुलेर बोल्न सकेका छैनन् । सरकारले गलत गरेकोमा सबै एकमता छन्, तर बोलबोल मछली मुखभरी पानीको अवस्था छ ।

    पाण्डेसँग कर र भन्सारमा बसेको बाहेक कुनै क्षमता र अनुभव छैन । विश्वबैंक, एडीबीजस्ता संस्थामा विकास साझेदारहरुलाई नेपालको पक्षमा ल्याउन सक्ने खुबी भएको सरकारी उच्चअधिकारीलाई पठाउनुपर्नेमा सरकारले त्यो पदलाई पनि आफन्त भर्तिकेन्द्र जस्तै बनाएको छ । अन्तर्राष्ट्रिय सहायता समन्वय महाशाखामा एक दिन पनि काम नगरेका उपसचिव पाण्डेलाई पठाएर सरकारले त्यो पुष्टि गरेको छ ।

    अर्थमन्त्री जनार्दन शर्माले शाखा अधिकृत भीमकान्त न्यौपानेलाई एसियाली विकास बैंक (एडीबी)को सल्लाहकारमा पठाएकाले भागबण्डामा नेपाली कांग्रेसले उपसचिव पाण्डेलाई विश्वबैंकमा पठाउनका लागि सहसचिव नेपाललाई तानेको छ । शाखा अधिकृत न्यौपाने अर्थमन्त्री शर्माका भान्जीज्वाईं हुन् ।  आफ्ना भान्जी ज्वाई न्यौपानेलाई मनिला पठाएका मन्त्री शर्माले कांग्रेसको कोटाबाट पाण्डेलाई पठाउने कुरामा बिरोध गर्नसक्ने नैतिक अधिकार पनि गुमाइसकेका थिए । त्यसैले उनले पाण्डेलाई पठाउने निर्णय गरेका छन् ।

    २०७३ मा मुख्यसचिव डा. सोमलाल सुवेदीलाई एडीबीको सल्लाहकारमा पठाइएको थियो । ओली सरकार पदमुक्त हुने १५ दिनअघि उपसचिव रमेश अर्याललाई एडीबीको सल्लाहकारमा पठाउने निर्णय भएको थियो । तर शर्मा मन्त्री हुनासाथ उक्त निर्णय बदर गरियो । र, मन्त्री शर्माका ज्वाई न्यौपानेलाई पठाउने निर्णय गरियो । मुख्यसचिव नै पठाइएको पदमा शाखा अधिकृत न्यौपाने पठाएर सरकारले विकास साझेदार देशहरुको बीचमै अपरिपक्व काम गरेको छ ।

    २ बर्षका लागि नियुक्त भएका उपसचिव अर्यालको निर्णय विनाकारण १५ दिनमै रद्द गरी शाखा अधिकृत न्यौपानेलाई पठाउनुको औचित्य समेत पुष्टि गर्ने अवस्था छैन ।

    मुख्य सचिव भइसकेका सोमलाल सुवेदीले सहसचिवको पदमा लोभ नगरेको भए राम्रो हुन्थ्यो । तर मासिक १८ लाख तलब सुविधामा उनी लोभिए । मुख्यसचिव नै छाडेर गइसकेका उनलाई २ बर्ष पूरा गर्न नदिई फर्काउनु पनि केपी ओली सरकारको बेथितिपूर्ण निर्णय नै थियो । सुवेदीपछि तत्कालीन सहसचिव रामशरण पुडासैनीले एडीबीमा पठाइए । उनको कार्यकाल सकिएपछि उपसचिव रमेश अर्याललाई पठाएको १५ दिनमै जनार्दन शर्माले रद्द गरी आफ्ना भान्जीज्वाईलाई पठाए ।

    भेटी बुझाएपछि पाण्डेको विश्वबैंक यात्रा तय

    अन्तर्राष्ट्रिय सहायता समन्वय महाशाखाबाट सहसचिव नेपाललाई २ बर्षका लागि विश्वबैंकको सल्लाहकारमा पठाइसकेको अवस्थामा विनाकारण फिर्ता बोलाएर उपसचिव पाण्डेलाई पठाउने क्रममा आर्थिक चलखेल भएको स्रोतले बताएको छ । स्रोतका अन्सार डडेलधुरा घर भएका टिम्बर कर्पोरेसन अफ नेपालका पूर्वडीजीएम रामचन्द्र भट्ट ‘चन्दने’मार्फत् उपसचिव पाण्डे बालुवाटारमा पुगेका थिए । बिचौलिया भट्टमार्फत् दररेट तय गरेर मात्रै पाण्डेको विश्वबैंकको सल्लाहकारमा पठाउने निर्णय भएको हो । 

    मासिक २० लाख तलब सुविधा हुने विश्वबैंकको उक्त पदका लागि ४ महिनाको तलव बुझाएर पाण्डेलाई पठाउनका लागि बालुवाटारबाट अर्थमन्त्रालयमा नाम पठाइएको थियो । बालुवाटारसँग डिल फाइनल गर्ने काम बिचौलिया चन्दनेले गरेको र ३ दिनअघि पाण्डेले विश्वबैंकका लागि पत्र पाइसकेका छन् ।

    बिचौलिया भट्टको पहुँच सिधै बालुवाटारमा रहेको छ । वन मन्त्रालयका मात्र होइन, प्रहरीका सरुवा बढुवा र ठेक्कापट्टामा पनि उनले आरजुमार्फत् सेटिङ गर्ने गरेका छन् । उनी सिधै बालुवाटारमा रहेको भन्दै सेटिङमा परिचालित छन् । 

    विश्वबैंकमा जान लागेका उपसचिव पाण्डेको अवधि डेढ बर्षको हुनेछ । बीचमा सरकार परिवर्तन भए अहिले देउवा सरकारले उपसचिव रमेश अर्यालले रद्द गरेकोजस्तो पाण्डेको पनि हुने संभावनालाई नकार्न सकिन्न । अर्थमन्त्रालयकै अधिकारी भन्छन्–‘बिचौलियामार्फत् घुस खुवाएर जानेले राष्ट्रको हितमा के काम गर्छ ?’  

    सम्बन्धित समाचार