Logo
  • शनिबार, माघ ८ २०७८Jan 22 2022

धनुषाका एसपी रजौरेलाई विवादमा ल्याउने खेल, महतोको डिजाइनमा विवादितलाई घुमुवा राखियो

धनुषाका एसपी रजौरेलाई विवादमा ल्याउने खेल, महतोको डिजाइनमा विवादितलाई घुमुवा राखियो

नेपाल फेस

कात्तिक १५, २०७८ सोमबार
  • 40.6K
    SHARES

  • धनुषाका एसपी रजौरेलाई विवादमा ल्याउने खेल, महतोको डिजाइनमा विवादितलाई घुमुवा राखियो

    जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी प्रकाश रानाभाटलाई प्रहरी आचरण बिपरीत क्रियाकलाप गरिएका धेरै गुनासा आएपछि प्रहरी प्रधान कार्यालयले ९ महिनामै तानेको छ । उनले घुमुवा राखी सीमा क्षेत्रमा तस्करीको लाइन चलाउनेहरुसँग असुली गर्ने गरेको र मुद्दामा समेत मिसिल नै फेरबदल गरेको उजुरीपछि प्रहरी प्रधान कार्यालयले तानेको छ । रानाभाटसँगै असुलीमा संलग्न प्रहरी जवान बिजय मुखिया, भोला पासवान, रामसेवक यादव र सुरेन्द्र कार्कीलाई समेत प्रहरी प्रधान कार्यालय प्रशासन महाशाखाले कात्तिक ७ गतेभित्रै उपस्थित हुन परिपत्र गरेको थियो ।   

    रानाभाटलाई फिर्ता गरी प्रहरी प्रधान कार्यालयले धनुषाको एसपीमा बसन्त रजौरेलाई काजसरुवा गरेको छ । रजौरे प्रहरीमा उनको ब्याचमा स्वच्छ छविका अधिकृत मानिन्छन् । रजौरे धनुषामा जानासाथ उनले लामो समयदेखि धनुषामा घुमुवा बसेका प्रनानि(सई)सन्तोष झालाई औरही इलाका प्रहरी कार्यालयमा खटाउने निर्णय गरेका छन् । धनुषाका एसपी रमेश बस्नेत र शेखर खनालको कार्यकालदेखि नै घुमुवा थिए । प्रकाश रानाभाट धनुषा जानुअघि औरही नाकाको इन्चार्ज थिए । ६ महिना भइसकेकाले रानाभाटले उनलाई औरहीबाट तानेका थिए । औरही नाका धनुषाको सबैभन्दा बढी तस्करी हुने ठाउँका रुपमा चिनिन्छ । औरही इप्रकामा कार्यरत छँदा झाले तस्करहरुसँग लाखौं असुलीमा विवादमा परेका थिए, सई झा ।

    औरहीबाट तानिएका झा जिल्लामै थिए । रजौरे धनुषामा हाजिर हुनासाथ प्रदेशका घुमुवा इन्चार्ज डीएसपी ज्ञानकुमार महतोको सिफारिसमा सई सन्तोष झालाई घुमुवा कमाण्डर बनाएका छन् । रजौरेले झाको पृष्ठभूमि नै नबुझी महतोको सिफारिसमा घुमुवा कमाण्डर राखेका छन् । प्रहरीभित्र अति विवादित डीएसपी महतो प्रदेश २ का घुमुवा कमाण्डरका रुपमा सप्तरीदेखि पर्सासम्मको सेटिङ मिलाउने गर्दछन् । ६ महिना धिरजप्रताप सिंह प्रदेश २ को डिआइजी हुँदा प्रदेश र जिल्ला दुवैतर्फको घुमुवाका रुपमा सई सन्तोष झाले काम गर्ने मौका पाए ।

    ज्ञानकुमार महतोः कीर्तिपुरदेखि जनकपुर यातायातसम्मै विवादमा

    जनकपुर यातायातमा हुँदा ट्रायलमा फेल भएकालाई समेत खुलेआम सवारी अनुमतिपत्र बितरण गरेको आरोपमा निजामती कर्मचारीहरु निलम्बनमा परे । तर लाइसेन्स बिक्रीका योजनाकारमध्येका ट्राफिकका महतोलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट घुस लिएपछि निलम्बनमा परेका आयुक्त राजनारायण पाठकले संरक्षण गरे । १६ महिनामा उनको सरुवा भयो र इन्स्पेक्टर मधुसुदन सिलवाललाई जनकपुर ट्राफिकको इन्चार्ज बनाइयो । सिलवाल जान मानेनन् । तिनै महतोले राजनारायण पाठकलाई भनी थमौती गराए ।

    २८ महिना जनकपुर यातायातमा बसी लाइसेन्स बिक्री गरेर अकूत सम्पत्ति कमाउन सफल भए । राजनारायणको आडमा जनकपुर यातायातमा त्यतिबेला लाइसेन्सको खुलेआम दररेट तोकेरै बिक्री गरिएको थियो । तत्कालीन अख्तियारका आयुक्त राजनारायण पाठकसम्म पहुँच पु¥याएर उनी थप १ वर्ष धनुषा ट्राफिकमा बस्दा जनकपुर यातायातका प्रमुख तीर्थराज खनाल थिए । खनाल र महतोको सेटिङमा खुलेआम लाइसेन्स बिक्री भयो । लिखित परीक्षादेखि प्रयोगात्मक (ट्रायल) परीक्षामा फेल भएकालाई लाइसेन्स दिइयो ।

    मोटरसाइकलको १० हजार र हल्का सवारीको २५ हजारसम्ममा दलाल राखेर लाइसेन्स् विक्री गरियो खनाल र महतोले करोडौं घुस लिएको विषयमा अख्तियारमा उजुरी परे । तर राजनारायण पाठकलाई भेटी बुझाएर उनीहरूलाई मुद्दा चलाइएन । जनकपुर ट्राफिकमा महतो र खनालविरुद्ध मुद्दा दायर गर्न पर्ने उजुरी पर्दा पनि पाठकले उनीहरूबाट लाभ लिई जोगाएको आरोप लागेको थियो । 
    धनुषा ट्राफिकपछि उनको सरुवा इलाका प्रहरी कार्यालय रौतहटको गरुडामा भयो । उनी इञ्चार्ज भएको समयमा २०७७ भदौमा गरुडा प्रहरीको हिरासतमा यातनाका कारण एक व्यक्तिको मृत्यु भयो ।

    प्रहरी हिरासतमा गरुडा नगरपालिका ८ जिगडियाका युवक विजय रामको मृत्यु भएपछि डिएसपी महतोलाई प्रदेश प्रहरी कार्यालय तानिएको थियो । 
    मृतकका परिवारले गरुडा प्रहरीको कुटपिटबाट र यातनापछि हिरासतमै मृत्यु भएको आरोप लगाएका थिए ।

     त्यस प्रकरणमा उनलाई निलम्बन गर्नुपर्नेमा जोगाइयो । रौतहटका एसपी रविराज खड्का तानिए । उनको ठाउँमा एसपी सिद्धिविक्रम शाहलाई पठाइयो । इन्स्पेक्टर र कनिष्ट अधिकृतहरू निलम्बन भए, तर महतोलाई उन्मुक्ति दिइयो । तिनै महतो हाल २ नम्बर प्रदेश प्रहरीको घुमुवा खटनपटन गर्ने हर्ताकर्ता छन् । यसअघिका डीआइजी धिरजप्रताप सिंहले राखेका महतोलाई उनीपछि सरुवा भएका उमेश रंजितकारले पनि यथावत राखेका छन् । प्रदेश २ का घुमुवा इन्चार्ज महतो अति विवादित मानिन्छन् । उनी इन्स्पेक्टर हुँदा कीर्तिपुरमा कार्यरत थिए । कीर्तिपुरमा हुँदा उनले असुली गरेरै घडेरी जोडेको आरोप लागेको थियो ।

     

    सम्बन्धित समाचार