Logo
  • बुधबार, मंसिर १५ २०७८Dec 01 2021

आरजु र गृहमन्त्री खाणको चेपुवामा आइजीपी थापा

आरजु र गृहमन्त्री खाणको चेपुवामा आइजीपी थापा

नेपाल फेस

असोज १३, २०७८ बुधबार
  • 63.1K
    SHARES

  • आरजु र गृहमन्त्री खाणको चेपुवामा आइजीपी थापा

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री गृहमन्त्री बालकृष्ण खाण र प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजु राणाको चेपुवामा परेका छन् । नेपाल प्रहरीका सरुवा बढुवा सबै अवरुद्ध छन् । शक्तिकेन्द्रमा पहुँच हुनेहरुले आइजीपीलाई दबाब दिएर काजसरुवा गराउन थालेका छन् । प्रसंग हो, प्रहरी निरीक्षक ऐनबहादुर मल्लको । प्रधानमन्त्री पत्नी आरजु राणासँग पहुँच भएका मल्लको सरुवा बाँके ट्राफिकमा गराउन डीएसपी कोमल शाहले आइजीपी थापालाई सिफारिस गरे ।

    प्रधानमन्त्री देउवाका पीएसओ डीएसपी शाहले आरजुको सिफारिस भनेपछि आइजीपी आइजीपी थापाले मल्लको काजसरुवा बाँके ट्राफिकमा गरिदिए । मल्लको काजसरुवाले प्रहरीमा हंगामा मच्चियो । गृहमन्त्री खाणले मल्लको काजसरुवा रोक्न निर्देशन दिए । २ दिन उनको काजसरुवाको पत्र रोकियो । आइजीपी थापालाई उनले किन गरेको भनेर र्याखर्याख्ती पारे ।

    गृहमन्त्री खाणसँग आइजीपी थापाले आफ्नो बाध्यता र मल्लको काजसरुवा गर्नुपर्नाको जवाफ स्पष्टीकरणकै शैलीमा दिए । उनले ‘के गर्नु हजुर, म्यामले भनिबक्सियो, गर्नुपरिहाल्यो ।’ ३ दिनपछि गृहमन्त्री खाणले मल्लको काजसरुवा गर्न अनुमति दिए ।  

    बालुवाटारबाट नै प्रहरीका सरुवा बढुवामा हस्तक्षेप भएपछि गृहमन्त्री खाण समेत हैरान छन् ।  बालुवाटारबाटै विवादित र पटक पटक इन्चार्ज भएकाहरुलाई सरुवा गर्न दबाब आएपछि सरुवा बढुवामा असर परेको छ ।

    काठमाडौंका प्रमुख प्रभागदेखि कास्की ट्राफिक, वडा प्रहरी कार्यालय नेपालगञ्ज लगायत गरी ६ वटा इन्चार्ज पाइसकेका मल्ल जस्तै अर्का इन्स्पेक्टर अनिल ठकुरीले पनि आकर्षक ठाउँमा सरुवा हुनका लागि आरजुमार्फत् नै दबाब दिंदैआएका छन् । उनी आरजुका पीए प्रकाश देउवासँग बालुवाटारको एक क्याफेमा क्याफेमा प्रायः देखिन्छन् ।  मानव बेचबिखन अनुसन्धान ब्यूरोमा कार्यरत  इन्स्पेक्टर ठकुरी प्रकाश देउवाको नाम लिंदै आफ्नो सरुवा बुढानीलकन्ठ प्रभाग हुने भन्दै हिंडेका छन् ।

    ठकुरीको टोलीले पसिरमा हुँदा २०७५ माघमा बन्द कोठाभित्र रहेका अविलास तामाङलाई नियन्त्रणमा लिन गोली चलाएपछि विवाद भएको थियो । प्रहरीको झण्डै १० जनाको टोलीले नियन्त्रणमा लिन कोठाभित्रै गोली चलाउनुपर्ने प्रहरीको दावी नै शंकास्पद र झुटो बनाएको थियो ।

    इन्स्पेक्टर ठकुरीले  प्रकाश देउवालाई चिन्दा पनि नचिनेको बताए । आफ्नोबारेमा हुँदै नभएको समाचार आएको बताउँदे उनले भने–मैले बुढानीलकन्ठ प्रभाग सरुवा हुने कुरा कतै भनेको छैन । संगठनले जहाँ खटाउँछ, त्यहाँ जाने हो । म कतै धाएको छैन  ।

    प्रहरीका प्रवक्ता बसन्त कुँवरले इन्स्पेक्टर मल्लको काजसरुवा बाँके ट्राफिकमा भएकोबारेमा समाचार पढेर थाहा पाएको बताए । उनले आफूकहाँ उनको काजसरुवा भएकोबारेमा जानकारी नै नआएको बताए । उनले भने–‘काजसरुवाको बारेमा प्रवक्ताकोमा जानकारी नआउन पनि सक्छ ।’ 

    सम्बन्धित समाचार